रौतहट, ३१ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारको विभेदपूर्ण नीतिका कारण मुलुकको महत्वपूर्ण राजमागहरुको लथालिङ्ग अवस्थामा पुगेको गम्भीर आरोप लगाए ।
मंगलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै आजपा अध्यक्ष साहले सरकार माथि गम्भीर आरोप लगाउदै मुलुकका प्रायः राजमार्गहरुको अवस्था लथालिङ्ग एवं निर्माण कार्य सुस्त गतिमा रहदा यात्रुहरुलाई सास्ती खेप्नु परेकोमा सरकारको ध्यानाकर्षण गराए ।
एकातिर देशको मुहार फेर्ने राजमार्गहरु सुस्त र गतिहिन हुने, अनि अर्कोतर्फ नेताजीहरुको क्षेत्र र उहाँहरुको स्वार्थमा रफ्तारमा सडक निर्माण हुने, यो दुःखद् कुरा हो । म जान्न चाहन्छु कि पूर्व पश्चिम महेन्द्र राजमार्गको काम किन स्लो भयो ? हुलाकी राजमार्गको निर्माणकार्य किन गतिहीन छ । बुटवल–नारायणघाट सडक किन रोकिएको छ ?’ आजपा अध्यक्ष साहले सरकार संग प्रश्न गरे ।
उनले मुग्लिन–पोखरा र मुग्लिन–नौबिसे सडकको पनि उस्तै अवस्था रहेको चित्रण गर्दै काठमाडौं–तराई÷मधेश द्रूतमार्गको काम किन ढिलो गरिएको भनेर ओली सरकार माथि प्रश्न उठाए ।
‘यसको प्रगति के छ ? सरकारी कामको प्रगति देखिन्छ, जुनबेला फास्ट ट्रयाक सुरु भयो, त्यतिवेला नै मध्यपहाडी लोकमार्ग सुरु भयो, यो सडकमा झण्डै १४ सय किलोमिटर सडक पिच भएको सुन्छौं, झण्डै ८५ प्रतिशत प्रगति छ । तर, फाष्ट ट्रयाक एक इन्चपनि पिच हुन सकेन, जो ७० किलोमिटर छ । हामी जान्न चाहन्छौं कि त्यसको प्रगति किन बढ्न सकेन ? किन त्यसमा जहिल्यै पनि विवाद मात्रै सुन्नु परेको छ । नेपाली सेनालाई जिम्मा दिएको नै ६ वर्ष भैसकेको छ,’ साहले भने ।
उनले नेपाली सेनाको हुर्मत लिने काम भएको भन्दै आपत्ति जनाए । ‘यो फास्ट ट्रयाक निर्माणको काम सेनालाई दिएको नै झण्डै ६ वर्ष भइसक्यो, नेपालको सबभन्दा गौरवशाली संस्था र देशको मेरुदण्ड हो नेपाली सेना । आज सेनाको हुर्मत लिने काम भैरहेको छ । सेनामाथिको विश्वास घटाउने काम भैरहेको छ , नेपाली जनतामा सेनाप्रति एउटा ठूलो आस्था छ, ठूलो भरोसा छ । तर, यहाँ दुनियाँले नगरेको काम आर्मीलाई दिईएको छ, अनि आर्मीले लिएको कामपनि समयमा हुन सकिरहेको छैन् । यो किन भएन भनेर जान्न चाहन्छौं ?’ साहले सरकार माथि गम्भीर प्रश्न चिन्ह खडा गरे ।
साहले भने सडक बनाउने नाममा सरकारले नै लुट्ने काम गरिरहेको आरोप लगाए ।