रौतहट, १० भदौं । वैंदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज हर्षोल्लासका साथ श्रीहरी श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक रौतहट सहित देशविदेशमा मनाउदै छन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रात्रीकालिन समयलाई ‘मोहरात्रि’ पनि भन्ने गरिन्छ ।
आजको दिनमा देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन रहेको छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।
कुरुक्षेत्रमा कौरव सँगको लडाइँमा संलग्न पाण्डव बन्धुमध्ये अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनु भएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।
रौतहटको हरेक पालिकामा कृष्णको मुर्ती स्थापना गरेर दुई दिन सम्म मनाइने यस पर्वलाई हिन्दु समुदायममा विशेष रुपमा मानिएका छन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी स्थित कृष्णधामबाट विभिन्न पहिरनमा सजिएका रथ यात्रा निकालिन प्रथा गत बर्ष देखि चल्दै आएका छन् । आज पनि बालबालिकालाई भगवान कृष्णको रुपमा सजाएर रथयात्रा निस्कने कार्यक्रम रहेको कृष्णधामका अनुयायी विरु सरस्वतीले बताए । आज निस्किने रथ यात्रामा स्थानीयहरुको उल्लेख संख्यामा उपस्थिति रहने उनले बताए ।
पिपरा बजारमा मारुती क्रिकेट क्लवले पुजा तथा नाँच तमासाहरुको प्रबन्ध मिलाएको छ । यस्तै परोहा नगरपालिकाको लौकाहा भोली देखि दुई दिन सम्म कृष्णमेला लाग्ने गरिन्छ । बडहर्वामा पनि दुई दिने मेलाको आयोजनाको साथै जिल्लाभरी नै श्रीकृष्णजन्माष्टमी को उत्सव हर्षोल्लासका साथ मनाउने कार्यक्रम रहेको बताइएका छन् ।