केन्डी (श्रीलंका), १८ भदौं । एसिया कप क्रिकेटमा सोमवार नेपालको सामना भारत संग हुनेछ ।
दुई पटक ओडिआई विश्व कप, एक पटक टि २० विश्व कप विजेता एवं मित्र राष्ट्र भारतको क्रिकेट टोली संग आज नेपालले श्रीलंकाको केन्डी क्रिकेट मैदानमा दिउसो ३.१५ बजेको समयमा प्रतिष्पर्धा गर्ने भएका हुन् ।
नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको छ भने भारतको भने एसिया कपमा यो १५औँ सहभागिता रहेका छन् । आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा आसिन छ भने नेपाल १५औँ वरीयतामा रहेको राष्ट्र हो । यसका अतिरिक्त भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ ।
१६औं एसिया कपमा यसअघि नेपाली टोली आफ्नो पहिलो खेलमा आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । पाकिस्तान पछिल्लो आईसीसी एकदिवसीय वरीयताको पहिलो स्थानमा रहेको राष्ट्र हो ।
नेपाल र भारतबीचको खेलसँगै समूह ‘ए’ को सबै खेल सकिने छ । हाल समूह ‘ए’ तालिकामा दुई खेल खेलेको पाकिस्तान तिन अंकसहित पहिलो स्थान रहदै सुपर फोरमा प्रवेश गरिसकेका छन् । पाकिस्तान र भारतबीच शनिबार खेलिएको खेल भने वर्षाका कारण रद्द भएको थियो ।
तालिकामा एक अंकसहित भारत दोस्रो स्थानमा आसिन छ । तेस्रो स्थानमा रहेको नेपालले भने हालसम्म खाता खोल्न सकेको छैन । त्यसैले आज हुने नेपाल र भारतबीचको खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण रहेको छ ।
यस्तो स्थितिमा सोमबारको खेलमा दुबै टोलीको लागि ‘गर वा मर’ को स्थितिमा हुनेछन् । सामान्यतः उक्त खेलमा जुन टोली विजयी हुन्छ त्यो सहजै प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्नेछ । तर, सोमबार हुने नेपाल र भारतबीचको खेल पनि वर्षाले विथोल्ने प्रबल सम्भावना देखिएको छ ।
मौसम विभागका अनुसार, केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रहेको स्थानमा सोमबार विहान ६० प्रतिशत वर्षाको सम्भावना रहेको छ । त्यसैले रंगशालाको आउट फिल्ड सुक्न पनि केही समय लाग्नेछ । तर, नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार, ३ः१५ बजे सुरु हुनेछ । उक्त खेलको टस नेपाली समयअनुसार, २ः४५ बेज हुनेछ । टस हुने समयमा पालेकेलमा २२ प्रतिशत वर्षाको सम्भावना देखाइएको छ । साँझ ६ बजेसम्म पनि वर्षाको सम्भावना २२ प्रतिशत नै देखिन्छ । त्यसपछि भने वर्षाको सम्भावना बढेर ६६ प्रतिशत पुग्ने देखिएको छ ।
त्यसैले मौसममा नाटकीय परिवर्तन नआएमा दोस्रो पारीको खेल वर्षाका कारण बिथोलिने निकै सम्भावना देखिन्छ । वर्षाका कारण खेल रद्द भए समूह ‘ए’ बाट भारत ‘सुपर फोर’ चरणमा पुग्ने दोस्रो राष्ट्र बन्नेछ । यस्तो स्थितिमा तालिकामा दुई अंकसहित भारत दोस्रो र एक अंकसहित नेपाल तेस्रो स्थानमा रहनेछन् ।
नेपाली टिम
पहिलो पटक एसिया कप खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित पौडेलको नेतृत्वमा १७ सदस्यीय टोलीको घोषणा गरेको छ । घोषित टोलीमा आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छन् । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देशाई रहेका छन् ।
भारतीय टिम
यसैगरी भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसन, हार्दिक पाण्डेया, रविन्द्र जडेजा, सार्दुल ठाकुर, कुलदिप यादब, मोहम्मद सामी, जसप्रित बुमराह, मोहम्मद सिराज, अक्सर पटेल, सूर्यकुमार यादब, प्रसिद्ध कृष्ण, तिलक वर्मा र केएल राहुल रहेका छन् । केएल राहुल भने घाइते समस्याका कारण टोलीबाट बाहिरिइसकेका छन् ।