अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि विश्वमञ्चमा देखा परेको तरंगको असर नेपाल सम्म परेको छ ।
नेपाल दुई ठूला महाशक्ति राष्ट्र भारत र चीनको बीचमा अवस्थित रहेपनि दुबै प्रतिको दृष्टिकोर्णमा सकारात्मक नरहदा उक्त असर पर्नु स्वभाविकै हो । दुवै छिमेकीसँग नेपालको सम्बन्ध उस्तै विशिष्ट र उत्कृष्ट खालको छ । तर दक्षिणी मित्र राष्ट्र भारत संगको सम्बन्धमा भने पछिल्लो समयमा निकै चिसोपना आएको राजनीतिक वृत्तमा विश्लेषण एवं चर्चा परिचर्चा भइरहेको छ ।
प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओली निर्वाचित भएपछि भारतसँगको सम्बन्ध सुमधुर हुन नसकेको टिप्पणी भइरहेको छ । राजनीतिक घटनाक्रमले पनि त्यस्तै संकेत गरिरहेका छन् ।
नेपालमा प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै जुनसुकै प्रधानमन्त्रीको पहिलो प्राथमिकतामा भारतको भ्रमण गर्ने प्रचलन कायम रहेका थिए तर ओली नेतृत्वमा सरकार गठन भएको नौ महिनासम्म ओलीलाई भारतले औपचारिक निमन्त्रणा नगर्नु जस्ता संकेतबाट कति हद सम्म सम्बन्ध चिसिएको छ त्यसको वर्णन गर्न साध्य छैन । राजनीतिक वृत्तमा चलेको विश्लेषणबाट कूटनीतिज्ञहरुका अनुसार वर्तमान सत्ता गठबन्धनका नेतृत्वकर्ता प्रधानमन्त्री ओली सँग भारत खुसी छैनन् ।
यसविषयमा सबैका आ–आफ्नै खाले अड्कल छन् । कतिपय विश्लेषकले ओलीको अघिल्लो कार्यकालमा ल्याइएको चुच्चे नक्सा, ओलीले ‘सत्यमेव जयते’ सम्बन्धमा भारतप्रति लक्षित गरी दिएको टिप्पणी त कतिले २०७२ सालमा भारतले लगाएको नाकाबन्दी पछि ओलीले लिएको अडान, ईपीजीको प्रतिवेदन र सीमा विवाद लगायतका कारण देखाउँछन् ।
तर भारतीय पक्षद्वारा पछिल्ला गतिविधिले नेपाल संग भारत प्रसन्न नरहेको प्रस्टसँग देखाउँछ ।
२०८१ सालमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई पटक भेटवार्ता भयो । तर पनि सम्बन्धमा सुधार हुन नसकेको नेपाल–भारत सम्बन्धका बारेमा जानकारहरूको टिप्पणी छ । पहिलो असोज महिनामा अमेरिकाको न्यूयोर्कमा र दोस्रो, थाइल्यान्डको बैंककमा भेट भएपनि सम्बन्ध सुधारको कुनै छाँटकाँट देखिएको छैनन् । संयुक्त राष्ट्रसंघको महासभाको बैठकका बेला न्यूयोर्कमा उनीहरुबीच पहिलो भेटवार्ता भएको थियो । चैतमा बिमस्टेक शिखर सम्मेलनको साइडलाइनमा उनीहरुबीच बैंककमा भेटवार्ता भएको थियो, चैत २२ गते । भेटपछि सामाजिक सञ्जाल एक्समा भारतीय प्रधानमन्त्री मोदीले भेटवार्ता फलदायी भएको बताए । उनले नेपालसँगको सम्बन्धलाई भारतले प्राथमिकता दिएको पनि दाबी गरे ।
“बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ । हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल ग¥यौं,” मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका थिए ।
भेटवार्ता सकिएपछि प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जाल एक्समा भारतीय समकक्षीलाई ‘प्रिय मित्र’ भनेर सम्बोधन गरे । भेटवार्ताबाट आफु खुसी भएको उनले जनाए ।
प्रधानमन्त्री ओलीले समाजिक सञ्जाल एक्समा लेखेका थिए, “मेरा प्रिय मित्र, प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो । हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो । यस आत्मीय भेटवार्ता प्रति म खुसी व्यक्त गर्दछु ।”
कूटनीतिमा स–साना व्यवहार र शब्दले विशेष अर्थ राख्ने पूर्वराजदूत दिनेश भट्टराईको बुझाइ छ ।
