रौतहट, ३० असार । भरतपुर महानगरपालिकाको सिमलतालबाट खसी त्रिशुली नदीमा वेपत्ता भएका दुई वसका यात्रुहरुको शव विस्तारै ५० देखि ६० किलोमिटर दक्षिणमा फेला पर्न थालेका छन् ।
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्वर ७ स्थित नारायणी नदी किनार र चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २८ गोलाघाटमा भेटिएका दुवै पुरुषको शवको सनाखत भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गैंडाकोटमा भेटिएको शव भारत बेतिया मझौलिया थाना, गुठिया ईन्दु घर भएका ३० वर्षका सजाद अन्सारीको रुपमा पुष्टि भएको छ । उनका दाजु मेराज हुसेनले शवको सनाखत गरे ।
उनी कलंकीमा ब्यवसाय गरेर बसेका थिए । उनी वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसबाट यात्रा गरिरहेको प्रहरीले जनाएको छ । उनको शव मुचुल्का गरेपछि पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
यस्तै पश्चिम चितवनको भरतपुर–२८ गोलाघाटमा आइतवार बिहान भेटिएको अर्को शवको पनि सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक व्यक्ति ३० वर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर हुन् ।
भारत बिहार पश्चिम चम्पारण बेतिया थाना बस्ने ठाकुरको शव उनका दाइ ओमप्रकाश ठाकुरले सनाखत गरे । ठाकुर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बसमा यात्रा गरिरहेका थिए ।
गएको असार २८ गते शक्रवार बिहान भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा आएको पहिरोले दुईवटा बस बगाएको थियो । काठमाडौंबाट गौर जाँदै गरेको बसमा ३८ र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा २७ यात्रु रहेको अनुमान छ । तीमध्ये काठमाडौंबाट रौतहट जाँदै गरेको बसका ३ यात्रुले पौडिएर ज्यान बचाएका थिए ।
वेपत्ता भएकाहरु मध्ये हालसम्म ५ जनाको मात्र शव भेटिएको छ । पाँचै जनाको सनाखतसमेत भैसकेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन