रौतहट, १८ चैत । रौतहट सदुरमुकाम गौरमा रहेका पर्यटन विकास कार्यालय प्रमुख लामो समय देखि कार्यालयमा नआउदा सेवाग्राहीलाई सास्ती खेप्नु परेका छन् ।
पर्यटन विकास कार्यालय गौरका सबै कागजातहरु प्रमुख सञ्जय मिश्रकै झोलामा रहने गरेको छ र लामोसमय देखि कार्यालयमा नआउँदा सेवाग्राहीलाई सास्ती खेप्नु परेका हुन् ।
कार्यालय प्रमुख मिश्रा मोबाइल स्वीच अफ गरी सम्पर्क विहिन भएका कारण पर्यटन विकास कार्यालय गौरबाट सञ्चालन हुने विभिन्न विकास निर्माणका काम ठप्प भएको गम्भीर आरोपहरु लागेको छ ।
करिव दुई हप्ताभन्दा बढि समय देखि प्रमुख मिश्र कार्यालयमा नआउँदा सेवाग्राहीहरु मर्कामा परेको बताइएको छ । मिश्र मोबाइल स्वीच अफ गरी बेपत्ता भएका कारण विभिन्न विकास निर्माण कार्यको टेण्डर प्रक्रिया रोकिएको छ भने अन्य विकासका कामहरु अगाडि बढ्न नसक्दा सेवाग्राहीहरु सास्ती भोग्न बाध्य छन् ।
कार्यालय प्रमुख मिश्र झोलामै अफिस सञ्चालन गरिरहेको आरोप समेत यतिखेर सेवाग्राहीहरुले लगाएको छ । उनले अफिसको भन्दा आफ्ना छुट्टै दर्ता चलानी रजिष्टर खडा गरी उक्त रजिस्टरमा दर्ता चलानी गरी बाहिर गरिएको सेटिंगका आधारमा १० देखि १५ प्रतिशत कमिसन लिएर योजनाहरुको सम्झौता गरी कार्यादेश दिने गरेको गम्भीर आरोप सेवाग्राहीहरुले लगाए ।
कार्यालय प्रमुख मिश्र कार्यालयमा नआई बाहिरबाटै कार्यालयको काम गर्ने गरेको र कमिसन लिएर योजना बिक्री गर्ने गरेको भनी सामाजिक सञ्जालमा खबरहरु आइरहेको छ । यस विषयमा कार्यालय प्रमुख मिश्र संग बुझ्न उनलाई फोन गर्दा उनको मोबाइल स्वीच अफ रहेको पाइएको छ ।
समाजिक संजाल रौतहट डायरीबाट लिइएको जनताको गुनासो जस्ताको त्यस्तै
गौरको पर्यटन कार्यालय प्रमुख संजय मिश्रा कार्यालयमा भन्दा बढी चपुर, गौर, र मलगंवाका होटलहरूमा भेटिने गरेको पाइएको छ ।
स्थानीयका अनुसार उनी सरकारी कागजात झोलामा बोकेर हिड्ने, र त्यही झोलाबाट होटलका कोठामा आ.ब. २०८१÷८२ को पर्यटन योजनाहरू किनबेच गरिरहेको दाबी गर्छन् ।
मिश्राले पर्यटन कार्यालयको आधिकारिक दर्ता–चलानी बाहेक अलग्गै व्यक्तिगत दर्ता–चलानी खडा गरी योजना वितरण गरिरहेको खुलेको छ ।
सरकारी योजनाको रकम ठेकेदारहरूसँग मिलेमतो गर्दै १०–१२% कमिसन दरमा बार्गेनिङ गर्ने, कागजात होटलमै पास गराउने र कार्यालयको काम झोलाबाटै गर्ने अवस्थाले सरकारी प्रशासन माथि गम्भीर प्रश्न उठाएको छ । सरकारी कार्यालय प्रमुख नै होटल धाउन ब्यस्त छ भने, सामान्य नागरिकले पर्यटन कार्यालयमा सेवा पाउने आशा कसरी गर्ने ? भन्ने प्रश्न यतिबेला स्थानीयले गरिरहेका छन् ।
मिश्राको यस्तो गतिविधिले पर्यटन कार्यालय अब कानुनी रूपमा नभएर एक निजी व्यापारिक केन्द्रजस्तो सञ्चालन भइरहेको प्रष्ट पार्छ । सरकारी योजना छनोट, सम्झौता, र बजेट विनियोजन कार्यालयमा नभएर झोलाबाटै भइरहेको र योजना पास गराउन चाहनेहरूले मिश्राको सम्पर्क नम्वर नभेटेसम्म प्रक्रिया नै अघि बढ्न नसक्ने स्थिति छ ।
मिश्र जस्ता कर्मचारीको क्रियाकलापले नेपालमा सरकारी कार्यालयको औपचारिक संरचना केवल देखावटी मात्र हो ? भन्ने प्रश्न उठाउँछ ।
“सरकारी कर्मचारीहरूका लागि कार्यालय एक ’नाम मात्रको ठाउँ’ र होटल नै वास्तविक ’डिलिङ रूम’ बनेको हो ? गौरका पर्यटन कार्यालय सरकारी स्वामित्वमा छ कि हाकिम संजय मिश्राको व्यक्तिगत सम्पत्ति ?” गौरका एक स्थानीयले बताए ।
यस विषयमा सरोकारवाला निकाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, र प्रशासनले तत्काल छानबिन गर्नुपर्ने स्थानीयको माग छ । यदि संजय मिश्रा कार्यालय छोडेर होटल धाउँदै सरकारी योजनाको व्यापार गर्दैछन् भने, के अब भ्रष्टाचार नियन्त्रक निकायहरूले मिश्रालाई झोला सहित राजीनामा गराउनेछ कि झोलैमा मुद्दा मिलाउनेछन ? भन्ने प्रश्न उनीहरू गरिरहेका छन् ।