प्रेमचन्द्र झा
नेपालकी पूर्व राष्ट्रपति तथा नेपालको पहिलो महिला राष्ट्रप्रमुख विद्या देवी भण्डारीले लामो समयपश्चात् सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि मुलुकभर तथा विशेषगरी नेकपा एमालेभित्र व्यापक तरंग उत्पन्न भएको छ । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित राष्ट्रिय सभागृहको कार्यक्रममा उनले पार्टी सदस्यता नविकरणको घोषणा गर्दै राजनीतिक सक्रियता पुनः सुरु गर्ने भनाइ राखेकी थिइन् । यस घोषणाले एकातिर एमाले कार्यकर्तामा उत्साह भरेको छ भने अर्कातर्फ राजनीतिक वृत्तमा विभिन्न अडकल र बहसलाई जन्म दिएको छ ।
विद्या भण्डारी नेपाली राजनीतिमा स्थापित महिला नेतृको रूपमा चिनिएकी छन्। उनको राजनीतिक यात्रा पति मदन भण्डारीको मृत्युपछि थप सक्रिय भएको थियो । उनीले २०५५ सालमा एमालेको महिला संगठन अखिल नेपाल महिला संघको अध्यक्षता सम्हालेकी थिइन् । २०६४ र २०७० सालमा संविधानसभा सदस्यसमेत बनेकी भण्डारी २०६५ सालमा रक्षा मन्त्रीसमेत बनिन् । पछि उनी नेपालको पहिलो महिला राष्ट्रपतिका रूपमा २०७२ सालमा निर्वाचित भइन् र २०७९ सम्म दुई कार्यकाल राष्ट्रपतिका रूपमा रहेकी थिइन्। राष्ट्रपतिको कार्यकाल सकिएपछि उनले राजनीतिक वक्तव्यबाजीबाट आफूलाई अलग राखेकी थिइन् ।
तर पछिल्लो समय उनले पुनः पार्टी सक्रियता देखाउँदै आन्तरिक र बाह्य राजनीतिक भेटघाटलाई तीव्र पारेकी छिन् । चीन भ्रमण, एमालेका विभिन्न कार्यक्रमहरूमा उपस्थिती, र विशेषगरी मदन भण्डारी जन्मजयन्तीमा गरिएको घोषणा उनका राजनीतिक पुनरागमनको स्पष्ट संकेत हुन् । उनले घोषणा गर्दै भनेकी थिइन्, “पार्टी परिवारको सदस्य भएर म गर्व गर्छु । म अब पार्टीको नियमित गतिविधिमा सहभागी हुनेछु ।” यस वक्तव्यसँगै उनले पार्टीको साधारण सदस्यता नविकरण गरेको सार्वजनिक गरिएको थियो ।
यो घोषणाले नेकपा एमालेको नेतृत्व तहमै तरंग ल्याएको देखिन्छ। हाल पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओली र विद्या भण्डारीबीच राजनीतिक निकटता पुरानो भए पनि, पछिल्लो समयको भण्डारीको सक्रियताले पार्टीभित्र नेतृत्वको भविष्यबारे नयाँ बहस जन्माएको छ । कतिपय विश्लेषकहरू भण्डारीलाई ओलीको सम्भावित उत्तराधिकारीको रूपमा हेर्न थालेका छन्, जबकि केही नेताहरू यसलाई संगठनमा विवाद र गुटबन्दी निम्त्याउने संकेतका रूपमा लिन्छन् ।
पार्टीभित्र अहिले दुई धार देखिन थालेको चर्चा भइरहेको छ । एकथरी विद्या भण्डारीको पुनरागमनलाई स्वागत गर्दै उनलाई भविष्यका लागि एमालेको नेतृत्वमा ल्याउनु पर्ने धारणा राख्छन् । अर्काथरी चाहिँ यसलाई ओलीको नेतृत्वमा चुनौतीका रूपमा देख्दै संगठनमा अस्थिरता निम्त्याउने चिन्तामा छन् । यद्यपि विद्या भण्डारीले आफू नेतृत्वको आकांक्षी नभएको भन्दै पार्टीलाई एक ढिक्का बनाउनेतर्फ अग्रसर हुने स्पष्ट संकेत दिएकी छन् ।
