एसिया कप क्रिकेटमा नेपालले सोमबार छिमेकी भारतसँग ऐतिहासिक खेल खेल्दै गज्जबको प्रदर्शन ग¥यो । वर्षाले बारम्बार प्रभावित खेलमा ओभर छोट्याएपछि नेपाल १० विकेटले पराजित भए पनि विश्वकै ‘पावर हाउस’ विरुद्ध २३० रन बनाउँदा सारा संसारको मन जितेको थियो । आसिफ शेखले अर्धशतक बनाउँदा सोमपाल कामी अर्धशतकबाट दुई रनले मात्र चुकेका थिए ।
भारतीय कप्तान रोहित शर्माले टस जितेर नेपालका कप्तान रोहित पौडललाई पहिले ब्याटिङको निम्तो दिएका थिए । निर्धारित ५० ओभरमा १० बल बाँकी छँदै अलआउट हुँदै नेपालले २३० रन बनायो । तर वर्षाका कारण २३ ओभरमा खेल छोट्याइएपछि भारतले १४५ रनको नयाँ लक्ष्य पायो । भारतीय कप्तान रोहित शर्मा र शुभमन गिल मिलेर पहिलो विकेटका लागि अविजित १४७ रनको साझेदारी गर्दै १० विकेटको जित दिलाए ।
भारतका लागि रोहितले अविजित रहँदै सर्वाधिक ७४ रन बनाए । ५९ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । यस्तै गिलले ६२ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ६७ रन बनाए । खेलको प्लेअर अफ दि म्याच उनै रोहित शर्मा घोषित भए ।
नेपालका २१ वर्षीय युवा कप्तान रोहित पौडलको आइडल उनै ३६ वर्षीय रोहित शर्मा थिए ।
कप्तानको रुपमा २९ खेल
खेलमा दुवै टोलीका कप्तानका नाम रोहित थियो । त्यसैले यो नाममा गज्जबको संयोग जोडिएको छ ।

यी दुई रोहितको नाममा जोडिएको अर्को रमाइलो संयोग भनेको ओडिआईमा दुवैले कप्तानको रुपमा २९ औं खेल खेले ।
सन् २००७ मा आयरल्याण्ड विरुद्ध ओडिआईमा भारतका लागि डेब्यु गरेका रोहित शर्माले २०१७ मा पहिलोपटक ओडिआई टिमको कप्तानी गरेका थिए । विराट कोहलीले २०२१ मा कप्तान छाडेपछि भने रोहित नियमित कप्तान बनेका छन् ।
उनले भारतका लागि २४६ ओडिआई खेल्दै ९ हजार ९२२ रन बनाएका छन् जसमा ३० शतक र ४९ अर्धशतक समावेश छ ।
उनले कप्तानीको रुपमा २९ खेल खेल्दा २१ खेल अर्थात ७५ प्रतिशत खेल जितेका छन् । उनले कप्तानी गरेको ७ खेलमा भारत पराजित भएको छ भने एक खेलको नतिजा आएन । रोहित शर्माको उच्च स्कोर २६४ हो ।
यस्तै यता नेपाली कप्तान रोहित पौडेलले सन् २०१८मा नेपालले नेदरल्याण्ड्ससँग ऐतिहासिक ओडिआई खेल्दा त्यही डेब्यु गरेका थिए ।

उनले गत वर्षदेखि मात्र नेपालको सिनियर टिमको कप्तानी गर्न थालेका हुन् । रोहितको कप्तानीमा नेपालले २९ खेल खेल्दा १७ खेल जितेको छ भने ११ खेलमा पराजित भएको भएको छ । एक खेलको नतिजा आएन । जित प्रतिशत ६०.७१ छ ।
रोहितले नेपालका लागि ५४ ओडिआई खेल्दै १ शतक र ८ अर्धशतकको मद्दतमा एक हजार ४७४ रन बनाएका छन् । रोहित नेपालका लागि ओडिआईमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । उनको उच्च स्कोर १२६ रन हो ।
२०१८ मा डेब्यु गरे पनि त्यस वर्ष जम्मा दुई खेल मात्र खेलेका रोहितले २०१९ र पनि दुई तथा २०२० मा जम्मा एक खेल खेले । त्यसपछि टिममा पर्न नै संघर्ष गरेका रोहितले २०२१ सेप्टेम्बरमा पपुवा न्युगिनीविरुद्ध ओडिआईमा पुनरागमन गरे । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन र अहिले नेपाली सिनियर टिमै नेतृत्व गरिरहेका छन् ।
ओडिआईमा नेपालका लागि अहिलेसम्म चार खेलाडीले कप्तानी गरेकोमा सबैभन्दा धेरै जित प्रतिशत रोहितकै छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले १० खेल खेल्दा ६ खेल जितेको थियो । जसको जित प्रतिशत ६० छ ।
यस्तै पारस खड्काको कप्तानीमा ६ खेल खेल्दा ३ खेल अर्थात ५० प्रतिशत खेल जितेको थियो । सन्दीपको कप्तानीमा नेपालले १४ खेल खेल्दा ४ खेल जितेको थियो ।
श्रोतः अनलाइनखबर
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन