रौतहट, ३० असार । मावन तस्करीको आएको आरोप खेप्दै आएको ओली सरकार माथि अर्को घुस काण्डको गम्भीर आरोप लागेका छन् ।
पर्सा जिल्लाबाट नेकपा एमालेबाट निर्वाचित रहेका राजकुमार गुप्ता प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा संघिय तथा सामान्य प्रशासन मन्त्रीको पदभार सम्हालेको भएपनि उनी माथि ६ महिना अघि घुस प्रकरणको अडियो रेकर्ड बारिएका हुन् ।
गत पुस महिनाको यो प्रकरण भए पनि केही समय अघि मात्र अडियो बाहिरिएपछि अहिले चौतर्फी रुपमा ओली सरकारको आलोचना भईरहेको छ । घुस प्रकरणको यो विषयले संघीय संसदमा समेत विषय उठेको हो । प्रधानमन्त्री ओलीले मन्त्री गुप्ताको घुस प्रकरणमा ‘एक्सन’ लिने तयारी गरेको श्रोतबाट बुझिएको छ ।
मन्त्री गुप्ताले पनि पार्टीको निर्देशन आए छानबिनका लागि मार्गप्रशस्त गर्ने बताए । ‘पार्टीले छानबिन गरे म तयार छु,’ मन्त्री गुप्ताले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कुराकानीको अडियो, घुसबापत दिइएको नोटमा उल्लेख गरिएको नम्बर सहितको डायरी बुझाइएको छ । आयोगमा उजुरी परेपछि मात्रै अडियो सार्वजनिक भएको ति श्रोतले बतायो ।
घुस प्रकरणमा जोडिएका गुप्ताको अडियोबारे प्रधानमन्त्री ओलीको निजी सचिवालयले ‘गम्भीर रूपमा लिइएको’ भनेर ब्रिफिङ गरिसकेको छ । उक्त सचिवालय स्रोतका अनुसार मन्त्री गुप्तामाथि ‘एक्सन’ लिने तयारी भएको विभिन्न मिडिया रिपोर्टमा उल्लेख छ ।
तथापी प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजागाईंले प्रधानमन्त्री काठमाडौं फर्केपछि घुस प्रकरणबारे छानविन हुने बताए ।
कर्मचारीहरूको सरुवा तथा भूमिसुधार मन्त्रालय अन्तर्गतको मालपोत अधिकृतको सरुवा गराउने विषयमा घुस ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि गुप्ता घुस प्रकरणमा मुछिएका थिए । मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी गरिएको थियो । उजुरी दर्ता भएपछि मन्त्रीले गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भएको हो ।
यो विषयमा कुरा गर्दैै मन्त्री गुप्ताले आफूलाई कुनै पनि जानकारी नभएको दाबी गर्दै त्यसबाट आफ्नो चरित्र हत्या भएको बताए । मालपोत कार्यालय भूमिसुधार मन्त्रालयको भएको बताउँदै उनले यसबारे अख्तियारलाई निष्पक्ष छानबिन गरिदिन आग्रह गरेको बताए ।
‘घुसको डिल गर्ने को मान्छे हो म चिन्दिनँ । मालपोत मेरो मन्त्रालयमा पर्दैन । मैले आफ्नै जिल्लामा आफ्नै पार्टीको मान्छेलाई भूमि आयोगमा नियुक्त गर्न सकिनँ, यो अडियो मेरो होइन,’ उनले भने ।
मन्त्री गुप्ताको अडियोमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई पनि मुछिएको छ । तर मन्त्री अधिकारीले यो विषयलाई ठाडै अस्वीकार गर्दै आफूलाई कुनै पनि जानकारी नभएको बताए । पारिवारिक काममा भारतमा रहेका उनले यो विषय आफूलाई जानकारी नभएको बताए ।
अख्तियारमा भने असार १० गते नै उजुरी परेको थियो । सो उजुरीकै आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । करिब १० मिनेट लामो अडियो संवादमा मन्त्री गुप्ताले एक महिला सहित बिचौलिया सँग भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्ति गर्न आर्थिक लेनदेनबारे कुराकानी गरिरहेको सुनिन्छ ।
स्मरणीय छ, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्री माथि मावन तस्करी, घुस प्रकरण, आर्थिक अनियमिता, बलात्कारीलाई संरक्षण लगायतका गम्भीर आरोप लागेपनि ति मन्त्रीहरुलाई हटाउन जमर्को गर्न सकिएको छैनन् । बलात्कारीलाई कारवाही गरिएको छैन्, सबैको संरक्षण गर्नमा मात्रै सरकार तल्लिन रहेको कारण यो सरकार प्रति जनतामा वितृष्णा बढ्दै गएका छन् ।