राजनीतिक दृष्टिकोणले हेर्दा, विद्या भण्डारीको पुनः सक्रियता मुलुकको कूटनीतिक सन्तुलनमा पनि प्रभाव पार्न सक्ने देखिन्छ। उनी राष्ट्रपतिको हैसियतमा रहँदा नेपाल–चीन सम्बन्धलाई प्राथमिकतामा राखेर अगाडि बढेकी थिइन् । चिनियाँ कम्युनिस्ट पार्टीसँगको घनिष्ट सम्बन्ध अझै कायमै छ। यसै सन्दर्भमा, केही समयअघि गरिएको चीन भ्रमणले पनि चिनियाँ नेतृत्वसँग उनको निरन्तर सम्बन्धलाई पुष्टि गर्छ । यस भ्रमणमा उनले उच्चस्तरीय चिनियाँ नेताहरूको स्वागत पाएकी थिइन् र त्यहाँका विभिन्न कार्यक्रमहरूमा सहभागी भएकी थिइन् ।
यसले भारतसहित अन्य छिमेकी मुलुकहरूमा पनि चासो बढाएको देखिन्छ । भारतले नेकपा एमाले नेतृत्वको परिवर्तन वा रणनीतिक झुकावलाई नजिकबाट नियालिरहेको अनुमान गर्न सकिन्छ । यदि विद्या भण्डारीले पार्टीभित्र निर्णायक शक्ति बन्ने अवस्था आयो भने नेपालले चीनतर्फ पुनः झुक्ने सम्भावनाले भारतको चासो थपिने निश्चित छ । त्यसैले उनको पुनरागमन केवल पार्टी राजनीति नभई भूराजनीतिक अर्थमा पनि महत्त्वपूर्ण मानिएको छ ।
संविधानले पूर्व राष्ट्रपतिलाई राजनीतिक गतिविधिमा भाग लिन नदिने स्पष्ट प्रतिबन्ध नलगाए पनि, नैतिक र संवैधानिक बहस भने उठेको छ । राष्ट्रप्रमुख भएर सेवा गरिसकेपछि पार्टी राजनीतिमा फर्कनु पदको गरिमासँग मेल खान्छ कि खान्न भन्ने विषयमा विभिन्न विचार व्यक्त भएका छन् । कतिपयले यो अधिकारको प्रयोग भएको बताउँछन् भने कतिपयले संविधानको आत्मालाई हेर्ने हो भने यस्तो कदम असजिलो हुन सक्ने तर्क गर्छन् । तर विद्या भण्डारीले आफूले कुनै संवैधानिक उल्लंघन नगरेको बताउँदै पुनः जनतामाझ फर्कनुलाई राष्ट्रको सेवा भन्नु भएको छ ।
नेकपा एमाले भित्र आगामी दिनहरूमा विद्या भण्डारीको भूमिकाले कस्तो मोड लिन्छ भन्ने कुरा पार्टीको महाधिवेशनसम्म प्रस्ट हुने देखिन्छ । एमालेले २०२७ सालसम्म चुनावी तयारी गर्नुपर्ने अवस्था छ । यस सन्दर्भमा भण्डारीले पार्टीमा नयाँ ऊर्जा ल्याउने विश्वास गरिए पनि नेतृत्वको प्रतिस्पर्धामा जाने हो भने त्यो पार्टीका लागि द्वैध मार्ग बन्ने खतरा पनि रहन्छ । साथै, एमालेले महिला नेतृत्वलाई बलियो बनाउने हो भने भण्डारीजस्तो अनुभवी र अन्तर्राष्ट्रिय अनुभव भएको नेतृको प्रयोग रणनीतिक हिसाबले प्रभावकारी हुने देखिन्छ ।
भण्डारीको पुनरागमनले महिला राजनीतिमा पनि नयाँ आशा जगाएको छ । लामो समयपछि महिला नेतृले यस्तो निर्णायक घोषणा गर्नु नेपाली राजनीतिक क्षेत्रमै महिला उपस्थिति कति सशक्त हुनसक्छ भन्ने सन्देश दिन सक्छ । नेपालको लोकतन्त्रमा महिला सहभागिता अझै सन्तोषजनक छैन भन्ने तथ्यका बीचमा भण्डारीको पुनरागमनले नयाँ पीढीका महिलालाई प्रेरणा दिने सम्भावना छ ।
अन्ततः, विद्या देवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले नेपाली राजनीतिमा बहुआयामिक प्रभाव पार्ने देखिन्छ । नेकपा एमालेभित्रको शक्ति सन्तुलन, आगामी चुनावी रणनिति, भूराजनीतिक झुकाव र महिला नेतृत्वको सम्भावना लगायतका विभिन्न पक्षमा यसले प्रभाव पार्नेछ । यद्यपि सबै कुरा उनीको भूमिका, व्यवहार र आगामी निर्णयहरूमाथि निर्भर रहनेछ । उनको घोषणालाई स्वागत गर्न सकिन्छ, तर त्यसको दीर्घकालीन परिणाम मूल्याङ्कन गर्न अझै समय लाग्नेछ ।