रौतहट, ११ भदौं । चर्चित सुटकेश काण्डका मुख्य अभियुक्त लक्ष्मण पासवानले जिउमा पेट्रोल खन्याएर आगो लगाई आत्महत्या गरिरहेको वेला गम्भीर घाइते अवस्थामा प्रहरीले बल्ल समात्न सके ।
रुवीकुमार साह सुडीको हत्या र त्यसपछि सुटकेशमा राखी डाफेबाट गौर–सिर्सिया–गंगापिपरा सडक खण्ड अन्तर्गत पर्ने मुडवलवा मोड भन्दा अलि उत्तर तर्फ गत भदौं ७ गते करिव १० बजे राति सुटकेश छाडेर अभियुक्त पासवान फरार भएका थिए ।
केही समयमै स्थानीयहरु उक्त सुटकेश वारे प्रहरीलाई खवर गर्दा रातिको समयमा सुटकेश सुरक्षा जोखिमको लागि नखोली भोली पल्ट विहानै खोल्दा २६ बर्षिया रुवीको शव उक्त सुटकेशमा फेला परेपछि जिल्लामा मात्रै नभई सिंगो मुलुकको ध्यान उक्त सुटकेश माथि केन्द्रीय भएको थियो ।
यसरी सुटकेशमा शव राखिनु कतै बलिउड फिल्म वा सोनी टिभीबाट देखाइने क्राइम पट्रोल तथा सिआईडी टेलि सिरियलमा देखाइने घटना जस्तै हुँदा जिल्लाबासी उक्त घटनाबाट निकै त्रसित बन्न पुगे ।
माधवनारायण नगरपालिका–६ निवासी रुवी कुमारी साहको १२ बर्ष अघि भारत मुजफफरपुरमा विहे भएका थिए । उनको विहे भारतमा भएपछि स्कुले लाइफमा भएका प्रेमलाई छोड्न सकेनन् । कहिले काही गौर आउथ्यो । गौर नपा–२ महादेवपर्टीमा उनको माइती पक्षको आमा कोठा लिएर बसेका थिए त्यही आएर उनी बस्ने गरेकी थिइन् ।
कक्षा १० मा अध्ययनरत रहेकै वेला दुबै जनामा प्रेम बसेका कारण भागेर सीतामढीमा विहे गरेका थिए । लोकलज्जाका कारण केटीको अभिभावकले रुवीलाई अन्यत्र विहे गरेपनि दुबैको मन एकआपसमै बसेको हुँदा विहे भएको १२ बर्ष पछि प्रेमले यस्तो मोड लिए ।
लक्ष्मणले घाँटी थिचेर रुवीको हत्या पश्चात सुटकेशमा शवलाई प्याक गरी ५०० मा डाफे अटोरिक्सा भाडामा लिएर जाँदै गर्दा मुडबलवा मोडमा अटो विग्रीदा त्यही छाडेर उनी फरार भएका थिए ।
प्रहरीले फरार व्यक्तिको खोजी कार्य गरिरहदा समेत उनलाई पक्राउ गर्न सकेका थिएनन् । आज विहान अभियुक्त पासवानले समाजिक संजालमा आफनो ८ मिनेट लामो स्टेटमेन्ट दिएर शरिरमा पेट्रोल खन्याएर आगो लगाए । आगो लागेर घाइते अवस्थामा प्रहरीले निजलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी राजु कार्कीले रुबीको हत्या गर्ने लक्ष्मण पासवानलाई नियन्त्रणमा लिएको पुष्टि गरे । माधव नारायण नगरपालिकाको विसुनपुर्वा मानपुर जाने बाटोमा शरिरमा आगो लगाईएको अवस्थामा फेला परेकोले पासवानले आत्महत्याको प्रयास गरेको बताए ।
घाइते पासवानलाई गरुडा स्थित बेटर अस्पतालमा उपचार भएपनि यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि किर्तीपुर काठमाडौं पठाइएको जानकारी डिएसपी कार्कीले दिए । करिव ५० प्रतिशत जलेको हुँदा तत्कालै थप उपचारको लागि पठाइएको उनले स्पष्ट पारे ।
रुवीको हत्या गर्ने युवक लक्ष्मणले सामाजिक संजालमा राखेको भिडियोलाई अनुसन्धान गर्ने हो भने यसमा अन्य व्यक्तिहरु पनि कारवाहीको डायरामा आउन सक्छ तर त्यसको लागि प्रहरीले गहिरो अनुसन्धान गर्नुपर्छ, अहिलेको अनुसन्धानबाट केही हुदैनन ।