रौतहट, ३० साउन । रौतहटको राजपुर नगरपालिका स्थित पानी ट्याँकी चौकको पशुचौपाया बजारमा सीमापारि भारतबाट अनाधिकृत रूपमा भित्रर्याइएका भैंसी, पाडा–पाडी तथा अन्य चौपायाको कारोबार निर्बाध रूपमा चलिरहेका छन् ।
स्थानीय स्रोतका अनुसार, कुख्यात भैंसी तस्कर ‘कान्छा’ (ओशी अख्तर) ले इलाका प्रहरी कार्यालय राजपुर, सशस्त्र प्रहरी बेस क्याम्प फतुवा, सीमा क्षेत्रका युनिटदेखि जिल्ला र प्रदेशस्तरका सुरक्षा निकायसम्म मासिक रूपमा ‘लक्ष्मीकान्त’ पुर्याएर अवैध कारोबारलाई निरन्तरता दिदै आएका हुन् ।
यस बजारमा विशेषगरी दुध दिने तथा नदिने भैंसी, पाडा–पाडी र खसी–बाख्रा बिक्री हुने गर्छ । हाटबजार मङ्गलबार र शनिबार लाग्छ, जसमा व्यापारीहरूले सीमापारिबाट चोर बाटो हुँदै ल्याइएका पशुचौपायाको बिक्री वितरण हुने गरेका छन् । ती चौपायालाई पशु क्वारेन्टाइनमा ‘सेटिङ’ गरेर कागजात तयार पारिन्छ र त्यसपछि पोखरा, नारायणगढ, काठमाडौं लगायतका सहरमा पठाइन्छ ।
स्थानीय प्रहरीको उपस्थितिमा नै पिकअप, ट्रक र मिनि ट्रकमा चौपाया लोड भइरहेका हुन्छन् । तर, अवैध रुपमा ल्याइएका चौपायाहरु लोड गरेर गन्तव्यतर्फ पठाउने क्रम भने निरन्तर जारी रहन्छ ।
कान्छाको प्रभाव र पहुँचका कारण उनको धन्दा कहिल्यै रोकिएको छैनन् । अन्य धेरै अवैध कारोबार थामिए पनि उनको भैंसी तस्करी ‘दिन दुगुना, रात चौगुना’ चलिरहेको छ । स्थानीयहरुले राज्यलाई धोका दिँदै ‘लक्ष्मीकान्त’ लिने सुरक्षाकर्मी र तस्करीमा संलग्न व्यक्तिहरूलाई नजिकबाट नियालीरहेको चेतावनी दिए ।
स्मरणीय रहोस, आज शुक्रवार हो, आज साँझ देखि नै विभिन्न नाकाहरु भएर सीमापारीबाट भैसी सहितका चौपायाहरु ल्याउने क्रम सुरु हुने छ । त्यती मात्रै नभई सर्लाहीका नाकाहरुबाट पनि पशुचौपाया भित्रयाएर राजपुर बजारमा ल्याई विक्रीवितरण निर्वाध रुपमा हुने गरेको छ । उक्त पशुचौपायाहरु अन्य स्थानमा लैजान आज राति देखि नै सवारी साधनहरु राजपुरको पानी टंकी चोकको बजारमा पुग्ने कुरा स्थानीय श्रोतले बतायो ।
शनिवार र मंगलवार लाग्ने पशुचौपायाको हाट बजारको पूर्व सन्ध्यामा सीमापारी भारतबाट पशुचौपायाहरु आउने गरेको ति श्रोतले बतायो ।