सर्लाही, ४ साउन । प्रहरी चौकी प्रमुख र महिला तस्कर बीच भएको संवादको अडियो रेकर्ड बाहिरिएपछि जिल्लामा तानिएका असई लाई जोगाउने चलखेल सुरु भएका छन् ।
साउन ४ गते सम्म लाइनको समय रहेपनि १ गते नै इलाका प्रहरी कार्यालय केशरगञ्जले चार बोरा चिनी, चार बोरा हरियो केराउ र दुई बोरा खेसारीको दाल नियन्त्रणमा लिएपछि त्रिभुवननगरका महिला तस्कर वविता र ब्रम्हपुरी प्रहरी चौकीका प्रमुख असई मनोज यादव बीच भएको अडियो संवाद बाहिरिएर निकै चर्चा परिचर्चा हुँदा निजलाई शनिवार जिल्लामा तानेर निलम्बनको लागि पत्र तयार भएपनि जोगाउने चलखेल सुरु भएका हुन् ।
उक्त सामानको सवालमा स्थानीय व्यापारीसँग भएको संवादको आधारमा उनी कमिसन असुलीमा लागेका फोन कल अडियोले सार्वजनिक गरेपछि असई यादव जिल्ला प्रहरी कार्यालय सर्लाहीले तानिएका प्रहरी स्रोतबाट बुझियो ।
स्रोतका अनुसार असई यादव र स्थानीय महिला व्यापारी बीच भन्सार छलीको सामानको सवालमा एक प्रहरी निरीक्षकलाई फोनमा गालि गरेको अडियो सार्वजनिक भएपछि उनलाई जिल्ला तानिएको र हिजो शनिबार भएकाले आईतबार निलम्वन गर्ने तयारी गरिएको प्रहरी स्रोतको दाबी थिए तर आज अदृष्य शक्तिको आडमा असाई यादवलाई निलम्बन गर्ने प्रक्रियालाई रोकेर स्पष्टीकरण सोध्ने तयारी भएको ति श्रोतले बतायो ।
असई मनोज यादवको विगतका गतिविधिहरु कस्ता थिए ?
सर्लाही जिल्लाको प्रहरी चौकी संग्रामपुरका प्रमुख हुँदा असई मनोज यादवलाई नेपाल–भारत सीमा वारपार फूलको कारोबार गर्ने व्यापारीसँग घुस मागेको विषयमा निलम्वनमा परेका थिए । जहाँ गयो त्यही असुलीमा संग्लग्न रहने असई यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन एसपी प्रवीण धितालले निलम्वन गरेका थिए ।
असई यादवले रकम मागेको मौखिक उजुरपछि उनलाई निलम्बन गरेर घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले छानबिन गरेको थियो । सो समयमा छानबिनका लागी प्रहरी नायव उपरिक्षकको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो ।
सो समयमा असई यादवले दुई जना तस्करलाई सामान र मोटरसाइकल सहित नियन्त्रणमा लिएर ५० हजार लिएर छाडेका थिए । प्रहरी संगठनमा अत्यन्तै बदनाम एवं विवादाष्पद रहेका तथा पटक पटक कारवाहीमा परेर पनि तस्करी हुने मूख्य नाका र चौकीको जिम्मेवारी लिन सफल असई यादवले सो समयमा सर्लाहीमा दुई जना तस्करलाई अपहरण शैलीमा बन्धक बनाइ ५० हजार घुस लिएर गाडी र तस्करलाई छोडेको घटना सर्लाही प्रहरीमा सो समयमा चर्चाको विषय थियो ।
जिल्ला प्रहरी कार्यालय बारामा पनि असई यादव सीमा नाकाहरुबाट भन्सारछली तस्करीको सेटिङका लागि परिचालन भएका थिए । दुई पटक निलम्बनमा परेका र हाल पनि सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका असई यादवलाई जिल्ला प्रहरी कार्यालय बाराका तत्कालीन प्रहरी उपरिक्षकले घुमुवा कमाण्डरको रुपमा सादा पोशाकमा अमलेखगंजदेखि सिम्रौनगढसम्म मात्र नभई पर्सासम्मको तस्करीको नेटवर्क सँग समन्वय गर्ने र असुली गर्ने जिम्मा दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका घुमुवा असई यादवले सिम्रौनगढ नाकामा एक ब्यापारीसँग २५ हजार घुस मागेपछि ठूलो विवाद भई हात हालाहाल नै भएको भिडियो समेत सार्वजनिक भएको थियो । उक्त भिडियो आईजीपी सचिवालय र हेल्लो सरकारमा पुगेपछि प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा (उजुरी छानबिन) मा समेत पुगेको थियो ।
