प्रेमचन्द्र झा
रौतहट, ७ साउन । रौतहटको चन्द्रपुर नगरपालिकाको जुडिवेला हाइस्कुल नजिकका बासिन्दाहरु जंगली हात्तीको आतंकबाट त्रसित भएर रातभरी जाग्रम बस्न बाध्य भएका छन् ।
चन्द्रपुर नगरपालिका–२ जुडिबेला गाउँमा मंगलवार राति जंगली हात्तीको आतंकले स्थानीय बासिन्दाहरु जीवन रक्षार्थ रातभरी सुरक्षित स्थानमा बसेर जाग्रम बसेका हुन् ।
जंगली हात्तीले स्थानीय निरास कुमर र मेघनाथ कछडियाको घरमा आक्रमण गरेर ठूलो क्षति पुयाएको बताइएको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका ईन्सपेक्टर रुपेश झाले घटनाको पुष्टि गर्दै सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताए । तर, प्रहरीको भनाइ सुन्दा मात्र पुग्दैन, स्थानीयको जीउधनको सुरक्षामा अझ गम्भीर चासो आवश्यक देखिएको छ ।
जंगलबाट आउने हात्तीहरूले स्थानीय बासिन्दाहरुको रातको सुत्ने कार्यमा बाधा पुर्याएपछि स्थानीयहरु हैरान परेशान रहेका छन् । जुडिबेला माविका प्रधानाध्यापक जुगल किशोर सिँहका अनुसार, पछिल्ला दिनहरूमा जंगली हात्तीले घर भत्काउने, फलफूल नष्ट गर्ने, बाली कुल्चने, नाली भत्काउने जस्ता गतिविधिहरू बारम्बार गर्दै आएका हुन् । तर, सरोकारवाला निकाय भने ‘मौन रहदा’ स्थानीय बासिन्दाहरुको धन सम्पत्तीको मानविय क्षतिको निकै खतरा बढेर गएको छ ।
स्थानीयवासीको धैर्यको बाँध अब भत्किन लागेको छ । पटक–पटक यस्ता घटनाबाट हैरान परेशान रहेका स्थानीय बासिन्दाहरु अब कडा आन्दोलनमा उत्रने चेतावनी दिए । “दिनदिनै ज्यानको जोखिममा बाँच्नुपर्ने ? सरकारको जिम्मेवारी अलिकति पनि छैन, जिम्मेवारी कहाँ गयो ?” एक स्थानीय बासिन्दाले यसरी आक्रोश पोखे ।
यदि समयमै सरकारी निकाय गम्भीर नभए, चन्द्रपुरमा आन्दोलनको झिल्का जुनसुकै बेला सल्किन सक्छ । स्थानीयहरूको माग छ – वन्यजन्तुको नियन्त्रण, पीडितको राहत, र दीर्घकालीन सुरक्षा रणनीति बनाई जनतालाई राहत दिनु पर्ने स्थानिय समाजसेवी प्यारो कार्कीले सरोकारबाला निकासंग माग गरे ।
सरकार गम्भीर नभएसम्म, जंगली हात्तीको आतंक मात्रै होइन, चन्द्रपुरमा जनआन्दोलनको हुंकार पनि सुनिने सम्भावना प्रबल देखिन्छ उनले भने ।