काठमाडौं, ८ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली सदनको छलफलमा उपस्थित नभएर संसदको अपमान गरेको बताए ।
राज्यका हरेक निकायमा बेथिति, अनियमितता र भ्रष्टाचार बढिरहेको टिप्पणी गर्दै उनले जहाँ सरकार छ त्यहाँ भ्रष्टाचार रहेको आरोप लगाए । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि विभिन्न मन्त्रालयगत छलफलमा भाग लिँदै प्रधानमन्त्री सदनमा उपस्थित नभएर संसदको अपमान गरेको जस्ता उनले टिप्पणी गरे ।
उनले भने, ‘भ्रष्टाचार र राज्य पर्यावाची नाम बनेको छ । प्रधानमन्त्री भन्नुहुन्छ भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न । तर, उहाँकै मातहतमा रहेको राजश्व अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका विभागहरुले अवैध सम्पत्ति आर्जन गर्ने व्यक्तिहरुलाई तर्साउने, धम्काउने र असुली गर्ने काममा लागेको हामी हेर्छौं ।
प्रधानमन्त्रीले भन्नुहुन्छ प्रधानमन्त्री कार्यालय एक्सिलेन्स सेन्टर हो, तर मुख्य सचिवकै नेतृत्वमा सचिवहरु आफ्नो स्वार्थ अनुसारको कानून बनाउनको लागि नेताहरुकोमा धाईरहेको हामी हेर्छौं । प्रधानमन्त्रीले भन्नुहुन्छ नेपाललाई समृद्ध बनाउँछु, तर नेपाल ग्रे–लिष्टमा पर्छ । नेपालको पुँजी विदेश लैजाने खेलमा लाग्नुहुन्छ । सरकार नै लागेको हामी हेर्छौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन ल्याउँछु भनेर बोलेपनि अहिले कांग्रेस र एमालेको दुई दलीय संयन्त्रको अभ्यास गरिएको भन्दै आलोचना गरे । उनले प्रधानमन्त्री ओलीले आफू जनता प्रति उत्तरदायी छु भनेर भनेको भएपनि आजको संसदमा प्रधानमन्त्रीको कार्यालय माथि छलफल हुँदा उपस्थिति नभएको भन्दै विरोध जनाए ।
प्रधानमन्त्रीले संसद्लाई कुन हैसियत र महत्व दिएको भन्ने कुरा आजको बैठकमा नआएको र त्योपनि नेपालमै र काठमाडौंमा नै हुँदा नआएकोमा साहले आक्रोश पोखे ।
उनले भने, ‘आज उहाँको नेतृत्वमा रहेको कार्यालयमाथि छलफल चलिरहेको छ, तर उहाँ काठमाडौंमा हुँदापनि बैठकमा आउनुभएन । उहाँले बजेटलाई कति महत्व दिनुभएको छ भन्ने कुरा यसले देखाउँछ । जनप्रतिनिधिहरुको सर्वोच्च संस्था यो संसद्लाई कसरी बुझ्नुभयो ? संसदलाई जवाफ नदिने जनउत्तरदायी ? उहाँले भन्नु हुन्छ म जनताको झोले हो, तर क्याप्चरको कुरा गर्नुहुन्छ ।
एकातिर भन्नुहुन्छ म लोकतन्त्रको लागि लडेको छु, तर जनादेश विपरित सरकार बनाउनुहुन्छ । एकातिर भन्नुहुन्छ म राष्ट्रवादी हुँ, तर विदेशीलाई नागरिकता दिने प्रावधान ल्याउनु हुन्छ । यो जो तमाशा भैरहेको छ, भन्ने एउटा अनि गर्ने अर्को । बोली एउटा अनि व्यवहार अर्को यो छद्यमभेषी माहोलले देशलाई कहाँ लैजान्छ भन्ने प्रश्न आउँछ ।’
उनले अहिले देशमा उद्योगहरु बन्द भइरहेको, व्यापार तथा व्यवसाय चौपट भएको पनि उल्लेख गरे । हिजो ५० हजारसम्म बिक्रि हुने पसलमा आज विक्रि वितरण घटिरहेको र सटरहरु बन्द हुन थालेको पनि साहले दृष्टान्त सुनाए ।
यी सबै हुनुमा कर आतंक मुख्य दोषी रहेको उनको दाबी छ । उनले भने,‘अहिले सरकार पिच्छे सरकारको करमाथि करको आतंक छ । जसको कारण उत्पादन महँगो भयो । हाम्रो अर्थतन्त्र ड्यामेज भयो । नेपालको पुँजी जगेर्णा गर्नुपर्दथ्यो । नेपालका उद्यमीहरुलाई बचाउनुपर्दथ्यो । नेपालको पुँजी पलायन गराउने बजेट ल्याएका छौं । यसो गरेपछि हाम्रो अर्थतन्त्र कहाँ पुग्छ भन्ने प्रश्न गर्न चाहन्छु । हामी ग्रे–लिष्टमा परेका छौं ।
अर्थमन्त्रीलाई भन्न चाहन्छु–तपाईंले टार्गेट गरेको राजश्व उठेको छैन । यही असारको पहिलो सातासम्मको रेकर्ड लिनुहुन्छ भने ७२ प्रतिशत राजश्व उठेको छ । पुँजीगत खर्च जम्मा ४२ प्रतिशत भएको छ । कुनैबेला ७.७ प्रतिशतसम्म कायम रहेको आर्थिक वृद्धिदर अहिले ४.६ प्रतिशतमा झरेको छ । तपाईंले टार्गेट गरेको ऋण अनुदान आधा पनि आएको छैन् ।
अनि यो अवस्थाबाट तपाईंले देशलाई कसरी आश्वस्त गर्नुहुन्छ भन्ने प्रश्न आउँछ ।’ भएका योजनाहरु पूरा नहुँदै काटिएकोमा पनि साहले आक्रोश पोखे । भएका योजना काटेर नभएका नभएका योजना खडा गरेर यो सरकारले समृद्धिको आधार कसरी खडा गर्छ भनेर साहले प्रश्न सोधे ।
उनले सरकारले अहिलेको अवस्थालाई इमानदारितापूर्वक स्विकार गर्न नसकेकोमा पनि आलोचना गरे । उनले भने,‘उहाँहरु (सरकार) ले गरेको कमिटी प्रति इमानदार हुनुहुन्न । उहाँहरुले अहिले जे योजना ल्याईरहनुभएको छ, त्यसले नेपालको भविष्य निर्धारण गर्न सक्दैन । त्यस अर्थमा पनि यसमा गम्भीर हुन आग्रह गर्दछु ।’
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन