रौतहट, ११ माघ । रौतहटको मध्य क्षेत्रमा व्यापारिक एवं पर्यटनको क्षेत्रलाई माथि उकास्ने उद्देश्यबाट पहिलो पटक विहिवार देखि गरुडामा “व्यापार तथा पर्यटन महोत्सव” सुरु भएका छन् ।
गरुडा नगर उद्योग बाणिज्य संघको आयोजनामा माघ १० गते देखि लिएर माघ २५ गते सम्म गरुडा नगरपालिका स्थित श्रीराम सुगर मिल्सको चौरमा संचालनमा आएका हुन् ।
“व्यापार तथा पर्यटन महोत्सव” को उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य बिणा देवी साहले “आर्थिक मन्दीको समयमा स्थानीय व्यापारीहरुलाई यस महोत्सवको आयोजनाले व्यापारमा बृद्धि गर्न मद्दत गर्ने छ । यस महोत्सवले गरुडा नगरपालिकाका नागरिकहरुलाई आर्थिक पहुँच संगै आय आर्जनमा सुधार ल्याउन सघाउने बताए ।”
गढिमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादबले महोत्सवबाट केवल यहाँको व्यापारीहरुलाई मात्रै लाभ पुर्याउने हैन यस आसपासका क्षेत्रका व्यापार प्रवद्र्धन क्षेत्रलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
महोत्सवको सुरक्षार्थ सुनिश्चित गर्न सिसि क्यामरा जडान गर्ने प्रतिबद्धता आयोजक समितिले जनाएको छ । “महोत्सवमा विभिन्न प्रकारका स्टलहरु रहेका छन् । कृषि उत्पादन, हस्तकला, स्वदेशी उत्पादित वस्तुहरु, शिक्षा सामग्री प्रदर्शनी, र स्वास्थ्य एवं पर्यटनसँग सम्बन्धित स्टल शामिल छन् । यस अवसरमा रौतहट जिल्लाका कृषिजात उत्पादनहरुको प्रदर्शनी पनि गरिएको छ, जसले यहाँको उत्पादनशीलता र राष्ट्रिय संकल्पलाई प्रस्तुत गर्न सक्षम बनाउँछ ।
महोत्सव वारे गरुडा नगर उद्योग बाणिज्य संघका अध्यक्ष सतिश कुमार साहले उद्देश्य र महत्वबारे जानकारी गराएका थिए । जानकारी गराउदै अध्यक्ष साहले भने “हाम्रो प्रयासले यहाँका व्यवसायीहरुलाई आर्थिक राहत र अभ्यस्तता प्रदान गर्ने जिकिर गरे ।
गरुडा नगरपालिकाको उपप्रमुख श्रीमती पुनम चौधरीले आयोजित महोत्सवले सीप हस्तान्तरण गर्न र छोटो अवधिको रोजगार प्रदान गर्न सहयोग पुग्ने बताइन् ।
“महोत्सवमा करिब दुई लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने मूल आयोजक समितिका संयोजक रामबाबु साह तेलीले जनाए । पन्ध्र दिन सम्म सञ्चालन हुने महोत्सवमा ९ करोड रुपियाँ बरावरको कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवमा बृन्दावन नगरपालिकाको पुर्व नगर प्रमुख रामस्नेहि यादब, गरुडा नगरपालिकाको मेयर प्रत्याशि बृजकिशोर यादब, मेयर प्रत्याशि सुनिल यादब, नेपाल सुन चाँन्दी ब्यवसाय महासंघ मधेश प्रदेशको अध्यक्ष रामजी साह सोनार ,जसपाका युवा नेता राजकुमार दास तत्मा लगायतका विभिन्न वक्ताहरुले मन्तव्य राख्दै महोत्सवको पूर्ण सफलताको कामना गरेका थिए ।