रौतहट, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अघि सत्तारुढ दल मध्येका नेपाली काँग्रेसमले पुनः चीन प्रतिको आफनो अडानलाई कायमै राखेका छन् ।
सत्तारुढ नेपाली कांग्रेसले फेरी पनि आफ्नो अडान कायम राख्दै चिनियाँ महत्वाकाँक्षी परियोजना बीआरआई प्रतिको धारणालाई लिएर अनुदान हुने तर ऋण लिन नसकिने निष्कर्ष निकालेका हुन् ।
पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अन्तर्गत ऋण सहायता लिन नहुने आफ्नो पार्टीको अडान रहेको स्पष्ट पारे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सो परियोजना अन्तर्गत नेपालले अनुदान सहायता लिँदा राम्रो हुने पार्टीको आधिकारीक धारणा रहेको छ ।शुक्रवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले राखेको प्रश्नको जवाफमा प्रवक्ता महतले चीनसँग विआरआई परियोजनामा आफू परराष्ट्रमन्त्री हुँदा सम्झौता भएको स्मरण गराउँदै त्यसमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुराहरु भएकाले त्यसलाई अनुदानको रुपमा अघि बढाउन उपयुक्त हुने सुझाव रहेको स्पष्ट पारे ।
उनले मुलुकमा धेरै ऋणको भारमा रहेकाले कुनै पनि देशसँग थप ऋण लिन नहुने तर्क समेत गरे । उनले भने, “बीआरआई बारे कांग्रेसको केही पनि दोधार नीति छैन । अहिले ऋण लिन सकिँदैन भनेको मात्रै हो हामीले । हामीले बीआरआई हुँदैन पनि भनेका छैनौं । त्यो समझदारी पत्रमा मैले नै हस्ताक्षर गरेको हो । त्यो हस्ताक्षरमा खाली लगानी, कनेक्टिभिटी, प्राविधिक सहयोगका कुराहरु छन । अब कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदा खेरी हामी के चाहन्छौँ भने केनेक्टिभिटीका कुरा सुरुङमार्ग, सडकमा अनुदान सहयोग दिनुपर्यो ।
अनुदान दिने कुरा नै चिनियाँ सरकारको कयौँ वर्षदेखि कार्यान्वयन भएको छैन । त्यसलाई कार्यान्वयन गर्नुपर्याे । अनुदान नै कार्यान्वयन भएको छैन, अहिले ऋणको कुराको के अर्थ ? अहिले हाम्रो ऋणको भार पनि धेरै भएको छ । त्यसकारण चिनियाँ सरकार मात्रै होइन कि जुनसुकै सरकारसँग पनि अहिले हामीले अब ऋण लिने कुरामा जानु हुँदैन नम्बर १ । अर्को यो बीआरआई फ्रेमवर्कको कुरा जुनभईराखेको छ । त्यसमा अरु रणनीतिक सुरक्षाका कोण, अरु खाले विषयवस्तुहरु एउटा ब्लकमा जान खोजेको हो कि वा के हो ? भन्ने हिसावको कुराहरु पनि हुनु हुँदैन भन्ने हाम्रो हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सो परियोजनाको कार्यान्वयन योजनामा पनि हस्ताक्षर गर्नुपर्ने चीन सरकारको प्रस्ताव रहेको छ ।