धनगढी, २५ साउन । कैलालीको धनगढी स्थित कारागारमा क्षमता भन्दा बढि कैदीबन्दीहरुलाई भेडा बाख्रा जस्तो कोचेर राखेपछि भएको भित्री विद्रोहका कारण भएको झड्पमा परेर एएकको मृत्यु र ४९ जना घाईते भएप्छि अझै कैलाली कारागार कैदीबन्दीको कब्जामा रहेका छन् ।
कैलाली कारागारमा भएको हिंसक झड्प भएको ३६ घण्टा वितिसक्दा पनि स्थानीय प्रहरी प्रशासनको नियन्त्रणमा नभई कारागार कैदीबन्दीकै कब्जामा कैलाली कारागार रहेका हुन् ।
हिंसक घटनापछि कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण उनीहरु नियन्त्रणमा लिएको छ । उनीहरूले सुरक्षाकर्मी र कारागार प्रशासनका कसैलाई पनि त्यहाँ प्रवेश गर्न दिएका छैनन् ।
मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयको टोलीसँग कैदीबन्दीहरूले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा बाहेकका माथिल्लो तहका प्रतिनिधिलाई मात्र भेट दिने बताए ।
उनीहरूले गृह मन्त्रालय र कारागार व्यवस्था विभागका प्रतिनिधिसँग मात्र वार्ता गरेर आफ्ना माग राख्ने बताएको मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले जनाए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले अहिलेसम्म सुरक्षाकर्मी प्रवेश गर्न नपाएको बताए । दिउँसो मानव अधिकार आयोगको टोलीसँगै कारागारको निरीक्षणमा जाने तयारी रहेको उनले बताए ।
साउन १४ गते कारागारमा रहेका ५९० जना कैदीबन्दीले मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र पठाउदै कारागारभित्र आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षा माग गरेका थिए । साथै सोही पत्रका आधारमा आयोगले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग लगायतका निकायलाई पत्राचार गर्दै उचित सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको थियो ।
तर उक्त कुरालाई गम्भीर रूपमा नलिँदा शुक्रबार हिंसात्मक घटना हुन पुगेको मानव अधिकार आयोगको ठहर छ । उसले कारागारको सुरक्षा व्यवस्था फितलो रहेको जनाए ।
शुक्रबार ब्लक ए मा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ब्लक बी मा रहेका कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । आक्रमणमा गरी धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४९ जना घाइते छन् । घाइतेहरू मध्ये गोदावरीका आयुश भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने दुई जनाको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार जारी छ ।
१५० जना मात्रै क्षमता भएको कैलाली कारागारमा करीब सात सय जनालाई भेडा बाख्रा जस्तो काचिएर राखिएको छ ।
घटना पश्चात सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको छानबिन समिति को गठन भएको उनले बताए ।