रौतहट, २५ वैशाख । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले तराई मधेशका जिल्लाहरुमा सशस्त्र प्रहरीको काम कारवाही माथि प्रतिनिधि सभामा आक्रोश पोखेका छन् ।
विहिवार प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै अध्यक्ष साहले तराई मधेशका सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको भस्मिकालाई लिएर प्रश्न उठाएका हुन् ।
हिजो बुधवार रौतहटको कटहरियामा सशस्त्र प्रहरीको टोलीले टेङगडहा निवासी अनुठा यादव र रामजिनिस साहजी कटहरिया बजारबाट फर्किरहेका थिए, तस्करलाई समातिने हाडबाजीमा सर्वसाधारणको मोटरसाईकललाई ठोकेर ध्वस्त बनाए ।
त्यसमा सवार दुई जनाको अहिले आईसियुमा उपचार भइरहेको छ । म गृहमन्त्रीलाई सोध्न चाहन्छु –यो घट्ना कसरी भयो ? सशस्त्र प्रहरीले किन यसरी ज्यादती गर्यो ? यो घट्नाको विषयमा सदनमा जानकारी गराउनुहोस । उपचार गराईरहेकाहरुलाई भेट्न कोही पनि गएकै छैन, सरकारलाई म भन्न चाहन्छु कि ती घाईतेहरुको उपचारको जिम्मा लिनुहोस । त्यस घट्नामा संलग्नहरुलाई कारबाही गर्नुहोस ।’ उनले सदनमा जोडदार रुपमा माग उठाए ।
पूर्वमन्त्री साहले सरकारका मन्त्रीहरु र अफिसरहरुलाई आफ्नो तलवले जीवन निर्वाह गर्न पुग्छ कि पुग्दैन ? भनेर प्रश्न पनि तेश्रयाए । उनले भने, ‘के तपाईंहरुको तलबले पुग्छ कि पुग्दैन ? तपाईंहरुको बुवा, बाजेहरुको सम्पत्तिले आफ्नो खर्च धान्न सक्नुहुन्छ कि हुँदैन ? यदि पुग्छ भने यसरी व्यक्तिको निजी सम्पत्ति किन खोस्नुहुन्छ ? भन्सार नबुझाएकै कारण त्यो चोरीको सामान हुन्छ भने आयकर नबुझाउनेहरुसँग पनि सामान खोस्नुहोस न ? सम्पत्ति लुकाउने र सम्पत्तिको कर नुबझाउनेहरुको पनि सम्पत्ति खोस्नुहोस न ? ठूलाबडाले कर लुकाउँदा त्यहाँ नखोस्ने ? अनि भन्सार नबुझाएकै नाममा दिनदहाडै डकैती गर्ने, लुट्ने र कमिशन बाँड्ने ? ४५ प्रतिशत कमिशनकै नाममा आज तराईका मान्छे दिनदाहाडै लुटिन बाध्य छन् र, उनीहरुको कोहीपनि सहारा छैन” साहले गम्भीर आवाज उठाए ।
किसानले आफ्नै पहलमा भारतबाट अत्यावश्यक सामग्री मलखाद्य ल्याउँदा पनि प्रहरी प्रशासनले दिनदाहाडै लुट्ने काम गरेकोमा पनि साहले आक्रोश पोखे । उनले थपे–‘अहिले किसानलाई मलखाद सरकारले दिँदैन, किसानले आफ्नै पहलमा भारतबाट मलखाद्य ल्याउँदा प्रहरी नाकामा कुरेर बस्छन् अनि लुट्छन ।
प्रहरीलाई म भन्न चाहन्छु–हत्यारालाई तपाईंहरु पत्ता लगाउन नसक्ने ? बच्चादेखि युवाहरुको जीवन बर्बाद भैरहेको विषय लागुऔषधको जालो तोड्न नसक्ने, यत्रो चोरी–डकैती बढिरहेका छन्, उनीहरुलाई समात्न नसक्ने ? दिनदाहाडै मोटरसाईकल चोरिन्छन्, मोटर खोलिन्छन्, ती चोर एउटा पनि पत्ता लगाउनुहुन्न, तर किसानको खाद समात्नुहुन्छ, नून, चिनी, तेल समात्नुहुन्छ, के ती सामान चोरीका सामान हुन र ?’
सिमा नाकामा जनताले ठूलो सास्ती भोगिरहनुपरेको उनको भनाई छ । उनले जनताको जिनी सम्पत्तिलाई चोरीको सामान जसरी खोस्ने कार्य भएको भन्दै आपत्ति जनाए । इमानदार प्रहरी अधिकारी भएको भए जनताको निजी सम्पत्ति लुट्दैनौं र आफूहरुलाई कमिशन चाहिँदैन भनेर भन्नसक्नुपर्ने साहको सुझाव छ ।