रौतहट, ९ साउन । सवारी अनुमति पत्र (लाइसेन्स) वितरण प्रणालीमा विचौलियाद्वारा माग गरिएका आर्थिक चलखेलको आधारमा निर्भर रहदा काम गराउन आउने सेवाग्राहीहरु लुटिन बाध्य भएका छन् ।
रौतहट सदरमुकाम गौरको वीपी चोक देखि पश्चिम तर्फ रहेका यातायात व्यावस्था कार्यालयमा विचौलियाहरुको चलखेलका कारण आर्थिक लुटखसोटबाट सुविधा लिने सेवाग्राहीहरु लुटिन बाध्य भएका हुन् ।
अनमति पत्र (लाइसेन्स) वितरण जस्तो संवेदनशील प्रक्रिया करारमा रहेका कर्मचारीहरु कार्यालय सहयोगी तथा सरसफाइकर्मीहरु बिचौलियाको रुपमा सेवाग्राहीलाई सेवा सुविधा प्रदान गर्दै आएको खुलासा भएको छ ।
स्थानीयबासी एवं सेवाग्राहीहरूले कार्यालय प्रमुख जितेन्द्रकुमार गुप्ता बिचौलिया मार्फत “सेटिङ” को आधारमा अवैध कारोबार सञ्चालन गरेको गम्भिर आरोप लागेको हो ।
कार्यालयका सरसफाइकर्मी रोशन सिंह कार्यालय प्रमुख गुप्ताको प्रमुख हर्ताकर्ताको रुपमा रहेको श्रोतले बताए । उनी सेवाग्राहीसँग रकम असुल गरेर लिखित परीक्षा तथा ट्रायल बिना नै लाइसेन्स पास गराउने कार्यमा संलग्न रहेको श्रोतले बताए । स्रोतका अनुसार, दुई पाङ्ग्रे सवारीको लाइसेन्सका लागि १० हजार र चार पाङ्ग्रे सवारीको लागि १५ देखि लिएर २५ हजार रुपैयाँसम्मको बार्गेनिङ हुने गरेको छ ।
कार्यालयका अन्य कर्मचारीहरूले समेत चोरीका भारतीय सवारीसाधनलाई अवैध रूपमा नेपालीकरण गराउने कार्यमा सिंहको संलग्नता रहेको आरोप छ । यी सबै गतिविधिमा कार्यालय प्रमुख गुप्ताको मौन सहमति रहने गरेको छ । कार्यालय प्रमुख गुप्ता केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन नक्साल गएको पनि श्रोतले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गौरसँग स्मार्ट लाइसेन्स जाँच गर्ने उपकरण नहुँदा, पटक–पटक जरिवाना तिरेका चालकहरू सजिलै पास हुने गरेका छन् । अर्का सरसफाइकर्मी मञ्जु देवी र कार्यालय सहयोगी वीरेन्द्र यादवका छोरा रोहन यादव पनि गैरकानुनी रूपमा लाइसेन्स वितरण प्रक्रियामा संलग्न रहेको गम्भीर आरोप लागेको छ ।
यस विषयमा यातायात व्यवस्था कार्यालय गौरका प्रमुख जितेन्द्रकुमार गुप्ताले यहाँ कुनैपनि विचौंलियाको माध्यमबाट काम नभईरहेको बताए । सफाईकर्मी एवं कार्यालय सहयोगी रोशन सिंह यहाँको प्रमुख विचौलियाको रुपमा रहेको भन्ने प्रश्नको जवाफमा कार्यालय प्रमुख गुप्ता केही बोल्न सकेनन् । सिंह यस कार्यालयको कर्मचारी हो । आवश्यक्ता अनुसार काममा लगाउने गरेको स्वीकादै प्रमुख गुप्ताले केही भए मलाई भन्नुस सहयोग गर्छु, आउदै गर्नु होला प्रमुख गुप्ताले भने ।
स्मरणीय रहोस, यातायात व्यवस्था कार्यालय गौरबाट विचौलियालाई नियमन गरी सर्वसुलभ ढंगबाट सेवाग्राहीको काम सम्पन्न गराउने एक मात्रै उद्देश्य रहेको हुँदा आर्थिक चलखेलको आधारमा सवारी अनुमती पत्र (लाईसेन्स) को वितरण कार्य प्रति तत्काल सम्बध निकायको ध्यानाकर्षण भई उक्त कार्यलाई बन्द गर्नु आजको आवश्यक्ता रहेको देखिन्छ ।