विद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था नगरिए भदौं देखि विद्यालयमा पठनपाठन बन्द गर्ने चेतावनी दिइन्ः मौलापुरको मेयर रिनाकुमारी साह
रौतहट, १४ साउन । सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी अपुग रहेको हुँदा सोको यथोचित बन्दोबस्त मिलाई शिक्षाको वातावरण तयार पार्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई मौलापुरको मेयरले ज्ञापन पत्र बुझाएकी छिन् ।
संघिय राजधानी काठमाडौं स्थित सिंहदरवारमा रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उपस्थित भएर मौलापुर नगरपालिकाको मेयर रिनाकुमारी साह सहितको नगरपालिकाको प्रतिनिधि मण्डलले मन्त्री विद्या भट्टराई संग भेटर सामुदायिक विद्यालयमा विद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी निकै कम रहेको हुँदा अध्यापनमा समस्या उत्पन्न भईरहदा सोको समाधान गर्नका निमित्त ज्ञापन पत्र बुझाएकी हुन् ।
मन्त्रालयमा उपस्थित भएर मन्त्री समक्ष मेयर साहले अपुग शिक्षक दरबन्दी तत्काल पुरा गर्नुपर्ने, तहगत र बिषयगत अपुग शिक्षक तत्काल व्यवस्थापन नगरिए भदौ महिना देखी मौलापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयको पठनपाठन बन्द गर्न नगरपालिका बाध्य हुने चेतावनी शिक्षा मन्त्री भट्टराईलाई दिइन् ।
मौलापुर नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा आठ हजार भन्दा बिद्यार्थी अध्ययनरत रहेका छन् जस मध्ये शिक्षकको दरबन्दी एक सय ६० हुनुपर्नेमा मौलापुरमा ५८ जना मात्रै शिक्षक रहेका छन् । हाल मौलापुरमा एक सय २ शिक्षक दरबन्दी अपुग रहेको मेयर साहले भनिन ।
मौलापुरकी मेयर साहले प्रश्न गर्दै भनिन्, “कि शिक्षा मन्त्रालयले अपुग शिक्षकको व्यवस्था गर्नुपर्यो वा हामीलाई शिक्षक नियुक्त गर्ने अधिकार दिनुपर्यो । विद्यार्थीको भविष्यसंग मन्त्रालयले खेलवाड गर्न पाउँदैन् । हामीले यस बारेमा सरकारलाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको मेयर साहले भनिन । सरकारको यस्तै रवैया रहयो भने हामी बाध्य भएर पठनपाठन बन्द गरेर आन्दोलनमा जान्छौं ।” सोको जिम्मेवार संघिय सरकार हुने चेतावनी दिइन् ।
मौलापुरमा अपुग शिक्षक आपुर्तिका लागि मेयर साहले सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आएकी छन् । तर सरकारले नसुने जस्तो गर्दै आएको छ । विद्यार्थी अनुपातमा मौलापुरमा मात्रै नभएर मधेस प्रदेशमै शिक्षकको अभाव रहेको छ । तर सरकारले विभेद गर्दै आएको कारण विद्यार्थीहरुको भविष्य अन्धकार बनाउँन खोजेको आरोप मेयर साहले लगाइन ।
मधेस प्रदेशको पहिलो महिला मेयर साह भन्छिन्, “विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी नहुँदा शिक्षकको अभावमा मौलापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको पठनपाठन अस्तव्यस्त भई बालबालिकाहरुको भविष्य अन्धकारमा पर्न गएको छ ।”
ज्ञापनपत्र बुझदै शिक्षा मन्त्री भट्टराईले बिभिन्न विद्यालयमा अपुग रहेका शिक्षक दरबन्दीलाई छिटै नै व्यवस्थापन गर्ने गृहकार्यमा लागेको बताईन् । “हामी अध्ययन गरिरहेका छौं । बिभिन्न विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएकाले छिटै नै व्यवस्थापन गर्दैछौं । तपाईहरु आन्दोलन नगरिदिनु होला ।”
शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बारबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । तर यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रुपमा निर्धारण गरियो । यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था मन्त्रालयले गरेको छैन् ।
शिक्षा मन्त्री भट्टराईलाई ज्ञापनपत्र बुझाउन मौलापुरकी मेयर साह संगै आम जनता पार्टी (आजपा) का केन्द्रीय सदस्य तथा लेखक डा. हेमप्रसाद साह लगायतको सहभागिता रहेको थियो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन