छोरी अलका ठाकुरलाई न्याय दिलाउन रामकिशोर ठाकुर र आमा अनिताकुमारी ठाकुरद्वारा शुक्रवार गरुडामा पत्रकार सम्मेलन
गरुडा (रौतहट), ५ वैंशाख । रौतहटको गढीमाई नगरपालिका वडा नम्वर ४ सग्राम्पुर पर्सा घर भएका रामकिशोर ठाकुर र निजको श्रीमती अनिताकुमारी ठाकुरले शुक्रवार गरुडामा पत्रकार सम्मेलनको माध्यमबाट छोरी अलकालाई न्याय दिलाउन संचारकर्मी संग गुहार लगाए ।
नयाँ बर्षको दिन अर्थात गएको सोमवार दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी स्थित ससुराली घरमा विहान साढे ९ बजेको समयमा ३५ बर्षीय अलका ठाकुर झा पंखामा साडीको पातलो कोरले बनाइएको पासो लगाएको अवस्थामा फेला परेकी थिइन् ।
२०७६ साल जेठ ५ गते रामकिशोर ठाकुरले छोरी अलकाको मत्सरी निवासी प्रेमनारायण झाको कान्छो छोरा संजीव झा संग मागी विवाह सम्पन्न भएका थिए । रामकिशोरले प्रेमनारायणको जेठा छोरा राजिव झा संग विहेको कुरा छिनाएपनि राजिव अर्कै युवती संग प्रेम प्रसंग एवं विवाह गरेको हुँदा कान्छो छोरा संजीव संग अलकाको विहेवारी गरेको रामकिशोरले पत्रकार सम्मेलनमा भने ।
विना दाइजोको विहे भएपनि उक्त विहेको जन्तीमा धेरै भिभिआइपीहरु आएको हुँदा तथा माग अनुसारको सामान दिदा बिहेमा साढे २२ लाख रुपैया खर्च भएको पीडित ठाकुरले दाबी गरे । केटो जापानमा इन्जिनियर रहेको बुझिएकोले दिल खोलेर खर्च गर्न कुनै दुविधा भएन । केही महिनापछि ज्वाईँले गाडी किन्छु भनेपछि साढे तिन लाख रुपैया पनि कोजाग्रत पूर्णिमाको दिन ज्वाईँको हातमा थमाएको ठाकुरको भनाइ छ । उक्त सबै कार्य पुख्यौंली जग्गा विक्री गरेर ज्वाईको इच्छालाई पुरा गरेको उनले पत्रकार सम्मेलनमा भने ।
बिहे भएको करिव ६ वर्ष वितिसक्दा समेत विवाह दर्ता गराएन र ज्वाईँ जापानमा बस्दा खासै राम्रो सम्बन्ध नहुँदा छोरीले एउटा इन्स्योरेन्स कम्पनीमा काम गरेर जिवकोपार्जन चलाउदै आएकी थिइन् । श्रीमान र उनको घर परिवारबाट अपहेलित भए पनि घरपरिवारमा मिलेर बस्ने र सबैलाई सहयोग गर्ने छोरी अलका ठाकुरको राम्रो बानी भएको कारण गत वर्षमात्र छोरीले ज्वाईँलाई ७ लाख रुपैया दिएकी थिइन् । तर सबैतिर अपहेलनाको शिकार हुँदै जाँदा छोरी अलका ठाकुर डिप्रेसनको शिकार पनि बन्न पुगिन् ।
अलकाको भाइ मनमोहन ठाकुरले पत्रकार सम्मेलनमा भने – डिप्रेसन पनि पूर्णतया ठीक भइसकेको चिकित्सको सम्पूर्ण रिपोर्टले बताउँछ । दिदीले औषधि सेवन गर्न छोडिसक्नु भएको थियो ।
नयाँ बर्ष बैसाख १ गते घरमा सबैले पूजापाठ गर्दै खुसियाली मनाइरहेको बेला ज्वाईँले गरेको फोनबाट झस्केका ठाकुरले गौर नगरपालिकाको सिसवा गाउँमा रहेको आफन्तलाई तुरुन्त फोन गरेर घटनाबारे बुझ्न पठाउँदा छोरी अलका ठाकुर घरको पंखामा झुन्डिएर मरेको अवस्थामा रहेको र प्रहरी तथा आफन्तले सबैतिरबाट घेरेको बताउँदा उनी पूरै बेहोस् भएका थिए ।
प्रहरीले घटनास्थल मुचुल्का उठाई पोस्टमार्टमको लागि अस्पताल पठाउन लाग्दा ठाकुर परिवारले गौरमा पोस्टमार्टम नगरी काठमाडौँमा गर्ने अडान लिएपछि बाध्य भएर प्रहरीले मृतक अलका ठाकुरको भाइ मनमोहन ठाकुरको जिम्मा दिई काठमाडौँ पठाएको थियो ।
काठमाडौँमा मृतकको शव बुझ्ने पनि भाइ मनमोहन नै हुन् । मृतकको शव रौतहटको यमुनामाई गाउँपालिकाको शुकदेव चोक ल्याएपछि तिन ट्रक प्रहरीले घेरा हाली बलजफ्ती मत्सरीका आफन्तलाई बुझाएको ठाकुरले प्रहरी माथि गम्भीर आरोप लगाए ।
पत्रकार सम्मेलन मै मृतक ठाकुरका पिता रामकिशोर ठाकुर र आमा अनिताकुमारी ठाकुरले भक्कानिएर रुँदै भने – अस्पतालमा लास बुझ्ने मेरो छोरोलाई सद्गति गर्न नदिई प्रहरीले लास खोसेर मत्सरीका मानिसलाई बुझाए, लास दिन नखोज्दा उल्टै लाठी चार्ज गर्न खोज्यो, प्रहरीकै अगाडी मत्सरीमा आफू सहित छोरालाई केही व्यक्तिहरु कुट्न लगायो तर प्रहरीले रमिता हेर्नमा मात्रै मस्त रहे अहिले सम्म तिनीहरुलाई नसमातिनु नै कानुनी राज्यको उपहास भएको उनले ठहर गरे ।
जसले बिहे भएको ६ वर्षसम्म छोरीको विवाह दर्ता गराएको थिएन, सोही परिवारसित मिलेर प्रहरीले हामीमाथि अत्याचार गर्यो, के यस्तै प्रहरी हुन्छ, यदी यस्तै प्रहरी हुन्छ सर्वसाधारणहरु कसरी न्याय पाउन सकिन्छ उनले प्रहरी माथि गम्भीर प्रश्न चिन्ह् खडा गरे ।
मृतक छोरीको मृत्यु भएको अवस्थाको फोटोसमेत खिच्न नदिएको आरोप ठाकुरको छ । ठाकुरले भने –“झा परिवारले मिलेर छोरीको हत्या गरी झुन्ड्याएको हो ।”
“अहिलेसम्म प्रहरीले हाम्रो निवेदन पनि लिन मानेको छैन । पोस्टमार्टम रिपोर्ट नआएसम्म जाहेरी नलिने प्रहरीको भनाइ रहेको छ” ठाकुरले दुखेसो पोखे ।
यस विषयमा रौतहट प्रहरीका एसपी दिलिप घिमिरेले पोष्टमार्टम रिपोर्ट आएपछि सोही आधारमा जाहेरी लिने बताए । अहिले जाहिरी लिएपनि पोष्टमार्टम रिपोर्ट अर्कै आएमा एक पक्ष त अन्याय मा पर्ने भएको हुँदा रिपोर्टको प्रतिक्षा गरौं त्यसपछि जाहेरी लिउला उनले भने ।