रौतहट, १२ वैंशाख । गौर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखा स्थापनाको माग गर्दै शुक्रवार छैंठो दिन पनि व्यापारी एवं व्यवसायीहरु धर्ना प्रदर्शन कार्यलाई निरन्तरता दिएका छन् ।
स्थानीय अगुवा व्यापारी व्यासायी कौशल साहको नेतृत्वमा व्यवसायीहरु आज छैंठो दिन १२ बजे देखि २ बजे सम्म गौर भन्सार कार्यालयको मुख्य गेटमा धर्ना प्रदर्शन कार्यक्रमलाई जारी राखेका हुन् ।
रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवालले व्यापारी व्यवसायीहरुको उचित मागलाई राज्यले बेवास्ता गरिरहदा आफूहरु व्यापारी व्यवसायीकै हितमा काम गर्ने भएको हुँदा धर्ना प्रदर्शनमा एक्युबद्धता जनाउदै धर्नामा बसेको बताए ।
प्लान्ट क्वारेन्टिन खाद्यान्न परिक्षण गर्ने कार्यालयको अभावमा यहाँका व्यापारीहरुलाई मलंगवार र वीरगञ्जको बाटो भएर प्याज, आलु, फलफुल, चामल लगायतका खाद्यान्न सामाग्री ल्याउदा चर्को ढुवानी खर्चका कारण महगो हुँदा व्यापार गर्न चुनौती रहेको हुँदा गौर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखा अनिवार्य रुपमा स्थापना गरेर यहाँ खेर गईरहेका राजस्वलाई सदुपयोग गर्न समेत संघका अध्यक्ष जयसवाले सम्बध निकायको ध्यानाकर्षण गराए ।
अगुवा व्यापारी व्यवसायी कौशल साहले २०३३ सालमा स्थापना भएको गौर भन्सार कार्यालयमा विगतका बर्षहरुमा प्लान्ट क्वारेन्टिन खाद्यान्न सामानहरु निर्वाध रुपमा आईरहदा पनि केही महिना देखि यहाँका व्यापारीहरुलाई बीरगञ्ज र मलंगवा भएर खाद्यान्न सामानहरु ल्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको हुँदा गौर भन्सार कार्यालयमा अविलम्ब प्लान्ट क्वारेन्टिन खाद्यान्न कार्यालयको स्थापनाको माग गर्दै व्यापारीहरु आन्दोलित भएर आज छैंठो दिन धर्नामा बसेको गुनासो पोखे ।
चैत ३१ गते भन्सार कार्यालय प्रमुख मार्फत अर्थमन्त्रिलाई ज्ञापन पत्र बुझाएको जानकारी दिदै व्यापारी साहले वैंशाख ७ देखि १५ गते सम्म धर्ना प्रदर्शनबाट सुनवाई भएन भने आउदो वैंशाख १६ गते गौरका बजार क्षेत्र बन्द गराएर भन्सार कार्यालयमा अनिश्चितकालिन ताला लगाउने चेतावनी दिए ।