चन्द्रपुर (रौतहट), १ वैंशाख । रौतहट जिल्लाको उत्तरी भेग जो पुर्व पश्चिम राजमार्ग संग जोडिएका चन्द्रपुरमा ग्राहकलाई रिसोर्टको नामबाट आकर्षीत गराउन खुलेआम यौनधन्धाको कारोवार संचालनमा रहेको गम्भीर आरोप यतिखेर लागेका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्वर ५ चिडियादह स्थित मुख्य राजमार्ग संग टासिएका जगत रिसोट एण्ड रिक्रियशनमा ग्राहकलाई आकर्षित गराउन “स्पा, मसाज” सहितका सुविधाको आडमा खुलेआम यौन व्यवसायको कारोवार संचालन गरेको आरोप स्थानीयहरुले लगाएका हुन् ।
मिडिया रिपोर्टका अनुसार, एक वर्ष अघि देखि संचालनमा रहेका उक्त रिसोट एण्ड रिक्रियशनले देश र विदेशका विभिन्न स्थानबाट यौन धन्दामा संलग्न युवतीहरुलाई बोलाएर भारतीय र स्थानीय ग्राहक लोभ्याउदै यौनधन्दा सञ्चालन गर्दै आएको बताएको छ । उक्त रिसोट एण्ड रिक्रियशनमा आउने अधिकांश ग्राहकहरू भारतीय नागरिक रहेको र उनीहरूका लागि विशेष व्यवस्था गरिएको मिडिया रिपोर्टका दाबी छ ।
मसाजको नाममा सो होटलले ग्राहकको बडी टु बडी मसाज गरेर यौन धन्दा सञ्चालन गर्दै आएको गुनासो छ । रिसोट एण्ड रिक्रियशनमा भईरहेका यस्ता गतिविधिका कारण स्थानीय समाजमा नराम्रो असर पर्न सकिने सम्भावित खतरालाई मध्य नजर राख्दै सर्वसाधारणहरु आक्रोशित बनेका छन् ।
गएराति अर्थात आइतबार राति सोही होटलमा एक भारतिय नागरिकले स्वीमिङ पुलमा बन्दुक देखाएर बसेको भिडियो सार्वजनिक भएपछि भित्रको रहस्य खुल्दै गएको छ । सो भिडियो सार्वजनिक भएपछि होटल सञ्चालक माथि चौतर्फी आलोचना सुरु भएको छ । स्थानीयहरूका अनुसार, गैर नेपाली नागरिकले खुल्मखुल रुपमा हतियार प्रदर्शन गर्नु स्थानीय प्रहरी प्रशासनले गर्दै आएको दाबीको पोल खोलिदिएको छ ।
स्थानीय सञ्चारकर्मी एवं अधिकारकर्मीले हतियार देखाउने ती भारतीय नागरिक विरुद्ध प्रहरी टोलीले छानबिन गर्दा सो सक्कली हतियार नभई खेलौना बन्दुक रहेको र त्यसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको डिएसपी राजकुमार राईले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
प्रहरीको दाबी प्रति स्थानीयहरुले विश्वास गर्ने आधार छैनन् । उनीहरूको भनाइमा, आर्थिक मन्दीको असरसँगै राजमार्ग क्षेत्रमा रहेका ठूलो लगानीका होटलहरूले यौनधन्दा बढाउन थालेका छन् । साना होटलहरूमा प्रहरीले चाँडो निगरानी गरे पनि ठूलो लगानीका होटल प्रति बेवास्ता गर्दा यस्ता गतिविधि मौलाएको गएको छ ।
चन्द्रपुरमै रहेका अन्य ठूला ठूला होटलहरुमा यस्ता अबैध धन्धा संचालन भईरहदा पनि प्रहरीको निगरानी शुन्य रहेको पाइएका छन् । श्रोतका अनुसार ठूला होटलमा हुने यस्ता अबैध गोरखधन्धा स्थानीय प्रहरीकै सेटिंगमा हुने गरेको छ ।
सानालाई ऐन ठूलालाई चैन भने झै साना होटलहरुमा प्रहरीको छापा पर्नु तर ठूला होटलमा नपर्दा कतै होटल र सुरक्षाकर्मीहरुको बीच अबैध सेटिंग रहेको त छ्रैनन् प्रश्न उठ्नु स्वभाविकै हो ।