रौतहट, २७ मंसिर । आर्थिक अवस्था राम्रो नभएको तथा मागेर गुजारा चलाई खुला अकाशमुनी सुतेका एक वृद्धको रौतहटमा मृत्यु भएको छ ।
कटहरीया नगरपालिका वडा नम्वर २ जमुनिया घर भएका ६५ बर्षिय सुखारी सिंहको आज बिहान मृत्यु भएको छ । मृतक सिंह दम्पति केही समयदेखि चन्द्रपुर नगरपालिका वडा नम्वर ६ बजार स्थित घनश्याम साहको घरको पेटीमा बस्दै आएका थिए ।
घरवारविहिन एवं आर्थिक अवस्था दैनिय रहेको सिंहको श्रीमतीको दुइवटै आखाबाट हेर्ने अवस्था नरहदा बजारमा दिनभरी मागेर ल्याएको सामग्रीबाट दुवै जना अर्काको घर पेटीमा बसेर गुजारा चलाउदै आएका सिंहको चिसोबाट कठ्याङ्ग्रिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जानकारी दिएका छन् ।
भिख मागेर गुजारा चलाउदै आएका सिहंकी श्रीमतीको आखाँ नदेख्ने भएको हुँदा श्रीमानको मृत्यु भएसंगै उनको बिचल्ली भएको छ । सम्बन्धित निकाय एवं मानव सेवामा समर्पित संघसंस्थाहरुले दुवै आखा हेर्न नसकिने वृद्धाको उद्धार गर्न स्थानीय बासिन्दाहरुले अपिल गरेका छन् ।
पछिल्लो केही दिन देखि रौतहट सहित तराईका अधिकांश जिल्लाहरुमा चिसो बढ्दै गएको छ । चिसोको कारण बाक्लो तुसारो लाग्ने क्रम बढ्न थालेको छ, यहाँ चिसो बढेसँगै बर्षेणी सामान्य एवं विपन्न परिवारलाई चिसोबाट वढी प्रभावित हुने गरेको छ ।
दिनभरी घाम नलाग्ने, बाक्लो हुस्सु संगै बढेको चिसोबाट बाँच्न न्यानो कपडा, वृद्धवृद्धालाई चिसो छल्ने डस्ना लगायतका उपायहरु अबलम्बन तथा अत्याधिक चिसो हुँदा घर बाहिर ननिस्कन स्थानीय प्रशासनले स्थानीय रेडियोबाट जनहितमा सन्देशहरु जारी गरेर सचेत गराउने अभियान सुरु गरेका छन् ।