चिनियाँ राष्ट्रपति सि जिनपिंगको तेश्रो पटकको कार्यकालमा आफ्नो भव्य दृष्टिकोण सफल बनाउनका लागि आफना वफादारहरूलाई शीर्ष स्थानमा राखेका थिए ।
राष्ट्रपति सी को अपेक्षा थियो, ‘वफादारहरूले आफ्नो दृष्टीकोण सहजताका साथ कार्यान्वयन गर्नेछन् ।’ तर एक वर्षको अवधिमा सी को यो अपेक्षामा कठिनाइ देखा परेको छ । आफ्ना विश्वापात्रले नै प्रश्न उठाउन थालेपछि सीले राजनीतिक तरंगको सामाना गर्नुपरेको छ ।
दुई महिनाको अवधिमा चीनका दुई उच्चपदस्थ मन्त्री र चीनका लागि अन्तरराष्ट्रिय मध्यस्थकर्ता नै गायब छन् । पूर्व विदेशमन्त्री क्वीन गाङ नाटकीय रुपमा गायब भएको घटना पछि हाल रक्षा मन्त्री ली साङफू गायब भएका छन् । विगत तीन साता देखि उनी सार्वजनिक वृत्तमा देखा परेका छैनन् ।
पश्चिमा राष्ट्र सँगको बढ्दो तनावको समयमा सी ले आन्तरिक कमजोरी वा खतरालाई हटाउन खोजेको अवस्थामा उनीहरू गायब भएका हुन् । ली र क्वीन दुबै राज्य परिषद्का पाँच सदस्य मध्येमा थिए । दुबैजना मन्त्रिपरिषद्का प्रभावशाली मन्त्री थिए । ली केन्द्रीय सैन्य आयोगमा समेत थिए । सी नेतृत्वको यस शक्तिशाली आयोगले चीनको सम्पूर्ण सशस्त्र बललाई परिचालन गर्छ ।
एक महिनाअघि आकस्मिक रुपमा सीले सेनाका दुई उच्च कमाण्डरलाई बर्खास्त गरेका थिए । पूर्व परराष्ट्रमन्त्री क्वीन गायबको घटनामा पनि सरकार मौन थियो । रक्षामन्त्रीको प्रकरणमा पनि चिनियाँ सरकारले केही बोलेको छैन । सी को अपारदर्शी कार्यकालमा यस्ता घटना सामान्य छन् ।
सरकार केही नबोले पनि उच्च श्रोतको हवला दिँदै गत मंगलबार वाल स्ट्रीट जर्नलले एक समाचार प्रकाशित गरेको छ । क्वीन माथि विवाहत्तर सम्बन्धमा सरकारी अनुसन्धान भइरहेको त्यसमा जिकिर छ । अमेरिकामा राजदूत हुँदा उनी विवाहत्तर सम्बन्धमा रहेकाले अनुसन्धान गरिएको सार समाचारमा छ । चीनको विदेश मन्त्रालयले यस मामिलामा कुनै प्रतिक्रिया जनाएको छैन ।
उच्चपदस्थ नेतानै गायब हुँदा कायम भइरहेको बेइजिङको मौनतालाई विश्वलेनै आश्चर्यका रुपमा हेरेको छ । विज्ञहरू भन्छन्, ‘चीनको सत्तारुढ अभिजान वर्गमा देखिएको अनिश्चितताले बेइजिङको राजनीतिक प्रणालीको कमजोरी उजागर गरेको छ ।’
रिपोर्टमा अघि भन्छन–‘सीको तेस्रो कार्यकाल उनको व्यक्तिगत शक्तिको एकाग्रतामा केन्द्रित रहेको छ ।‘ सिंगापुरको नेशनल युनिभर्सिटीका अनुसन्धानकर्ता ड्रु थोम्पसनका अनुसार जारी राजनीतिक घटनाक्रमले बेइजिङको राजनीतिक संकटलाई चित्रण गर्छ । ‘विश्वासपात्र सँग सी को बढ्दो तिक्तता र शासकीय स्वभाव नियन्त्रणका मापदण्डको अभावका कारण चीन राजनीतिक जोखिम तर्फ अग्रसर छ,’ उनले भने ।
चीनमा रक्षामन्त्री कार्यकारी भूमिकामा हुँदैन । ली ले सैन्य संयन्त्रलाई परिचालनको हैसियत नराखे पनि विश्वका लागि आवश्यक सैन्य कुटनीतिका लागि उनी चीनको महत्वपूर्ण अनुहार थिए । गत मार्चमा रक्षा मन्त्री भएसँगै उनले दुईपटक मस्को भ्रमण गरेका थिए । बेलारुस पुगेर त्यहाँ राष्ट्रपति सँग भेट गरेका थिए भने अमेरिकी रक्षा मन्त्री लोयड अस्टिन सँग पनि उनको भेट भएको थियो । तर हालसालको कुरा गर्दा उनी कुटनीतिक गतिविधिबाट अलग छन् । भियतनाम र सिंगापुरका सैन्य अधिकारीहरू संगको छलफलमा उनी देखा परेनन् ।
विज्ञहरूको अनुमान के छ भने अमेरिकासँगको सम्बन्धलाई स्थिर बनाउने प्रयत्न भइरहेको समयमा उनलाई छायाँमा राखिएको हुनसक्छ । सन् २०१८ मा चीनले रुसबाट हतियार खरिद गरेपछि अमेरिकाले उनीमाथि प्रतिबन्ध लगाएको थियो । त्यस प्रतिबन्ध फुकुवा नगरेसम्म ली अमेरिका सँगको कुनै पनि वार्तामा सहभागिता नजाने अडान बेइजिङले लिँदै आएको थियो । लीलाई जिम्मेवारीबाट हटाइएको थियो भने दुई शक्ति राष्ट्रबीचको सैन्य वार्ताका लागि चालिएको कदमका रुपमा लिन सकिन्थ्यो ।
दोषबाट उम्किन नसकेका सी
सीका आफ्नै विश्वासपात्र लगातार गायब र पतन प्रकरणलाई उच्च नेतृत्वमा रहेका अन्यले निकै संशय र त्रासको दृष्टीकोणबाट हेरिरहेको विज्ञहरू बताउँछन् । ‘राज्य परिषद्का दुई सदस्य नै सार्वजिक वृत्तबाट गायब भएको प्रकरणले सी को राजनीतिक संकटलाई प्रतिविम्वित गर्छ । संकटलाई लुकाउने जतिसुकै प्रयत्न भए पनि विस्तारै त्यसको प्रस्फुटन भइरहेको छ,’ चिनिँया कम्युनिस्ट पार्टीको अखबारका पूर्व सम्पादक देङ युवेन भन्छन् ।
सीको तेस्रो कार्यकालमा चीन आर्थिक संकट उन्मुख छ । युवा बेरोजगारको संख्या बढिरहेको छ भने स्थानीय सरकार ऋणको चपेटामा छन् । सीको तेस्रो कार्यकालमा विश्वकै दोस्रो ठूलो अर्थतन्त्र जोखिमतर्फ अघि बढिरहेको विज्ञहरू बताउँछन् । ‘आर्थिक, सैन्य शक्तिको महत्वपूर्ण आधारशिलालाई थाँटी राख्दै सी अहिले वैचारिक एकताको पक्षमा अघि बढिरहेका छन्,’ क्रेग सिग्लेटन भन्छन् ।
सीले सबै शक्ति आफ्नो हातमा लिइसकेका छन् । यद्यपि सैन्य क्षेत्रमा आफ्नो शक्ति विस्तार दुई गुणाले बढाइरहेका छन् । ली गायब भएकोबारे चासो बढ्दै गएपछि सीले भनेका थिए, ‘सेनाभित्र एकता र स्थिरता कायम राख्न आवश्यक छ ।’
शक्तिमा पुगेपछि आफ्ना विश्वासपात्र माथि कदम चाल्ने नेतामा सी मात्रै होइनन् । चिनिँया कम्युनिस्ट पार्टीका पूर्व अध्यक्ष माओत्सतुङले पनि यस्तै गरेका थिए । सम्पूर्ण शक्ति आफैँमा केन्द्रित गरेका सीले यस्ता कदम जारी नै राख्नै विज्ञहरूको मत छ । राजनीतिक प्रणाली नसुध्रिए सम्म यस्ता घटना जारी रहने उनीहरूको मत छ ।
श्रोतः अनलाइनखवर
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट