सर्लाही, ४ वैंशाख । सर्लाही जिल्लाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने नाढीमन तालको संरक्षण र समग्र रुपमा विकासको माग गर्दै चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापनपत्र मार्फत गाउँपालिका अध्यक्ष महतोले महाभारतकालीन यक्ष दहका रूपमा चिनिने नाढीमन तालको ऐतिहासिकता उजागर गरेर प्रदेश सरकारले यसलाई प्राथमिकताको सूचीमा राख्नुपर्ने आवश्यकता औंल्याएका हुन् । उनले नाढीमन ताल न केवल सांस्कृतिक सम्पदा हो, तर यसले मधेशको पर्यटन प्रवद्र्धन, कृषि सिंचाइ, वातावरणीय सन्तुलन र स्थानीय रोजगारीमा समेत उल्लेखनीय भूमिका खेल्न सक्ने बताए ।
“मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा नाढीमन ताललाई राष्ट्रिय गौरवको आयोजना अन्तर्गत समावेश गरे तापनि यसको विकास र सौन्दर्यीकरणका लागि अझै ठोस पहल नभएकोमा चिन्ता व्यक्त गर्नुपरेको हो,” अध्यक्ष महतोले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
अध्यक्ष महतोका अनुसार तालको समुचित संरक्षण र भौतिक पूर्वाधार विस्तारका लागि स्थानीय तहको स्रोत मात्र पर्याप्त नहुने र यसका लागि अरबौं रुपैयाँ बराबरको लगानी आवश्यक रहेको छ । उनले प्रदेश सरकार सँगै संघीय सरकारबाट पनि विशेष सहकार्य र बजेटको सुनिश्चितता गरिनुपर्ने माग राखे ।
ज्ञापन पत्रमा नाढीमन तालसँग सम्बन्धित अन्य साना तालतलैया, धार्मिक स्थलहरू, नदी–नाला तथा भूमिहीन दलित समुदायको व्यवस्थापन गरी समग्र क्षेत्रमा समृद्धि ल्याउन सकिने सम्भावनाको पनि चर्चा गरिएको छ ।
‘नाढीमन तालको संरक्षण हाम्रो साझा जिम्मेवारी हो,’ अध्यक्ष महतोले भने, ‘यसलाई आधुनिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर नेपाल, भारत र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने अवसर हामीले चुकाउनु हुँदैन ।’
ज्ञापन पत्रमार्फत उनले नाढीमन तालको मौलिक शैलीमा पुनर्निर्माण, हरित विकास र सौन्दर्यीकरण गरी यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न प्रदेश सरकारबाट तत्काल पहलको माग गरे ।