फाइल तस्वीर
रौतहट, १९ भदौं । उखु किसानहरु अनुदानको रकम नपाएपछि भदौं २५ गते देखि निर्णायक आन्दोलनको तयारीमा जुटेका छन् ।
सरकारले पटक पटक किसानहरुलाई अनुदानको रकम दिन आनाकानी गरेर झुक्याउदै आईरहदा बाध्य भएर भदौं २५ गते देखि पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनाएर निर्णायक आन्दोलनको तयारीमा लागि परेका हुन् ।
उखु उत्पादक संघका अध्यक्ष अशोक यादवका अनुसार देशभरीमा रहेका १३ वटा चिनी उद्योगबाट गत बर्ष दुई लाख १५ उखु क्रशिंग भएका थिए । उक्त उखु क्रशिंग गर्दा किसानहरु ७० रुपैयाका दरले पाउनुपर्ने अनुदानको रकम १ अर्ब ५५ करोड रकम पाउनु पर्नेमा सरकार किसान प्रति उदाशिन बने ।
देशभरीका उखुकिसानहरु उक्त रकमको माग गर्दै भदौं ७ देखि १४ गते सम्म राजधानीको माइतीघर मण्डेलामा धर्ना प्रदर्शन गरे । उक्त अवधीमा किसानहरु प्रति सत्तापक्ष देखि लिएर प्रतिपक्ष सम्मका नेता एवं पूर्व प्रधानमन्त्रीहरु समेत उपस्थित भई एक्युबद्धता जनाउदै किसानहरुको मागलाई जायज ठहर गरेको उनले बताए ।
कृषि मन्त्री रामनाथ अधिकारीले उखु किसान संग पटक पटक वार्ता गरेर ३५ रुपैयाको दरले ७५ करोड रकम निकासा गरेको संघका अध्यक्ष यादवले जानकारी दिए । तर किसानहरु ७० रुपैयाको अडानमा कायमै रहेको उनले बताए । कृषि मन्त्री अधिकारीले किसानहरु संग १० दिन भित्र समस्या समाधान गर्न भनिएपनि उक्त माग पुरा गर्न कुनै पहल नहुँदा सर्लाहीको हरिवनमा भदौं २५ गते देखि निर्णायक आन्दोलनको तयारीमा हामी उखु किसानहरु तयारीमा जुटेको तराई टप संग कुरा गर्दै उनले भने।
आउदो दुई महिना पश्चात उखु क्रशिंग गर्ने सिजन सुरु हुन लाग्दा समेत अहिले सम्म उखुको मूल्य निर्धारण नहुनु, अनुदानको रकम नपाउनु समस्याबाट ग्रसित किसानहरु अव आरपारको आन्दोलन गरेर अनुदानको रकम लिने चेतावनी दिदै पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनाउने समेत उनले भने ।
उखुको मूल्य निर्धारण गर्न उद्योगपति, किसान प्रतिनिधि, उद्योग, कृषि, अर्थ र वाणिज्य मन्त्रालयको संयुक्त रोहवरमा चिनीको बजार मूल्य र किसानको उखु उत्पादन लागतको आधारमा मूल्य निर्धारण हुनुपर्ने उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले माग गरे ।
उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष श्यामबाबु यादवले काठमाडौंको माइतीघर मण्डेलामा भएको आन्दोलन सफल हुन सकेनन । सरकार कानमा तेल हाले, उखु किसानको समस्या बुझेन, बर्षाको कारण आन्दोलनमा बसेका अगुवा किसानहरु विरामी पर्न थाले, कृषि मन्त्री रामनाथ अधिकारीले १० दिनको समय माग गरेपछि राजधानी केन्द्रीत आन्दोलन फिर्ता लियौं । तर सरकार किसान प्रति सरकार कुनै जवाफदेहिता देखाएनन ।
अब हामी पूर्व पश्चिम राजमार्गलाई अवरुद्ध बनाएर निर्णायक आन्दोलनको तयारीमा जुटेको उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष यादवले चेतावनी दिए ।