रौतहट, २१ चैत । मौलापुर नगरपालिका अन्तर्गत पर्ने श्री लक्ष्मिनिया माध्यमिक विद्यालय परिक्षा केन्द्रबाट नक्कली परिक्षार्थीको रुपमा पक्राउ परेका देवाही गोनाही नगरपालिकाको मेयरको कर्तुत जगजाहिर भएपछि आफूलाई चोख्याउन विभिन्न प्रपंच गर्न लागिपरेका छन् ।
देवाही गोनाही नगरपालिकाको मेयर प्रेमलाल साह कानुले माध्यमिक शिक्षा (एसईई) को परिक्षामा रेडियो नेपालको बर्दिवास उपशाखा कार्यालयमा पाँचौं तहमा कार्यरत ज्वाई कमल साहलाई खेतालाको रुपमा राखेर परिक्षामा सहभागी गराएको अवस्थामा पक्राउ परेपछि आफनो संलग्नता नरहेको भन्दै नगरपालिकाको लेटरप्याड दुरुपयोग गर्दै विभिन्न प्रपंच गर्नमा अहिले लागि परेका हुन् ।
एमालेबाट देवाही गोनाही नगरपालिकाको मेयरमा निर्वाचित भएका कानुले आफनै ज्वाई इन्जिनियर साहलाई आफनो सट्टामा एसइइको परिक्षा दिन लगाएका थिए । उक्त परिक्षा केन्द्रका केन्द्राध्यक्ष तेजनारायण साहको मिलेमतोमा नक्कली परिक्षार्थी साहले सिम्बोल नं. ३५०३७२८ का विद्यार्थीको सट्टामा परिक्षा दिइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले फेला पारेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी मणिभूषण साहको नेतृत्वमा रहेकोले परिक्षा अनुगमन टोलिले नक्कली परिक्षार्थी कमल साहलाई पक्राउ गरेको थियो । “पक्राउ परेका साहसँग अनुसन्धान कार्य जारी रहेको छ, उनले आफुलाई अरुले परिक्षा दिन लगाएको स्वीकारी सकेका छन् ।” जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक वीरबहादुर बुढामगरले भने “परिक्षासँग सम्बन्धीत सबै कागजातहरु झिकाउदैछौं, सबै कागजातहरुले केही कुरा प्रष्ट बनाइसकेको छ तर अनुसन्धान अझै समाप्त भएको छैन ।”

सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानु (मेयर) नै भएको प्रवेश पत्र र अन्य कागजातहरुले समेत पुष्टी गरेको छ । प्रवेश पत्रमा लेखिएको जन्ममिति, बुवाको नाम ‘बनवारी साह’ तथा आमाको नाम ‘दया देवी ‘र ठेगाना देवाही गोनाही नगरपालिका वडा नम्वर ९ ले पनि मेयर कानु आफैले एसइइको परिक्षामा नक्कली परिक्षार्थी खटाएको प्रष्ट भएको छ ।
मेयर कानु कानूनी रुपमा फस्ने देखेपछि सोमवार नगरपालिकाको लेटरप्याड दुरुपयोग गर्दै एक विज्ञप्ती जारी गरेको छ । उक्त प्रेस विज्ञप्तीमा यस विषयमा आफुलाई कुनै जानकारी नभएको र कसैले आफुलाई नियतवस फसाउन खोजेको दाबी गरेका छन । तर प्रहरी श्रोतका अनुसार पक्राउ परेका मेयरका ज्वाइले उनको पोल खोलिसकेका छन । शिक्षा ऐन २०२८ को दफा १७ को (१) को (क) अनुसार लक्ष्मीनिया माविमा मेयरले नक्कली परिक्षार्थीबाट जाँच दिन लगाएको सम्बन्धमा दुवैलाई ६ महिना कैद वा १ लाख जरिवाना, वा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था प्रहरी उपरिक्षक मगरले बताए ।
मेयर प्रेमलाल साह कानुलाई कारवाहीको माग गर्दै ज्ञापन

देवाही गोनाही नगरपालिकाको युवाहरुको एक समुहले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रामविनय सिंहलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाउदै मेयर प्रेमलाल साह कानुलाई कानुनी डायरमा ल्याउन माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी मिश्रलाई भेटेर देवाही गोनाही नगरपालिकाका युवाहरुको समुहले मेयर कानुको कर्तुत सार्वजनिक भएपछि पनि पक्राउ नपर्नु दुखद रहेको भन्दै अविलम्ब मेयरलाई नियन्त्रणमा लिई कानुनी कारवाही गर्न माग गरेका हुन् ।
कानुनी राज्यमा जोकोही भएपनि त्यसलाई नियन्त्रणमा लिई कारवाहीको प्रक्रिया अघि बढाउनु नै सुशासन रहेको कुरा उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । मेयर कानुले पदिय मर्यादाको उलंघन गरेर देशमा यस पालिकाको नाम बदनाम गराएको हुँदा हदै सम्मको कानुनी कारवाहीको लागि देवाही गोनाहीका युवाहरुको चाहना रहेको उक्त पत्रमा उल्लेख गरिएको छ ।
यस्तै जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख सिंहलाई भेटेर युवाहरुले शिक्षा ऐन लगायत मेयरले उलंघन गरेको कसुर अनुसारको कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउन माग गरे ।
प्रमुख जिल्ला अधिकारी मिश्रले देवाही गोनाहीका युवाहरुले यस कार्यालय र जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयमा ज्ञापन पत्र बुझाएको हुँदा त्यस वारे आवश्यक अनुसन्धान भईरहेको तथा प्रमाणित भएमा कसुर अनुसारको कारवाही हुने बताए ।


मर्यादा विपरित गरिएको कर्तुतलाई चोख्यान नगरपालिकाको लेटरप्याड दुरुपयोग
देवाही गोनाहीको मेयर प्रेमलाल साह कानुले सोमवार गोप्य रुपमा कार्यालयको लेटरप्याड दुरुपयोग गरेर प्रेस विज्ञप्ती जारी गरेका छन् ।
मेयर कानुद्धारा हस्ताक्षरित २०७९ चैत २० गते चलानी नम्वर ९३२ को प्रेस विज्ञप्तीमा मेयरको नाम राखेर विभिन्न संचारमाध्यममा प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको छ । विगत १० महिना देखि मेयरको रुपमा काम गर्दै आएको हुँदा शैक्षिक प्रमाण पत्रको कुनै आवश्यक्ता नै नरहेकोमा मैले माध्यमिक शिक्षा परिक्षा एसइइ को लागि फारम नभरेको, परिक्षा फारममा सहि छाप नगरेको, विभिन्न प्रपंच रचेर मलाई फसाइ चरित्र हत्या गर्न खोजेको, झुठा कार्यमा फसाएर मेरा पदच्यूट गर्न खोजेको हुँदा त्यसमा कुनै सत्यता नरहेको तथा त्यस कार्यमा मेरो संलग्नता नरहेको सबैलाई जानकारी गराउदछौं । उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यर मेयर कानु सट्टा ज्वाई कमल साह पक्राउ परेपछि दिनभरी मेयर संग सम्पर्क गर्दा प्रतिक्रिया दिन मानेन, अव कानुनी कारवाही हुने भएपछि आफूलाई चोख्याउन कार्यालयको लेटरप्याड दुरुपयोग गर्दै विज्ञप्ती निकालेको उनको नियत सबैलाई थाहा भईसकेको छ । मेयर जस्तो सम्मानित व्यक्तिले एसइइ परिक्षामा भौतिक शरिर उपस्थित भएर परिक्षा दिदा देशमै राम्रो सन्देश जाने थिए तर उनले सध्य बाटो नअपनाई चोरबाटो अपनाउनु भएकोमा त्यसको परिणामा उहाँलाई नै भोग्नुपर्छ कतिपय शिक्षाविदहरुको राय रहेको छ । त्यती मात्रै नभई प्रेस विज्ञप्तीमा चलानी नम्वर हुदैनन तर उनले कार्यालयको लेटरप्याड, चलानी पुस्तिकालाई समेत दुरुपयोग गरेको हुँदा उनी विरुद्ध सम्बद्ध निकायले कानुनी कारवाही गर्नु नितान्त अवश्यक रहेको रौतहटको शिक्षाविदहरुको भनाई रहेको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन