सर्लाही, ५ जेठ । विवाहिता महिलासंग प्रेम सम्बन्ध राखेको कारण सर्लाहीको चन्द्रनगर १ किसनपुरका अरविन्दकुमार पण्डितको हत्या भएको सर्लाही प्रहरीको सुक्ष्म अनुसन्धानबाट खुलेका छन् ।
हत्याको आरोपमा एक महिला सहित ६ जनालाई नियन्त्रणमा लिई सोमवार जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवामा सार्वजनिक गरिएका हुन् ।
आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसपी योगेन्द्रकुमार खड्काले २८ वर्षीय अरविन्दको विवाहित एक महिलासँगको प्रेम सम्वन्ध बसेका कारण हत्या महिलाका श्रीमान सहितका व्यक्तिहरुले योजनाबद्ध तवरबाट हत्या गरेको खुलासा उनले गरे ।
अरविन्दको हत्यामा संलग्न रहेका प्रेमीका सहित ६ जनालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरियो ।
युवकको हत्यामा संलग्न ईश्वरपुर नगरपालिका वडा नम्वर ६, चिरानटोलकी २५ वर्षीया प्रेमिका नजिमा खातुन, नजिमाका २९ वर्षीय श्रीमान मोस्तकिम अंसारी, ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, ४० वर्षीय सुयब अंसारी, २५ वर्षीय कोनुर आलम अंसारी र ५४ वर्षीय सलाउद्दिन अंसारीलाई पक्राउ गरेर सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा ७ दिनको म्याद लिएर आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको एसपी खड्काले भने ।
प्रहरी अनुसन्धानमा मृतक अरविन्द र अभियुक्त नजिमा खातुनबिच लामो समयदेखि प्रेम सम्वन्ध चलिरहेका थिए । अरविन्द अविवाहित थिए भने नजिमा तीन सन्तानकी आमा हुन् । दुबै जना गत चैत १९ गते घरबाट भागेर भारत सम्म पुुगेको तथा एक महिनाको बसाई पटि उनीहरु वैशाख २० गते नेपाल फर्किएको थियो ।
नेपाल फर्किएपछि गाउँमा बसेर पञ्चायती समेत भए । नजिमालाई श्रीमान मोस्तकिम अंसारीले नै राख्ने सहमती भयो । सहमती अनुसार नजिमालाई श्रीमानले घर लग्यो । तैपनि अरविन्द पटक–पटक नजिमा खातुनको घरमा पुग्ने क्रम जारी नै रहयो । पटक पटक प्रेमिकाको घरमा जाने क्रमबाट आजिज भएका श्रीमान सहितका नातेदारहरु अरविन्दलाई हत्या गर्ने योजना बुन्यो । नजिमालाई नै प्रयोग गरेर अन्ततः अरविन्दको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुले ।
अरविन्द बैशाख २४ गतेदेखि आफनो घरबाट ओझेल भएका थिए । बैशाख २८ गते बिहान ८ बजेको समयमा ईश्वरपुर नगरपालिका ६ मा रहेको फूलजोर बाबा मन्दिरमा भेट्न बोलाई योजना अनुसार फूलजोर खोला नजिकै लगेर हत्या गरिएको अभियुक्तहरु संगको अनुसन्धानबाट स्पष्ट भएको एसपी खड्काले पत्रकार सम्मेलनमा भने ।
युवक अरविन्दको हत्यापछि अभियुक्तहरु शवलाई घाँसपात र लहरीको घस्यौटाले छोपेर घर फर्किए । हत्या गरेको भोलीपल्ट बैशाख २९ गते राति ९ बजेतिर अभियुक्तहरुले पुनः अरविन्दको शवलाई ईश्वरपुर नगरपालिका वडा नम्वर ८, थकरिया चौरीमा रहेको उखु बारीमा लगेर फालेका थिए ।
बैशाख ३० गते बिहान ८ः३० बजे मृतक अरविन्दको शव फेला परेको थियो । सुरुमा शवको सनाखत नै हुन सकेको थिएन् । प्रहरीले बेवारिसे शव भन्दै पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्यायो । बैशाख ३१ गते मृतकको दाजु अशोककुमार पण्डितले अस्पतालमा पुगेर शवको सनाखत गरेको एसपी खड्काले जानकारी दिदै हत्याको आरोपित प्रेमिका सहित ६ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए ।