रौतहट, २४ असार । रसुवागढी भएर बग्ने भोटेकोशी नदीमा तिब्बतबाट एक्कासी आएको ठूलो बाढी बर्षाले नभई हिमताल फुटेर आएको हुन सक्ने आशंका मौसम पूर्वानुमान महाशाखाले गरेका छन् ।
किनभने यत्रो क्षति हुने गरी पछिल्लो २४ घण्टामा रसुवा र तिब्बतको आसपासको क्षेत्रमा अविरल बर्षा नभएको हुँदा कतै भोटेकोशीको श्रोतको रुपमा तिब्बती क्षेत्रमा हिमताल फुटेको त हौइन भन्ने आशंका गरिएका हुन् ।
मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढीबारे जारी गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा रसुवागढी नाकाबाट केही तल रसुवा टिमुरे स्थित रहेको जलविद्युत् आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्यांक अनुसार बिहान ३ः१० बजे उक्त स्थानमा जलसतह एक्कासि करिब ३.५ मिटर बढेको देखियो ।
यस्तै रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल स्याप्रुवेसी स्वचालित जलमापन केन्द्रमा बिहान ३ः३० बजे एक्कासि बहाव बढेको देखियो । उक्त केन्द्रमा बिहान ३ः३० बजे ३.६५ मिटर रहेको जलसतह एक्कासप ३ः४० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्यांक सम्प्रेषण बन्द भएको महाशाखाले जनाए । केन्द्रका गेजरिडरलाई उद्धृत गर्दै महाशाखाले उक्त केन्द्र नै बाढीले बगाएको समेत जानकारी दिए ।
महाशाखाले भोटेकोशी जलाधार क्षेत्रमा बाढी नै आउने गरी पानी नपरेको समेत जनाएको छ । गत २४ घण्टा (सोमबार बिहान ९ बजेदेखि २०८२–०३–२४ गते मंगलबार बिहान ९ बजे सम्म) मा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवा स्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको थियो ।
महाशाखाले विश्व मौसम संगठनको फ्ल्यास फ्लड गाइडेन्स सिस्टमको ’ग्लोबल हाइड्रोइस्टिमेटर स्याटेलाइट–बेस्ड प्रिसिपिटेसन इस्टिमेट्स’ अनुसार पनि भोटेकोशी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको नदेखिएको जनाएको छ । त्यसैले पनि भोटेकोशीमा आएको बाढी वर्षाका कारण उत्पन्न भएको नदेखिएको महाशाखाको अनुमान छ ।
’भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमताल अवस्थित रहेकोले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आंकलनका लागि आज बिहान ७ बजे सेन्टिनेल एसिया प्लाटफर्ममा तत्कालको भू–उपग्रह तस्बिर प्राप्त गर्न ’इमर्जेन्सी अब्जर्भेसन रिक्वेस्ट’ जारी गरिएको छ ।
महाशाखाले त्रिशूली नदीको रसुवागढीदेखि धादिङको बेनिघाट सम्मको नदीतटीय क्षेत्रमा अर्को सूचना जारी नहुँदा सम्म सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।