पोखरा, १० साउन । पोखरामा निर्माण भएको अन्तरराष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनमा भएको ढिलाई एवं निर्माण कार्यमा भएको चरम भ्रष्टाचार विरुद्ध पोखरावासीहरु आक्रोशित हुँदै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
राष्ट्रिय एकता अभियानका उपाध्यक्ष टिका कुमारी छिरिंगले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका हुन् । बुझाइएको ज्ञापन पत्रमा विमानस्थलको निर्माणमा भएको भ्रष्टाचार र प्रविधिक त्रुटिहरूलाई लिएर गम्भीर चिन्ताको रुपमा लिइएको छ ।
विमानस्थल उदघाटन भएको डेढ वर्ष बितिसक्दा पनि पूर्ण रुपमा सञ्चालनमा नआउँदा पोखराबासीमा निराशा र आक्रोश बढेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी माथि ठेकेदार कम्पनीहरुसँग मिलेर कमिशनको लागि प्रविधिक त्रुटिहरूलाई बेवास्ता गरेको गम्भीर आरोप लगाइएको छ ।
संसदीय छानवीन उपसमितिले सार्वजनिक सुनुवाइका क्रममा महानिर्देशक अधिकारी कार्यक्रममा उठेर भागेको घटनाले पोखराबासीलाई अपमानित गरेको र उनको असक्षमता प्रकट भए । विमानस्थल निर्माणका क्रममा भएका प्रविधिक त्रुटिहरू, सुरक्षा मापदण्डहरुको अवमूल्यन, र ठेकेदार कम्पनीहरूसँगको मिलीभगत ले विमानस्थलको गुणस्तरियतामा कमी आएको उल्लेख छ ।
ज्ञापन पत्रमा टिका कुमारी छिरिंगको नेतृत्वमा भएको प्रतिनिधिमण्डलमा ध्रुवराज चालिसे, विष्णु प्रसाद तिवारी, चित्र कुमारी गुरुङ, इन्द्र गुरुङ, नारायण गिरी, र रामेश्वर अधिकारी उपस्थित रहेको अभियानले जनाएको छ । पोखराबासीले ज्ञापन पत्रलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न प्रधानमन्त्रीलाई जोडदार आग्रह गरेका छन् ।
ज्ञापन पत्रमा पोखराबासीको तर्फबाट निम्न मागहरुः
१. महानिर्देशक प्रदीप अधिकारीलाई तुरुन्त बर्खास्त गरियोस् ।
२. निर्माणमा भएका सम्पूर्ण प्रविधिक त्रुटिहरूको जिम्मा अधिकारीले लिनु पर्नेछ ।
३. छानवीन प्रक्रिया सम्पन्न नभएसम्म अधिकारीलाई पदमा बस्न नदिइयोस् ।
४. एक स्वतन्त्र अनुसन्धान टोली गठन गरियोस् ।
५. प्राधिकरणले स्पष्ट कार्य योजना तयार पारोस् ।
६. विमानस्थलको प्रभावकारी सञ्चालनका लागि आवश्यक स्रोत र प्रविधिको व्यवस्था गरियोस् ।