उजुरी छानबिनबाट जिल्ला प्रहरी कार्यालय बारामा असई यादवलाई तुरुन्त प्रहरी प्रधान कार्यालयमा हाजिर हुन पत्र पठाइएको थियो । तर जिल्ल प्रहरी कार्यालय बाराका तत्कालीन प्रहरी प्रमुखले तत्कालीन आईजीपी बसन्तबहादुर कुँवरलाई फोन गरेर उनलाई प्रधान कार्यालयमा हाजिर गराउनबाट रोकेका थिए । अवकाश हुन लागेका आईजीपी कुँवरले उजुरी छानबिनका तत्कालीन प्रमुख एसएसपी कृष्ण कोइरालालाई २–४ दिन नबोलाउन भनेपछि असई यादवको उजुरीमा छानबिन नै भएको थिएन् ।
असई मनोज यादव जागिरमा प्रवेश गरेदेखि नै प्रहरी आचरण विपरीतका विवादित काम गर्दै आएका बदनाम व्यक्ति हुन् । महानगरीय प्रहरी बृत्त बालाजुमा हवल्दार पदमा रहँदा भारतीय गोर्खा सैनिकमा भर्ति हुन चाहनेहरुलाई कागजपत्र बनाउने काम गर्ने गंगा देवानलाई बन्धक बनाई २०७४ असोज ८ गते पाँच लाख असुलेका थिए । २०७४ असोज १० गते पाँच लाख घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेपछि निलम्बनमा परेका थिए ।
त्यस्तै २०७४ साल चैतमा बाराको मधुवन प्रहरी चौकीको इन्चार्जको रुपमा कार्यरत रहँदा होस् या २०७९ सालमा पथलैया प्रहरी चौकीको इन्चार्जको रुपमा कार्यरत रहँदा यादवले प्रहरी संगठनका उच्चपदस्थ अधिकारीहरुको नाममा समेत सीमा क्षेत्रमा ब्यापारीहरुसँग अवैध असुली गर्ने बदनामी कमाउँदै आएका थिए ।
त्यतिमात्र नभई तत्कालीन डीआइजी उमेश रंजितकारको घुमुवा बनेर पनि उनले असुली धन्धा चलाएका थिए । तत्कालीन प्रदेश न. २ का डीआइजी उमेश रंजितकारले उनलाई घुमुवा राखेर तस्करीको नेटवर्क चलाएका कारण विवादमा परेका थिए । रंजितकारलाई नै तानिने चर्चा चले पनि घुमुवा यादवलाई भने प्रहरी प्रधान कार्यालयले तानेको थियो ।
असई यादव सर्लाहीको सबैभन्दा बढी तस्करी हुने ईलाका प्रहरी कार्यालय त्रिभुवननगरको प्रमुख पनि भएका थिए । अख्तियार सम्म पहुँच छ भन्दै असई यादवले सई इन्चार्ज हुने आकर्षक चौकीको इन्चार्ज हुने र तस्करसँग कनेक्सन गरी लाभ लिने गरेका आरोपहरु लाग्ने गरेका थिए । तत्कालीन मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोरखेललाई भनेर ५० हजार घुस प्रकरणमा निलम्बन फुकुवा गराएका थिए ।
प्रहरी स्रोतका अनुसार सो समयमा असई यादवले कारवाहीबाट जोगिन विभिन्न राजनीतिक दलको शक्ति लगाएर सर्लाही प्रहरी नेतृत्वलाई दबाव दिन लगाउने प्रयास समेत गरेका थिए ।
प्रहरीमा रहेर पनि पेशागत आचरण कम र आपराधिक मनोवृत्ति बढी राख्ने तथा हाकिमहरुलाई प्रभावमा पार्न माहिर खेलाडी असई यादवलाई यस पटक के कस्तो कारवाही हुन्छ भने त्यो आउदो समयले देखाउने छ ।