रौतहट, १८ जेठ । खोलाजन्य बस्तु झिक्नका लागि लिएको ठेक्काको मापदण्ड विपरित यतिखेर वागमती नदीको दोहन चरम उत्कर्षमा पुगेको भएपनि नियमनकारी निकाय मुकदर्शक बनेका छन् ।
रौतहटको गढीमाई नगरपालिका स्थित वागमती नदीबाट खोलाजन्य बस्तु झिक्न ठेक्का सकार गरेका फर्मले ठूलठूला मेशिनहरु लगाएर मापदण्ड विपरित दोहन गरिरहदा समेत स्थानीय सरकारको ध्यान नजाँदा अहिले हात्ती डुब्ने खाल्डोहरु बनाइएका हुन् ।
स्थानीय सरकारकै संरक्षणमा ठेक्का लिएका निर्माण कम्पनीहरुले दिनरात उत्खनन गरेर दोहन कार्य चरम उत्कर्षमा पुगेपनि स्थानीय प्रहरी प्रशासन सेटिंगमै मस्त रहेको आरोप स्थानीयले लगाए । जिल्ला अनुगमन समितिले समय समयमा अनुगमन निरीक्षण गर्नुपर्नेमा जिल्ला समन्वय समितिका प्रमुखले दोहनलाई नियन्त्रण गर्न ठोस रणनीति नबनाउदा यस्ता विजोग भएको स्थानीय समनपुरका बासिन्दाहरुले गम्भीर आरोप लगाए ।
प्राकृतिक श्रोत सम्पदाको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएपनि ठेक्केदार संग मिलेर दोहन कार्यमा सघाउ पुर्याउदै आएको छ । बाँध, बस्ती, पुल पुलेसा सहित वातावरणमा असर नपर्ने गरी उत्खनन गर्नुपर्नेमा हात्ती डुब्ने खालको खाल्डो बनाएर उत्खनन गरी क्रशर उद्योगमा धमाधम मालबस्तुहरुको भण्डारण कार्य जारी राखिएका छन् ।
यसरी हात्ती डुब्ने खाल्डाखुल्डीका कारण लागिसकेको बर्षाबाट सम्भावित बाढीबाट बनाइएका बाँधलाई क्षति पुर्याएर बस्तीनै जोखिममा पर्दै गएको छ । समनपुर पुल देखि उत्तरमा भईरहेको उत्खननबाट करोडौंको लागतमा निर्माण भएका पुल माथि समेत गम्भीर असर पर्ने भएको हुँदा त्यस तर्फ नियमनकारी निकायको ध्यानाकर्षण हुनु अत्यन्तै जरुरी देखिएको स्थानीयहरुको धारणा रहेको छ ।
यस्तै चन्द्रपुर नगरपालिकाको वागमती स्थित पश्चिमी तटमा निर्माण भईरहेको बोल्डर क्यारेटिंग सहितको तारजालीको बाँध बनाउन खोलालाई नै दोहन गरिरहेको देखिन्छ । त्यहाँ वडाध्यक्ष स्वयंम दोहन गराउनमा मस्त रहेपनि सम्बध निकाय अनुगमन गर्नु बाहेक अन्य कुनै कदम उठाउन सकेका छैनन् । खोला दोहन गरेर निकालिने बालुवा, ग्राभेल, गिटी सहितका मालबस्तुहरु ठुलाबडा नेताज्यूहरुले संचालन गरेका क्रशर उद्योगहरुमा निर्वाध रुपमा जाने गरेको हुँदा रौतहटमा खोला दोहन रोकिन निकै चुनौतीपूर्ण रहेको छ ।
यस बिषयमा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला अनुगमन समितिका संयोजक रामअयोध्या प्रसाद यादवले आफू पटक पटक अनुगमन गरेर दोहन नगर्न, मेशिन बढि प्रयोग नगर्न भन्दा समेत नटेरेको दुखेसो सुनाए । स्थानीय तहलाई सम्पूर्ण अधिकार दिएको छ तर ति निकायहरु चुल्लुम्म डुबेका कारण यहाँ खोला दोहन कार्य तिव्र रहेको स्वीकार गरे ।