भुवनेश्वर (भातर), ६ फागुन । भारतको ओडिसा राज्यको कालिङ्गा इन्ष्टिच्यूट अफ टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रालाई सोही कलेजम अध्ययन गर्ने एक भारतीय छात्रले मानसिक यातना दिदै आएको पुष्टि भएको छ ।
भारतीय प्रहरीले गरेको अनुसन्धानमा नेपाली छात्रा प्रकृति लम्साललाई मानसिक यातना दिदै आएको आरोपमा २१ बर्षीय युवकलाई पक्राउ गरेर न्यायिक हिरासतमा लिएर अनुसन्धानलाई अगाडी बढाएको हो ।
भारतीय प्रहरीले निकालेको निष्कर्षमा प्रकृतिलाई ब्ल्याकमेल र ह्यारेसमेन्ट गरेको आरोपमा सोही इष्टिच्यूटमा मेकानिकल इन्जिनियरिंंग तेश्रो बर्षमा अध्ययनरत युवकलाई नियन्त्रणमा लिएको भारतीय संचारमाध्यमहरुले पुष्टि गरेका छन् ।
प्रकृतिको मोबाइल फोन सहित निजी सामानहरू प्रहरीले नियन्त्रणमा लिएको भुवनेश्वर–कट्टक प्रहरी आयुक्त सुरेशदेव दत्त सिंहले बताएको भारतीय मियिामा समाचार प्रकाशित भएको छ । मोबाइललाई फरेन्सिक विज्ञान प्रयोगशालामा अनुसन्धानका लागि पठाइएको र त्यसको रिपोर्ट आएपछि थप तथ्यहरू फेला पर्ने उनको भनाइ छ ।
आयुक्त सिंहले सविस्तार भने, ‘हामीले आइतबार साँझ केआइआइटी विश्वविद्यालयमा कम्प्युटर साइन्स तेस्रो वर्ष अध्ययनरत छात्रा प्रकृतिले आत्महत्या गरेको विषयमा सूचना प्राप्त ग¥र्यौ । यो सूचनालाई लिएर एउटा केस दर्ता भएको छ । नेपालकी ती छात्रालाई सोही विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत एक युवकले मानसिक यातना दिइरहेको आरोप थियो । हामीले प्रारम्भिक अनुसन्धान गर्दा यो आरोप पुष्टि हुने प्रमाण भेट्याएका छौ उनले भने ।
युवकबाट एक प्रकारको मानसिक यातना भोगेकैले आत्महत्या गरेको हुन सक्ने देखिएको छ । त्यसैले हामीले युवकलाई पक्राउ गरेका छौँ । उनको स्वास्थ्य परीक्षण गरेर न्यायिक हिरासतमा पठाइएको स्वीकारे ।’
कलेजमा नेपाली र भारतीय विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन सुरु गरेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको उनले बताए । अहिले स्थिति शान्तिपूर्ण रहेको उनको दाबी छ । यो घटनालाई लिएर भुवनेश्वरमा रहेको इन्फोसिटी पुलिस स्टेसनमा एफआइआर (फस्र्ट इन्फोर्मेसन रिपोर्ट) दर्ता भएको छ । प्रकृतिमाथि एक युवकले ब्ल्याकमेल गरेको भन्दै उनका एक आफन्तको नामबाट प्रहरीमा उजुरी दिइएको थियो । प्रहरीले उक्त केसलाई भारतीय न्याय संहिता (बीएनएस) को धारा १०८ अन्तरगत दर्ता गरेर अनुसन्धान अगाडी बढाएको छ ।
एउटा फोन सम्वादको अडियो सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ, जसमा ती युवकले प्रकृतीलाई अपशब्द सहित भद्दा गालीगलौज गरेको सुनिन्छ । यो अडियोको स्वतन्त्र पुष्टि भने भएको छैन ।
केआइआइटी कलेजमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति होस्टलको कोठाभित्रै सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा शनिवार साँझ फेला परेकी थिइन् । त्यस लगत्तै नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका थिए । उनीहरूलाई केही भारतीय विद्यार्थीले पनि साथ दिएका छन् । तर, कलेज प्रशासनले विद्यार्थीको माग सुनवाइ गर्नुको साटो उनीहरूमाथि दमन गरेर होस्टलबाट जबरजस्ती लखेटेपछि सिंगो नेपालीहरुको त्यस तर्फ ध्यानाकर्षण भई राज्य सरकार मार्फत आवश्यक कारवाहीका लागि माग जोडदार रुपमा उठाइएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार पाँच सय विद्यार्थीहरूलाई जबरजस्ती होस्टलबाट निकालिएको छ । उनीहरूलाई स्कुलको दुईवटा बसमा कोचेर कट्टक रेल्वे स्टेसनमा उतारिएको थियो । विद्यार्थीहरू बिचल्लीमा परेको खबर सार्वजनिक भएसँगै दिल्लीस्थित नेपाली दूतावासले चासो लिए । दूतावासको समन्वयपछि कलेजले विद्यार्थीहरूलाई होस्टल फर्काउन तयार भएको छ । तर, त्यतिबेलासम्म धेरै विद्यार्थीहरू गाडी र ट्रेन चढिसकेका थिए । एजेन्सी