पटना (भारत), २० फागुन । नेपाल भारतको सीमावर्ती क्षेत्र रक्सौलमा भारतीय सरकारद्धारा ग्रीनफिल्ड विमानस्थल निर्माण गर्ने भएको छ ।
दुई ठूला देशका बीचमा रहेका नेपालको सीमावर्ती क्षेत्रमा भारतले सामरिक एवं व्यावारिक दष्टिकोर्णबाट अतिनै महत्वपूर्ण मानिएका रक्सौलमा ग्रीनफिल्ड विमान स्थालको निर्माण गर्ने भएको हो ।
बिहार विधान सभाको बजेट सत्रमा सम्बोधनको क्रममा हिजो सोमबार बिहारका उपमुख्यमन्त्री तथा वित्त मन्त्री सम्राट् चौधरीले बजेट प्रस्तुत गर्दै रक्सौल विमानस्थललाई ग्रीनफिल्ड विमानस्थलका रूपमा विकसित गर्ने घोषणा गरे ।
सन् १९६२ मा भारत–चीन युद्धको समयमा स्थापना भएको विमानस्थलमा कलिंगा र बुद्ध नामक विमानले पटना र भागलपुरका लागि उडान भर्ने गर्थे । तर, स्थापनाको एक वर्षपछि उडान सेवा बन्द भएको थियो ।
बिहार सरकारले रक्सौल विमानस्थललाई ग्रीनफिल्ड विमानस्थलका रूपमा विकास गर्न केन्द्र सरकारको वित्त विभागबाट २११ करोड भारतीय रुपैया प्राप्त भएको जनाए ।
हाल रक्सौल विमानस्थलको क्षेत्रफल २१३ एकड रहेको छ । जसमध्ये १५३ एकडमा रनवे रहेको तथा विमानस्थल विस्तारका लागि आवश्यक पर्ने थप जग्गा अधिग्रहणका लागि सरकारले प्रक्रिया समेत अगाडि बढाइसकेको जानकारी गराए । जग्गा विस्तारका लागि प्रखण्डको भरतमही, एकडेरवा, सिंहपुर, सिसवा, चिकनी र चंदुली गरी ६ वटा गाउँलाई चिन्हित गरिएको भारतीय अधिकारीहरूले जानकारी गराएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
चिकनी र चंदुली गाउँको १२१ एकड भूमि अधिग्रहण गर्नका लागि प्रक्रिया अघि बढाइएको पनि उनीहरूले जानकारी दिए । त्यस्तै तिलावे नदी नजिक रहेको यस क्षेत्रको २५० रैयतको २१३ एकड भूमि सरकारको नाममा दाखिल–खारिज गरिसकेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले २०१५ मा “पीएम प्याकेज” अन्तर्गत २५० करोड भारु विनियोजन गरेका थिए । तर, अहिले आएर बल्ल यसको कार्यान्वयनको प्रक्रिया अघि छ । रक्सौल विमानस्थलको निर्माणले नेपाल र भारतबिचको पुरानो सांस्कृतिक र व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । सीमावर्ती क्षेत्रका व्यवसायी, व्यापारी संगठन तथा राजनीतिक नेतृत्वले बिहार सरकारका सकारात्मक निर्णयको स्वागत गरे । एजेन्सी ।