काठमाडौं, २९ माघ । नेपाली काँग्रेसकी साँसद चन्दा चौधरीले सिरहा जिल्लामा भईरहेको अबैध उत्खननको मुद्दा गम्भीर बन्न आग्रह गरिन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले सिरहामा भइरहेको अबैध उत्खननका कारण स्थानीय बासिन्दाहरु गम्भीर जोखिममा परेको र त्यसले जनजीवनमा समेत प्रतिकूल असर पारिरहेको बताइन् ।
सिरहामा भइरहेको अबैध उत्खननको मुद्दा प्रति थप गम्भीर बन्न आग्रह गर्दै उनले चिनियाँ ठेकेदार कम्पनीका कारण भइरहेको अबैध उत्खननलाई रोक्न संसदीय समिति गठनको माग गरिन । उत्खननको क्रममा प्रहरीले एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको भए पनि स्थानीय प्रतिनिधिहरूले त्यो विषयमा पर्याप्त चासो नसकेकोमा दुख व्यक्त गरिन ।
अबैध उत्खननका कारण खुट्टी खोला आसपासका बस्तीहरु जोखिम एवं खतरामा परेको भन्दै कृषिमा आश्रित किसानहरूको जीवनमा गम्भीर असर परेको उल्लेख गरिन् ।
राजमार्ग नजिकै बसोबास गर्ने ठूलो जनसंख्या शुद्ध हावाबाट बञ्चित हुन पुगेको समेत उनले बताइन् । उनले यो विषयमा स्थानीय, प्रदेश र संघीय सरकारलाई ध्यान दिन आग्रह गर्दै संसदीय अनुगमनको माग गरेकी छिन् ।
चौधरीले विशेष रूपमा सिरहाको कर्जन्हा, मिर्चैया, नरहा, गोलबजार र गढीमाई नगरपालिकाका नदीहरूमा चिनियाँ ठेकेदार कम्पनी चाइना रेलवे टु ईञ्जिनियरिङ ग्रुपले अबैध उत्खनन गरिरहेको आरोप लगाइन । त्यस कम्पनीले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला–कञ्चनपुर सडक खण्डको स्तरोन्नति कार्य गरिरहेको आडमा नदीहरूमा डोजर र स्काभेटरको प्रयोग गरेर व्यापक उत्खनन गरेको गम्भीर आरोप लगाइएको छ ।
साँसद चौधरीका अनुसार २०७९ चैत ११ गते सिरहाको लहान नगरपालिका सँग दुई वर्षको ठेक्का सम्झौता गर्दा उत्खननको लागि डोजर वा स्काभेटरको प्रयोग नगर्ने सर्त राखिएको थियो । तर, कम्पनीले त्यो सर्त उलंघन गर्दै आएको छ ।
खुट्टी र सरायु खोलाको संगमस्थल उत्तरतर्फ रहेको संरक्षित क्षेत्रमै उत्खनन भइरहेको मिडियाले रिपोर्टमा आएको जानकारीलाई उल्लेख गरिन् । सांसद चौधरीले २०८१ मंसिर ३ गते सर्वोच्च अदालतमा रिट दर्ता भएको भए पनि सम्बन्धित निकायले अझै ध्यान नदिएकोमा गम्भीर चिन्ता व्यक्त गरिन् ।
यसै क्रममा उनले चुरे क्षेत्रको महत्व र यसले मधेशको पानी प्रणालीमा पारिरहेको प्रभावका बारेमा चर्चा गरिन् । चुरेको रिचार्ज सिस्टम ध्वस्त हुँदा जमिनमुनिको पानीको स्रोतमा प्रतिकूल असर परेको र मधेशका जनताले खानेपानीको अभाव झेलिरहेको उनले भनिन ।
सांसद चौधरीले नेपालको जलवायु परिवर्तनमा देखिएको प्रभाव प्रति गम्भीरता दर्शाउँदै चुरे क्षेत्रको संरक्षणमा सबै पक्षले ध्यान दिनु पर्नेमा जोड दिइन् ।