बलरा (सर्लाही) । सर्लाहीको बलरा नगरपालिकामा तेस्रो संस्करणको मेयर कप अन्तर्गतको अन्डर–१९ क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
बलरा नगरपालिका वडा नम्बर ८ स्थित श्रीजनता नमुना माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
संविधान सभा सदस्य शिवपुजन यादव र बलरा नगर प्रमुख रामाशंकर कुशवाहाले एक विशेष कार्यक्रमबीच संयुक्त रुपमा उदघाटन गरे । बलरा नगरपालिकाको ११ वटा वडाका टिमहरु सहभागी रहने प्रतियोगिता १० दिन सम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित पूर्व संविधानसभा सदस्य माननीय शिवपुजन रायले मेयर कपले नगरभित्रका क्रिकेटप्रेमी युवाहरूको मनोबल वृद्धि गर्ने विश्वास व्यक्त गरे । उनले खेल क्षेत्रबाट भविष्य निर्माण गर्ने अवसर यस प्रतियोगिताले युवालाई दिने बताए ।
नगर प्रमुख कुशवाहाले आफू निर्वाचित भएदेखि नै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै पहिलो वर्ष देखि मेयर कप सुरु गरिएको जानकारी दिए । “पहिलो संस्करणमा टेनिस बल, दोस्रोमा डिउज बल प्रयोग गर्यौं । यस पटक तेस्रो संस्करणलाई अन्डर–१९ को रूपमा आयोजना गरिरहेका छौं,” मेयर कुशवाहाले भने ।
उनका अनुसार अन्डर–१९ प्रतियोगिताको माध्यमबाट प्रतिभावान खेलाडीहरूलाई जिल्ला, प्रदेश तथा राष्ट्रिय लिग खेल्ने अवसर प्राप्त हुनेछ । क्यानका जिल्ला तथा प्रदेश पदाधिकारीसँगको समन्वयमा आगामी दिनमा जिल्लाको सबै २० वटै स्थानीय तहलाई समेट्ने गरी ठुलो स्तरको क्रिकेट प्रतियोगिता आयोजना गर्ने योजना रहेको समेत उनले खुलासा गरे ।
चालु आर्थिक वर्षमै खेल मैदानलाई थप व्यवस्थित गर्दै कम्तीमा १ हजार दर्शक बस्न मिल्ने पेवेलियन (पैराफिट) निर्माण गर्ने तयारी गरिएको समेत जानकारी गराए ।
नगरका सबै ११ वडाबाट उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरूको छनोट गरी बलरा नगरका १५ खेलाडीको टिम निर्माण गरिने र सो टिमले रामनगर गाउँपालिका सँग रात्रिकालीन खेल खेल्ने योजना समेत मेयर कुशवाहाले बताए ।
उनले प्रतियोगितामा सबै टिम र खेलाडीलाई समान व्यवहार गरिने, कुनै किसिमको भेदभाव नहुने स्पष्ट पार्दै सबैलाई अनुशासनमा रहेर खेल खेल्न आग्रह गरे ।
मेयर कपको उदघाटन खेल वडाहरू ४ र ५ बीच खेलिएको थियो । वडा–५ ले दिएको ७३ रनको लक्ष्य वड–४ ले ९.३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको थियो । प्रतियोगितामा एस.के. कुशवाहाले कमेन्ट्री गरेका थिए भने विवेक शर्मा र विकेश मण्डल अम्पायरको भूमिकामा थिए ।