“हाम्रो प्रधानमन्त्रीले मोदीलाई सम्बोधन गर्दा ‘जी’ र ‘श्री’ लगाउनु भएको छ । तर मोदीले सामाजिक सञ्जालमा हाम्रो प्रधानमन्त्रीलाई सम्बोधन गर्दा ‘जी’ र ‘श्री’ नलगाइ सिधै प्रधानमन्त्री केपी शर्मा ओली भनेका छन्,” सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दुवैको विदेश मामिला सल्लाहकार समेत रहेका भट्टराईले मिडिया रिपोर्ट सँग कुरा गर्दै भने, “यसले भेटवार्ता सकारात्मक भए जस्तो देखिँदैन ।”
यसले पनि दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण नदेखिएको उनको टिप्पणी गरे । “नेपाल र भारत घनिष्ट मित्र र महत्वपूर्ण छिमेकी हुन् । तर पछिल्ला दिनहरूमा दुई देशबीचको सम्बन्धमा जुन न्यानोपना र आत्मियता हुनुपथ्र्यो त्यो देखिँदैन,” उनले भने । मोदीले ओलीलाई नरुचाएको अहिले होइन । यसको सुरुवात २०७२ सालबाट भएको थियो ।
नेपालले नयाँ संविधान जारी गरेकोमा असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाएपछि तत्कालीन प्रधानमन्त्री (हालका पनि) ओलीले त्यसको सामना गरेका थिए । नाकाबन्दी नहटाएसम्म भारतको भ्रमण नगर्ने अडान ओलीले लिएका थिए । भनेजसरी नै ओली भारतले नाकाबन्दी हटाएपछि मात्र भारत भ्रमणमा गएका थिए ।
त्यसपछि कालापानी, लिपुलेक र लिम्पियाधुरामा रहेको सीमा विवादलाई ओलीले उठाए । उनले भारतले नियन्त्रणमा राखेका ती भूमिलाई समेटेर चुच्चे नक्सा समेत जारी गरे । संविधान संशोधन गरी चुच्चे नक्सालाई संविधानमा समावेश गरे । चुच्चे नक्सा समेटेर नयाँ नोट छाप्ने प्रक्रिया अघि बढाए । ओलीका यी सबै कार्यलाई भारतले रुचाएको थिएन ।
“पछिल्लो चिनियाँ महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) यसमा थपिएको छ,” पूर्वराजदूत भट्टराईले भने । नेपालले बीआरआई सम्झौतामा हस्ताक्षर नगरोस् भन्ने भारतको चाहना थियो । पछिल्ला वर्षहरूमा नेपालमा चिनियाँ प्रभाव ह्वात्तै बढेको बुझाई भारतको छ । बीआरआई त्यसैको विस्तारित रुप भएको ठम्याइ भारतको छ ।
२०८१ मंसिरमा प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्दा ‘बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क’ सम्झौतामा नेपाल र चीनबीच हस्ताक्षर भयो । यसले झन् ओलीप्रति हेर्ने भारतीय दृष्टिकोण नकारात्मक बनाइदिएको बुझाई पूर्वराजदूत भट्टराईको छ । तर कतिपय विश्लेषक भारतसँगको सम्बन्धमा केही व्यक्तिले अनावश्यक चर्काउने प्रयास गरेको बताउँछन् ।
कुनै पनि छलफलका एजेन्डा नहुने हो भने प्रधानमन्त्री तहको भ्रमण आवश्यक नहुने उनीहरुको तर्क रहँदै आएको छ ।
भारतमा पनि चर्चा छ ओली–मोदी सम्बन्धको
नेपाल र भारत दक्षिण एशिया क्षेत्रका त्यस्ता क्षिमेकी देशहरु हुन जो सामाजिक, धार्मिक तथा साँस्कृतिक हिसाबले समान छन् । एक अर्काका लागि दुवै देशका सिमाहरू खुला छन् । दुवै देशका नागरिकहरु एक अर्को देशमा सजिलै आवत जावत गर्न सक्छन् । एक अर्को देशका नागरिकहरू बीचको सम्बन्ध झन् घनिष्ठ छ ।
तर, राजनीतिक र कुटनीतिक स्तरमा भने एक अर्को देश बीच बेला बेलामा उतारचढाव आइरहन्छ । मोदी र ओलीबीच बैंककमा भएको वार्तापछि पनि सम्बन्धमा सुधार नभएको भारतीय मिडियामा चर्चा छ । प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच ४५ मिनेट लामो ‘वान टु वान’ वार्ता भयो ।
त्यो वार्तापछि भारतीय सञ्चारमाध्यमहरूले उच्च महत्वका साथ स्थान दिएका छन् । मोदी र ओलीबीचको भेटघाटको बिषयमा समाचार, विश्लेषण तथा लेखहरु प्रकाशित भए । भारतका मूलधारका प्रायः सबै संचारमाध्यमहरूले उक्त भेटका बारेमा फरक फरक तरिकाले टिप्पणी गरे ।
भारतको एशियन न्युज इन्टरनेशनल (एएनआई), प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई), द हिन्दुस्तान टाइम्स, समाचार संस्था आईएएनएस र द प्रिन्ट अनलाइन, द इन्डियन एक्सप्रेस लगायतका सञ्चारमाध्यमहरुले भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा दुवै देशका प्रधानमन्त्रीहरुका सामाजिक संजालमा लेखिएका स्टाटसलाई उद्धृत गर्दै समाचार तयार पारेको थियो ।
