काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यमको संख्या मात्र बढेको तर विश्वसनीयता घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
उहाँले पत्रकारिता बाहेकका पृष्ठभूमि र अध्ययनबाट अनलाइन दर्ताको बाढी देखिएकाले गुणस्तरीयता र विश्वसनीयतामा सबैको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रेस काउन्सिलबाट एक वर्षदेखि विभिन्न पृष्ठभूमिबाट आएका अनलाइन सञ्चालक र सम्पादकलाई नियमित अभिमुखिकरण कक्षा हुँदै आएको र यसलाई निरन्तरता दिने जानकारी दिनुभयो ।
शुक्रबारको अभिमुखीकरण कार्यक्रममा बोल्दै बस्नेतले मिडिया जगतका अहिलेका समस्या समाधान गरेर पत्रकारिता क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन सम्बद्ध सबै निकायको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । अभिमुखीकरणमा विज्ञकारुपमा सहभागी वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. सुरेश आचार्यले पत्रकारितामा विश्वसनीयता जोगाउनु अहिलेको चुनौती रहेको उल्लेख गर्नुभयो ।
उहाँले पत्रकार आचारसंहिताको पूर्णतः पालनाबाट मात्रै विश्वसनीयता कायम राखिराख्न सकिने बताउनुभयो । ‘अनलाइनका अहिलेका प्रस्तुति हेर्दा पत्रकारितामा किन लाइसेन्सको व्यवस्था हुनु जरुरी छ भन्ने देखाएको छ’, आचार्यले भन्नुभयो,’ काउन्सिलले कम्तीमा यस्ता अभिमुखिकरण कक्षा सुरु गरेर स्वागयोग्य काम गरेको छ’ । शुक्रबारको कक्षामा ३४ नयाँ अनलाइनका सञ्चालक र सम्पादक सहभागी थिए ।
काउन्सिलले एक वर्ष अघिबाट अनलाइन सूचीकरणपूर्व अनिवार्य आचारसंहिता अभिमुखीकरण कक्षा लिनुपर्ने व्यवस्था गरेको थियो । एक वर्षमा ६ सय ७१ अनलाइनका सञ्चालक र सम्पादकले अभिमुखीकरण कक्षा लिएका छन् ।
शुक्रबारको २२ औँ श्रृङ्खलामा वरिष्ठ पत्रकार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य र काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विषयगत विज्ञकारूपमा कक्षा लिनुभएको थियो ।
डा. आचार्यले पत्रकार आचारसंहिताका विषयमा प्रशिक्षण दिनुभएको थियो भने प्रवक्ता खनालले काउन्सिलले जारी गरेका आचारसंहिताअन्तर्गतका विभिन्न सञ्चार निर्देशिकाहरुको महत्व र प्रभावकारिताबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजीकरण काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले गर्नुभएको थियो । नेपालपाना
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन