रौतहट, १९ भदौं । झुठा कागजात सहितका विवरणहरु पेश गरेर नेपाली नागरिकता लिन सफल भएका भारतीय नागरिक विरुद्ध प्रमाण सहित निवेदन दिदा समेत कारवाही गर्न जिल्ला प्रशासन कार्यालय बारा उदाशिन रहेको गम्भीर आरोप निवेदकले लगाएका छन् ।
भारत विहार राज्यको सीतामढी जिल्ला बैरगनिया अन्तर्गत पर्ने असोगी पुरुषोत्तम ९६ ठेगाना भएका प्रदीप साहको छोरा दिलिप कुमारले बारा जिल्लाको साविक कचोर्वा गाविस ६ हाल सिम्रौनगढ नगरपालिका–९ स्थायी ठेगाना देखाई झुठा कागजात सहितका विवरणहरु तयार पारेर जिल्ला प्रशासन कार्यालय बाराबाट २०७४ भदौं १ गते ३३–०६–७४–००७९५ नम्वरको दिलिपकुमार स्वर्णकारको नामबाट नागरिकता लिन सफल भएका थिए ।
भारतीय नागरिक दिलिपकुमार स्वर्णकारलाई पक्राउ गरेर उनले लिएको उक्त नम्वरको नागरिकता रद्द गरेर आवश्यक कारवाही गर्न बारा कलैया उपमहानगरपालिका–१ का २९ बर्षीय प्रितम सर्राफले सप्रमाण सहित २०८२ साल जेठ २७ गते जिल्ला प्रशासन कार्यालय बारामा लिखित रुपमा निवेदन दिएपनि हाल सम्म कारवाही प्रक्रियामा भईरहेको ढिलासुस्तीका कारण विभिन्न शंका उपशंकाहरु उब्जिदै गएको आरोप उनले लगाए ।
बारा जिल्लाबाट नागरिकता लिएका दिलिपकुमार स्वर्णकारण विगत १० अघि देखि नै रौतहटको दुर्गा भगवती गाउँपालिका–१ स्थित पिपरा बजारमा जयकुंज आभुषणालय नामक सुनचाँदीको पसल संचालन गरेर निर्वाध रुपमा कारोवार संचालन गर्दै आएका छन् । सुनचाँदी पसलको आडमा गरिने विभिन्न किसिमका प्रतिबन्धित कार्यहरु समेत संचालन गर्दै आउदा निज विरुद्ध आवश्यक कारवाही गर्नका लागि दिएको निवेदन माथि कारवाही चलाउन बारा प्रशासन उदाशिन रहेको उनले गुनासो गरे ।
सर्राफले दिएको निवेदनमा भारतीय निर्वाचन आयोगबाट मतदाता पहचान पत्र लिएको भारतीय नागरिक दिलिपकुमारले झुठा कागजातहरु पेश गरेर नेपाली नागरिकता बनाउन सफल भएकोमा निजलाई पक्राउ गरेर लिएको नागरिक रद्द गरी कारवाही गर्न माग गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबीरमण भट्टराईले यस कार्यालयमा निवेदन परेको स्वीकार्दै त्यसको अनुसन्धान भईरहेको छ, एक दुई दिनमै अनुसन्धान हुने विषय होइन । प्रहरी संग बुझ्ने कार्य भईहेको छ । दुतावास संग बुझ्ने कार्य जारी रहेको छ त्यहाँबाट रिपोर्ट आउन निकै समय लग्ने गरेको जवाफ दिए । यदी प्रक्रिया कहाँ सम्म पुगेको बुझ्नु छ भने यस कार्यालयको मुद्दा फाँटबाट बुझ्नु उनले बताए ।