रौतहट, ७ साउन । नापी कार्यालय डिल्लीबजार टोखाका फरार रहेका टोली प्रमुख सञ्जय साह आफना मानिसहरु मार्फत मिलापत्र गराउने कार्यमा लागि परेको बुझिएका छन् ।
कार्यालयबाट फरार रहेका नापी अधिकृत साह भुमिगत अवस्थामै मुद्दा मिलाउने कार्यमा लागिपरेका श्रोतबाट बुझिएका हुन् ।
मोबाइल लगायत सामाजिक सञ्जालमा देखिने साहलाई प्रहरीले गत जेठ १३ गते पक्राउ पुर्जी जारी गरेपनि लामो समयदेखि पक्राउ नहुँदा नपर्नु र भित्री रुपमा मुद्दा मिलाउने कार्यमा सक्रिय रहदा प्रहरी माथि नै गम्भीर प्रश्न चिन्ह् खडा भएको छ ।
साह नापी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत रहँदा किता काट देखि लिएर अन्य कार्यमा बिचौलियाको सम्पर्कबाट अकुत सम्पति जोड्न सफल भएको हो । अधिकृत साहले गरुडा नगरपालिका–६ पोठियाहीका सन्तोषकुमार चौधरी सँग १ करोड १० लाख रुपैयाँ ठगी गरेर फरार रहेको आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ पुर्जी जारी गरेपछि उनी सम्पर्क विहीन हुँदै आएका थिए ।
नापी अधिकृत साहका ठगी धन्दालाई उनका भाइ जीतनारायण साह मार्फत मिलापत्र गराउने कार्यमा लागिपरेको जनाइएको छ ।
गत असार १५ गते सम्म बिदा लिएर १६ गतेदेखि फरार रहेका नापी अधिकृत साहको क्रियाशिलताले उनलाई बिभाग र मन्त्रालयले समेत सम्पर्क विहीन बन्न छुट दिएको छ ।
नापी कार्यालय डिल्लीबजारका प्रमुख डिल्लीराज भण्डारीले निजामती सेबा नियमाबलीमा लगातार ९० दिन सम्म अनुपस्थित भए मात्रै बिभागीय कारबाही हुने प्रावधान रहेको बताए । उनले सम्पर्क विहीन रहेका अधिकृत साहको बुधबार पीडितपक्ष संग मिलापत्र हुने जानकारी आफूले पाएको बताए ।
प्रहरी मार्फत नापी अधिकृत साह मिलापत्रको लागि जिल्ला सरकारी वकिलको कार्यालयमा हाजिर हुने स्रोतको भनाई छ । जिल्ला सरकारी वकिलको कार्यालय गौरका न्यायधिबक्ता मोहम्मद मुन्नाका अनुसार पीडितले रकम पाएर मिलापत्र गर्न चाहेमा मिलापत्र हुने बताए । उनका लागि मिलापत्रको लागि प्रहरी मार्फत पीडकलाई सरकारी वकिलको कार्यालयमा हाजिर गराउनु पर्ने प्रावधान रहेको बताए ।
इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार फरार साहले पीडितलाई रकम बुझाएकाले मिलापत्र हुने बताए । काठमाडौंको नागार्जुन–४ का विमलादेवी श्रेष्ठको सर्लाही हरिपुर नगरपालिका–७ मा रहेको कित्ता नम्बर ७७३ को ११ कठ्ठा १४ धुर जमिन नापी अधिकृत साह र पीडित चौधरीले २ करोडको संयुक्त लगानीमा खरिद गरेपनि उक्त जमिन नापी अधिकृत साहको नाममा रजिस्ट्रेसन (पास) गरेकोमा पीडित चौधरीलाई थाहै नदिई ०८०÷०८१ मा नापी अधिकृत साहले चार कित्ता बनाई चार जनालाई बिक्री गरेर ठगी गरेको आरोप लागेको छ ।
साझेदारीमा खरिद गरिएको जग्गा नापी अधिकृत साहले एकलौटी विक्री गरेर १ करोड १० लाख ठगी गरेको उजुरी सन्तोषकुमार चौधरीले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गराएपछि उनी सहितका मानिसहरु विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।