प्रभातकुमार झा
सिर्जनशिल काम गरेर समाजको मुहार फेर्ने कार्यमा सहायक भुमिका निर्वाह गर्ने क्षेत्रको रुपमा प्रख्यात रहेका पत्रकारिता जगत पछिल्ला समयमा निकै महत्वाकाँक्षी र स्वार्थपूर्ण बन्दै गएको देखिन्छ ? किन हो किन पत्रकारिताको आवरणमा निहित स्वार्थ पुरा गर्नेहरुको अचेल होडबाजी मचेको छ, जसको कारण जुन उद्देश्यका लागि यस क्षेत्रको आवश्यक्ता महसुस गरेर स्थापित गरियो त्यही क्षेत्रलाई नै बदनाम गराउने केही कुपात्रहरु दिनरात लागिपरेको छ ।
भनिन्छ, “पत्रकारिता क्षेत्र समाजको आइना हो, समाजमा लुकेका हरेक विकृतिलाई उजागर गरेर सुधारको पथमा विकसित गराउनमा पत्रकारिता क्षेत्रको आफनै पृथक भुमिका रहन्छ”, विकास निर्माण, अपराध न्यूनिकरण, स्वास्थ्य, शिक्षा, खानेपानी, कानुन व्यवस्था लगायत दर्जनौं विट रिपोटिंग गरेर समाचारको माध्यमबाट उक्त क्षेत्रमा आमूल परिवर्तन गराएर समाजसुधारमा पत्रकारिता क्षेत्रलाई उच्च मूल्याँकन गरिने गरिन्छ ।
नेपालको मधेश प्रदेशको रौतहट सहितका विभिन्न जिल्लाहरुमा अहिले पत्रकारिता भन्दा बढि चाटुकारिताको कारण पत्रकारिता क्षेत्र माथि विश्वास आम नागरिकहरुको उठ्दै गएका छन् । रौतहट सहितको आसपासका जिल्लाका पत्रकारितामा स्वार्थपूर्ण, व्यत्तिगत लाभ, राम्रालाई खराब, खराबलाई राम्रा लेखेर आफना उल्लुसिधा गर्नेहरुको अचेल विगविगी चलेको छ ।
पत्रकार भनाउनेहरु लहैलहैमा कमाइ खाने भाँडोको रुपमा प्रयोग गरिरहदा सध्य पत्रकारिता गर्नेहरु पनि बदनाम हुँदै गएको छ । यस क्षेत्रमा देखा परेका कुतत्व एवं खराब आचरण भएकाहरुलाई नियमन गर्न ठोस कानुन नहुँदा विकृतिले जडो गाडिसकेको छ । रौतहटमा भएका गलत क्रियाकलापलाई निर्धक्कका साथ लेख्नु पर्ने, सम्बध निकायको गलत आचरणलाई जनसमक्ष सार्वजनिक गराई सुधारको पक्षमा अघि बढ्नुपर्ने तर ति कार्यहरुबाट विमुख भई केही व्यक्ति विशेषको अन्धभक्ति गाएर गुनगान गाएर चाटुकारित गरेर समाजलाई हामी सध्य दिशामा लगिरहेको मिथ्या कुरा गर्नु सरह नै रहेको ठम्याई छ ।
गाउँ गाउँमा सिंहदरबारको आवधारण ल्याएर स्थानीय तहको स्थापना गरियो, जनताहरुलाई गाउँ घरमै छिटो छरितो एवं सहज रुपमा सेवा प्रवाह गराउन स्थानीय तहको अवधारणा ल्याइयो तर ठिक यसको दुरुपयोग भईरहदा चाटुकारिता गर्नेहरुको कमाई खाने भाडो बनेको छ । पार्दर्शी रुपमा काम हुने अडाहरुमा गोप्य सूचना प्रकाशित गराउने, व्यापारीहरु पनि गोप्य सुचनामै रम्ने, पत्रकारको आडमा केही व्यक्तिहरु दिनभरी जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको गुनगान गाएर आफनो स्वार्थ पुर्तीमा लिन छन् तर जुन उद्देश्यबाट स्थापित भएको यस व्यवस्थाबाट झन् जनताहरु आजिज भएको छ, यी सबै गलत तत्वहरु हावी भएको हुँदा चाटुकारिताको कारण यस क्षेत्रमा पत्रकारिता क्षेत्र बदनाम हुँदै गएको तथा जनविश्वास घट्दै गएको पाइन्छ ।
जनताहरुको कर, युवाहरुले विदेशबाट पठाएको रेमिटाँन्सबाट चलेको यो देशमा कार्यरत राष्ट्र सेवक कर्मचारीहरु सम्बध कार्यालयले तोकिएको जिम्मेवारी पुरा गरेर जनतालाई सेवा प्रवाह गर्नु हो, तर सेवाको आडमा आफनो वाह वाही गराउनमा तल्लिन रहदा दायित्व अनुसार सेवाभाव भन्दा पनि आफनै वाहवाही गराउनमा मरिहत्थे गर्नेहरुको पनि रजगज छ ।
हामी कसैको व्यक्तिगत स्वार्थ पुरा गराउने माध्यम होइन, हामी आम मानिस एवं समाज प्रति उत्तरदायी भएर बिना स्वार्थ अनवरत रुपमा कलम चलाई यहाँको समाजलाई सुधार गरेर आउने पुस्तालाई पत्रकारिता प्रति उत्साहित बनाउनुपर्ने देखिन्छ । यसका लागि निमयनकारी निकायले सुधारका लागि यथोचित पहल गरी हाबी हुँदै गएका चाटुकारितालाई समाप्त निर्मुल बनाई सध्य, स्वच्छ, तथ्यमा आधारित पत्रकारिता आजको आवश्यक छ ।