रौतहट, २० असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विनाशकारी बर्षा संगै आएको बाढीपहिरोबाट आक्रान्त बनेका पीडितहरुलाई राहत उपलब्ध गराउनुको साटो सरकार भोजभतेरमा मस्त रहेको आरोप लगाए ।
हिन्दुहरुको महापर्व दशैं, दिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदानको अवसरमा सोमवार रौतहटको फतुवाबिजयपुर नगरपालिकाको बैरगनियामा आयोजित कार्यक्रममा अध्यक्ष साहले विनाशकारी बाढीपहिरोबाट पीडितको उद्धारमा सरकारले ढिलाई गरेकाले अमूल्य जनधनको ठुलो क्षति भएको बताए ।
‘सरकारले समयमै पीडितको उद्धार गरेको भए सयौं मान्छेको मृत्यु हुदैन्थ्यो । अर्बौको क्षति हुदैन्थ्यो । उद्धारका लागि छटपटाइरहेका पीडितहरु अहिले राहतका लागि पर्खिरहेका छन् । तर पीडितको उद्धारमा असफल र असक्षम रहेको सरकार कता छ, खोज्नुपर्ने अवस्था आएको छ’ आजपा अध्यक्ष साहले प्रश्न गरे । बाढीबाट तराईका क्षेत्रमा किसानले लगाएको बाली घर भित्रयाउने बेलामा क्षति भएर बर्बाद भएका छन् । सर्वसधारण किसान बिहान बेलुका के खाने, कहाँ बस्ने ठेगान छैन् । तर सरकार अतिरिक्त तलब लिएर खसी काटेर दशैंको भोजमा रमाईरहेको छ । सर्वसधारणको बारेमा सोच्ने, बोल्ने, राहत दिनेमा उनीहरुलाई फुर्सत नै छैन् भन्दै सरकारको कटाक्ष गरे ।’ बाढीपहिरोमा परी अमूल्य जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्दै उनले राहत वितरणमा ढिलाई नगर्न सरकारलाई सुझाव दिए । पूर्वसूचना हुँदाहुदै समेत सरकारले विपतको बेलामा गर्नुपर्ने तयारी नगरेको र उद्धार प्रभावकारी रुपमा नगरेकाले बढी क्षति हुन गएको उनले बताए ।
बाढीपहिरोले बिभिन्न राजमार्ग अवरुद्ध छ । सडकमा यात्रा गर्न सहज नभएको बताउँदै उनले सरकारी संरक्षणमै यातायातको भाडामा मनोमानी रुपमा लुट मचाइएको छ । बाढीपहिरोले पीडित नेपाली नागरिक महंगीको थप पिडामा परेको बताउँदै आजपा अध्यक्ष साहले महंगी नियन्त्रण गर्न नसकेको सरकार पूर्ण रुपमा असफल र असक्षम रहेको टिप्पणी गरे । सरकारले देशैभरीका कर्मचारीलाई चाडपर्व वापत दिने एक महिनाको अतिरिक्त रकम ३० अर्बभन्दा बढी हुने भएकाले त्यो रकमले बाढीपहिरो पीडितको घर निर्माण, खाना लगायतका क्षेत्रमा खर्च गर्दा राम्रो हुने सुझाव उनले दिए ।
कार्यक्रममा आजपाका नेताहरु पुर्वसंसद समीना हुसेन, महासचिव त्रिभुवन साह, उपमहासचिव सियाराम कुशवाहा, मेयर प्रत्याशी बिजय यादव, वाडाध्यक्ष संजय यादव लगायतको सहभागिता रहेको थियो ।