
तराई टप संवाददाता
रौतहट, १९ असार । अविरल बर्षाबाट वागमती, लाल बकैया सहित विभिन्न नदीमा आएको बाढीबाट रौतहटको मध्य तथा दक्षिणी भेग जलप्रलयबाट डुवान भई कतिपय गाउँको सड्क सम्पर्क टुटेको छ ।
चुरे तथा माथिल्लो क्षेत्रको साथै समतल भु भागमा भईरहेको अविरल बर्षाको कारण यसबर्षको सबै भन्दा बढी पानी वागमती र लाल बकैया सहितको झाझ, भकुवा, अरुवा, चाँदी लगायतको नदीमा आउदा जिल्लाको मध्य तथा दक्षिणी भेगको अधिकाँश गाउँ डुवानमा परेको हो ।
निरन्तर बर्षाले आएको बाढीको पानीबाट इशनाथ नगरपालिकाको बन्जरहा गाउँ डुवानमा परेको छ । उक्त गाउँमा सरदर ३ देखि ४ फिट सम्म पानी जम्दा होचो स्थानमा घर भएका ३० घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो । दक्षिण तिर भारतीय बाँध र पूर्व तिर बकैया बाँधको कारण बर्षा एवं बाढीको पानी निकास हुन नसक्दा बर्षेणी बन्जरहा गाउँ डुवानमा पर्दै आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
बाढीबाट मानविय क्षति हुन नदिन ३० घर परिवार आफै आफन्तको घरमा विस्थापित भएको उनले स्पष्ट पारे । बन्जरहा, बडहर्वा, वैरिया, फतुवा, लगायतको आधा दर्जन गाउँको सड्क सम्पर्क टुटेको छ ।
त्यसैगरी दुर्गाभगवती गाउपालिका वडा नम्वर ५ बडहर्वा गाउँको दलित बस्तीका करिव २० परिवार घरबार छाडी बाँगमतीको पश्चिमी बाँधमा पाल टाँगेर बसिरहेको छ । बाँधमा पालको सहारामा बसिरहेका परिवारहरु पशु चौपाया संगै राखेर बसेको प्रजिअ यादवले बताए । बकैया र झाझ खोलाको वाढीबाट दुर्गाभगवती गाउँपालिका ४ छतौना स्थित घरहरुमा बाढी प्रवेश गर्दा स्थानीयद्धारा वागमती सिंचाईको नहरको डिल भत्काएपछि उनीहरुको घरबाट पानी बाहिर निस्किएपनि उक्त पानी सदरमुकाम गौर क्षेत्रमा प्रबेश गरेर चारै तिर जलमग्न भएको अवस्था रहेको जानकारी दिए ।
हुलाकी सडक बम नहर लच्का, सबगढा लच्कामा पानीको बहाव तिव्र हुँदा आवागमन बन्द भएको छ । राजदेवी स्थित बागमती नदीले स्पर नं. १ मा क्षति पुर्याएपछि दुई दिन देखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले मर्मत कार्य जारी राखेको जानकारी दिदै प्रजिअ यादवले गढीमाई नगरपालिकाको वडा नम्बर ६ सिगार्वनको वागमती पुलको वैंक प्रोटेक्सन, स्पर र बकैया बैरिया बाधमा क्षति पुर्याएको बताए ।
शनिवार विहानै सशस्त्र वेश क्याम्प भलोहिया नजिक बागमती नदीले बाँध भत्काउदा युद्ध स्तरमा मर्मत कार्य सम्पन्न गरी जोखिमलाई कम गरिएको भएपनि अझै सतर्क भएर बस्न जिल्लाबासी संग प्रजिअ यादवले आग्रह गरे ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन