मुम्बई, २२ वैशाख । कोलकत्ता संग पराजित हुँदै आईपीएल २०२४ को लिगबाट पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स बाहिरिने पक्का भएका छन् ।
शुक्रवार राति मुम्बईको बानखेडे स्टेडियममा भएको ५१ औं खेलमा कोलकत्ता नाइट राइडर्सले मुम्बईलाई २४ रनबाट पराजित गर्दै लिगबाट लगभग बाहिरी सकेका हुन् ।
कोलकाताको यो मुम्बइको घरेलु मैदानमा १२ वर्षपछि जितको स्वाद चाखेको छ । यो हारसँगै मुम्बइ लिगबाट बाहिरिन अब औपचारिकता मात्रै बाँकी छ ।
१७० रनको लक्ष्य पछ्याएको मुम्बइ १८.५ ओभरमा १४५ रनमा अल आउट भयो । सूर्यकुमार यादवले ३५ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५६, इशान किशन १३, रोहित शर्मा ११, तिलक बर्मा ४, नेहाल वढेरा ६ र टिम डेविड २४ रनमा आउट भए ।
कोलकाताका मिचेल स्टार्कले ३.५ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । बरुण चक्रवर्ती, सुनिल नारायण र आन्द्रे रसेलले २–२ विकेट लिए । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाता १९.५ ओभरमा १६९ रनमा अल आउट भयो । वेंकटेश ऐरले ५२ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए । मनिष पाण्डे ३१ बलमा २ चौका र २ छक्कासहित ४२ रघुवंशीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन भने बनाउन सकेनन् । फिलिप साल्ट ५, सुनिल नारायण ८, श्रेयस ऐर ६, रिंकुसिंह ९ र आन्द्रे रसेल ७ रनमा आउट भए ।
मुम्बइका नुवान थुशरा र जस्प्रित बुमराहले ३–३ विकेट लिए । हार्दिक पान्ड्याले २ र पियुया चवालाले १ विकेट लिए । राजस्थान १० खेलमा ८ मा जितेर १६ अंकका साथ शीर्षस्थानमा छ । कोलकाता १० खेलमा ७ मा जितका साथ १४ अंक जोड्दै दोस्रो स्थानमा छ ।
समान १० खेलमा १२–१२ अंकका साथ लखनउ तेस्रो र हैदराबाद चौथो स्थानमा छन् । मुम्बइ ११ खेलमा ३ मा जितका साथ ६अंकका साथ नवौं स्थानमा छ । मुम्बइले अब तीन खेल खेल्न बाँकी छ । बाँकी तीनै खेलमा विजयी हुँदा पनि मुम्बइ १२ अंकमा मात्रै पुग्न सक्छ । तर, शीर्ष चारमा रहेर प्लेअफ खेल्न कुनै पनि टोलीलाई १२ अंक पर्याप्त हुँदैन । त्यसैले मुम्बइ लिगबाट बाहिरिन औपचारिकता मात्रै बाँकी छ ।