संघिय राजधानी काठमाडौंको तिनकुनेमा चैत १५ गते भएको प्रदर्शन हिंसात्मक मोड लिएपछि त्यसले मुलुकभर तरंग ल्याएको छ ।
प्रदर्शनको क्रममा एक पत्रकारको जीवितै जलाएर हत्या र एक प्रदर्शनकारी प्रहरीको गोली लागेर मृत्यु भएपछि मुलुक शोकमा डुबेको हो । सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिले आन्दोलनको स्वरूप र उद्देश्य दुवै प्रति गम्भीर प्रश्न उठाएको छ ।
यस घटनाप्रति गहिरो समवेदना व्यक्त गर्दै राष्ट्रिय एकता अभियानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा देखिएको हिंसाको लागि दुवै पक्ष—सुरक्षा संयन्त्र र प्रदर्शनकारीलाई जिम्मेवार ठहर गरिएको छ । अभियानका अनुसार शान्तिपूर्ण प्रदर्शनको मर्यादा नाघिएको र सुरक्षाकर्मीहरूबाट संयमको अभाव देखिएको स्पष्ट भएको छ । यस सम्बन्धमा निष्पक्ष अनुसन्धान र कानुनी कारबाहीको माग गरिएको छ ।
प्रेस विज्ञप्तिमा आन्दोलनलाई पूर्वराजा ज्ञानेन्द्रको समर्थनका रूपमा चित्रित गर्ने प्रयासप्रति आपत्ति जनाइएको छ । अभियानका अनुसार यो आन्दोलन जनताको गहिरो असन्तोष र गणतन्त्र पछिका १५ वर्षको विफलताको परिणामको प्रतिफल हो । बारम्बारको सरकार परिवर्तन, बढ्दो भ्रष्टाचार, बेरोजगारी र सामाजिक असमानताले जनता निराश बनेको उल्लेख गरिएको छ ।
राष्ट्रिय एकता अभियानले पूर्वराजाको हिन्दुत्व सँग जोडिएको छविप्रति पनि कडा टिप्पणी गरेको छ । विज्ञप्तिमा राजतन्त्रकालमा हिन्दू धर्मको संस्थागत क्षय भएको उल्लेख गर्दै पूर्वराजालाई हिन्दू संरक्षकको रूपमा चित्रण गर्नु ऐतिहासिक दृष्टिले गलत भएको बताइएको छ । पशुपतिनाथ मन्दिरको व्यवस्थापन देखि गुरुकुल शिक्षाको पतन सम्मका उदाहरण प्रस्तुत गर्दै अभियानले पूर्वराजालाई ’हिन्दू परम्पराको उपेक्षक’ को रूपमा चित्रित गरेको छ ।
अभियानले वर्तमान धर्मनिरपेक्ष राज्यबाट हिन्दू धर्म र परम्परालाई क्रमशः कमजोर बनाउँदै लगेको आरोप पनि लगाएको छ । जनसंख्याको ८१% हिन्दू रहेको मुलुकमा धार्मिक अनुष्ठान माथि उपेक्षा, मठमन्दिरमा हस्तक्षेप र हिन्दू संस्कारको अपमान गरिएको दाबी गरिएको छ ।
यसको समाधानको रूपमा राष्ट्रिय एकता अभियानले ’हिन्दू गणतन्त्र’ को अवधारणा प्रस्तुत गरेको छ—जसमा लोकतन्त्र कायम रहनेछ, तर राज्यले हिन्दू सांस्कृतिक आत्मालाई अंगिकार गर्नेछ । अभियानका अध्यक्ष विनय यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा हिन्दू गणतन्त्रले धार्मिक जबर्जस्तीलाई अस्वीकार गर्दै सहिष्णुता, पारदर्शिता र सांस्कृतिक चेतनायुक्त राज्य प्रणालीको निर्माणमा बल दिने दाबी गरिएको छ ।
अन्त्यमा अभियानले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संस्था, युवा र आम नागरिकलाई ’आक्रोशलाई विवेकमा रूपान्तरण गर्न’ अपिल गरेको छ, र जनलहरलाई सही दिशा दिन साझा दायित्व भएको उल्लेख गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन