सर्लाही, ७ असार । सडक विस्तारको विषयलाई लिएर सर्लाहीको बरहथवा नगरपालिकामा शनिवार विहान दुई पक्षीय झडप भएका छन् ।
बरहथवा नगरपालिका–४ खैराटोलमा सडक विस्तारको विषयलाई लिएर आज विहान ८.३० बजेको समयमा भएको दोहोरो झड्पमा परेर ८ जना स्थानीय बासिन्दाहरु र दुई जना प्रहरी गरी १० जना घाइते भएका हुन् ।
घाइतेहरु मध्ये दुई जनाको अवस्था गम्भीर रहदा थप उपचारको लागि काठमाडौं पठाइएको छ । अवस्थालाई नियन्त्रणमा लिन सर्लाही प्रहरीले सामान्य लाठी चार्ज गर्नुका साथ एक राउत ब्लैंक हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्राप्त भएको प्रेस नोटमा खैरा टोलमा भएको झडपको क्रममा ढुंगा, इटा लागेर प्रहरी निरीक्षक सहित २ जना प्रहरी कर्मचारी घाइते भए । तनावपूर्ण अवस्था बन्दै गएपछि इलाका प्रहरी कार्यालय बरहथवाबाट डिएसपी निरन्जन भटराईको कमाण्डमा खटिएका टोलीले कुटाई खाएर पनि अवस्थालाई नियन्त्रणमा लिन सफल भए ।
दोहोरो ढुङ्गा हानाहान हुँदा इप्रका बरहथवाबाट खटिएका प्रहरी निरीक्षक दिवाकर गणेशको दाहिने हातमा चोट लागेर घाइते भए । दोहोरो झड्प भएको स्थलको अवस्था सामान्य रहेको बताइएको छ ।
दोहोरो झड्पमा परेर घाइते भएका स्थानीयहरु
बरहथवा नपा–४ खैरवा टोलका ५० बर्षीय टिका बहादुर कार्की र ५२ बर्षीय कुल बहादुर कार्कीलाई बरहथवा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौ पठाइएको छ । यसैगरी बरहथवा १४ का ३५ बर्षीय संजय कुशवाहा, खैराका ४२ बर्षीय रमेश महतो कोइरी, निजको ३८ बर्षीया श्रीमती इन्दु देवी, निजको २६ बर्षीय प्रदिप कुमार कुशवाहा र २७ बर्षीय छोरा अनिल कुशवाहा गरेर चारै जनाको उपचार अचलगढ नगर अस्पतालमा भईरहेको छ । ३५ बर्षीय उमेश महतोको पनि उपचार सोही नगरअस्पतालमा भईरहेको मलंगवा प्रहरीले जानकारी दिए ।
यस्तै प्रहरी घाइते हुनेहरुमा
प्रहरी निरीक्षक दिवाकर गणेश, प्रहरी बरिष्ठ हवलदार प्रमेश्वर राय यादव घाइते हुँदा नगरअस्पताल बरहथवामा उपचार भईरहेको छ ।
सात जना संग सोधपुछ गर्दै सर्लाही प्रहरी
यसैगरी दोहोरो झड्पमा संलग्न रहेको आशंकामा बरहथवा–४ का लखेन्द्र महतो, शिशिर कार्की, शेरबहादुर कटुवालको श्रीमती रिता कटुवाल, बलरा नपा ८ का रन्जित महतो, सन्तोष कुशवाहा, अभिषेक महतो र अरविन्द कुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको सर्लाही प्रहरीले जनाएको छ ।