हिन्दुस्तान दैनिकको अप्रिल ४ मा प्रकाशित समाचारमा दुई प्रधानमन्त्रीबीचको ‘वान टु वान’ वार्तामा खुला छलफल भएको उल्लेख गरेको छ ।
भारतीय परराष्ट्र मन्त्रालयको विज्ञप्तिलाई उद्धृत गर्दै भारतको छिमेकी प्रथम नीतिको अन्तर्गत नेपाल एक प्राथमिक साझेदार भएको र दुई देशका नेताहरूबीच भएको भेटले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई कायम राखेको उल्लेख गरेको छ ।
साथै काठमाडौंसहित देशका विभिन्न स्थानमा राजावादी समूहले देखाएको हिंसात्मक प्रदर्शनमा भारतको संलग्नताको सम्भावना बारे चिन्ता व्यक्त गरेको खबरको पृष्ठभूमिमा मोदीले नेपालको लोकतन्त्र प्रति भारतको प्रतिवद्धता स्पष्ट पारेको भनेर पनि उल्लेख गरिएको छ ।
यसैगरी अप्रिल ४ मा प्रकाशित समाचार संस्था आइएएनएस, द प्रिन्ट, बाबुशाही अनलाइन, द पायोनियर, डेक्कन हेराल्ड, हिमालयन हेराल्ड, द इकोनोमिक टाइम्स, एएनआई, पीटीआई आदिमा प्रकाशित समाचारमा पनि दुई देशका शीर्ष नेताबीचको भेटघाटलाई सकारात्मक कदम भनेर समाचार बनाएको छ ।
भारतको एएनआईले अप्रिल ५ को काठमाण्डु डेटलाइनमा लेखिएको समाचारमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदी बीच ‘वान टु वान’ वार्तालाई ‘फलदायी र मित्रतापूर्ण’ भनेर उल्लेख गरेको छ ।
वार्ताका क्रममा द्विपक्षीय हितका विभिन्न विषयहरू जस्तैः लगानीका क्षेत्र, व्यापार र पञ्चेश्वर परियोजना, दोधारा चाँदनीमा महाकाली नदीको पानीको सिंचाइ र द्विपक्षीय हितका विभिन्न विषयहरूमा कुराकानी भएको उल्लेख छ ।
भारतका स्वराज्यमाग र एसिया न्युज नेटवर्क जस्ता सञ्चार माध्यमहरुले भने प्रधानमन्त्री ओली र मोदीबीचको छलफल सकारात्मक हुन नसकेको उल्लेख गरेका छन् ।
एसिया न्युज नेटवर्कले प्रधानमन्त्री ओली बिमस्टेक सम्मेलनबाट स्वदेश फर्केको भोलिपल्ट हिमालयन संवादको उदघाटनका बखत सम्बोधनका क्रममा बोलेको भनाइलाई उद्धृत गर्दै प्रधानमन्त्री ओली र मोदीबीचको छलफल राम्रो हुन नसकोको उल्लेख गरेको छ ।
हिमालयन संवादको उदघाटनको अवसरमा प्रम ओलीले ‘विदेश सम्बन्ध युक्ति संगत राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने’ भन्दै ‘एउटा छिमेकीले अर्को छिमेकीको खेतमा लगाएको धान लुट्ने उद्देश्य राख्नु नहुने र त्यस्तो उद्देश्य राख्नेलाई छिमेकी भन्न नमिल्ने’ बताएका थिए ।
हिमालयन संवादको सो कार्यक्रममा उपस्थित धेरै सहभागीहरूले प्रधानमन्त्रीको भाषणमा छिमेकीसँगको असन्तुष्टि समावेश भएको अभिव्यक्ति सुनिसकेपछि ओली र मोदीको बैंककमा भएको भेट सफल नभएको अनुमान लगाएको भनेर बताएको समाचारमा उल्लेख छ ।
नेपालका एक विदेश नीति विज्ञले एसिया न्युज नेटवर्कलाई बताएअनुसार मोदीसँगको भेट राम्रो भएको भए केपी ओलीले निश्चित नै मोदीको प्रशंसा गर्दै भेटका बारेमा टिप्पणी गर्ने थिए भनी उल्लेख छ ।
यसैगरी भारतको स्वराज्यमाग अनलाइनले भारतको विदेश मन्त्रालयका एक उच्च अधिकारीलाई उद्धृत गर्दै प्रधानमन्त्री ओली र मोदीको भेटघाटको पूर्वसन्ध्यामा एउटा समाचार लेख्दै प्रधानमन्त्री ओलीसँगको भेटमा ‘नेपाल र भारतबीचको काल्पनिक सीमा विवादको बहस बन्द गर्न मोदीले ओलीलाई आग्रह गर्ने तयारी गरेको’ उल्लेख गरेको थियो ।
यसबाहेक भारत भन्दा बाहिरको तर एसिया तथा प्रशान्त क्षेत्र केन्द्रित एक अनलाइन पत्रिका द डिप्लोम्याटले अप्रिल ७ मा एक लेख प्रकाशित गर्दै प्रम ओलीको भारतीय समकक्षी मोदीसँगको भेट सकारात्मक भन्न नसकिने आसय व्यक्त गरेको छ ।