रौतहट, २६ भदौं । जेन जी आन्दोलनको मौका छोपेर गौर कारागार ब्रेक गरी फरार भएका कैदीबन्दीहरु मध्ये १३ जनालाई नेपाल–भारत सीमा तैनाथ एसएसबीले नियन्त्रणमा लिएर सीतामढी जेल चलान गरिएको छ ।
गत मंगलवार राति साढे १० बजे देखि लिएर ११ बजेको समयमा गौर कारागार ब्रेक गरेर फरार भएका कैंदीबन्दीहरु मध्ये १३ जना भारत तर्फ भागिरहेको अवस्थामा सीमामा तैनाथ एसएसबीको २० बटालियनले नियन्त्रणमा लिएका थिए ।
नियन्त्रणमा लिएका गौर नगरपालिका–४ का २७ बर्षीय जितेन्द्र गिरी, १७ बर्षीय राजेश पटेल, वडा नम्वर ५ का २८ बर्षीय विवेक मिश्र, गरुडा नगरपालिका–५ का ३० बर्षीय गणेश साह, २३ बर्षीय रणधिर यादव, देवाही गोनाही नगरपालिका–५ का ४३ बर्षीय मोहन साह, गढीमाई नगरपालिकाको समनपुरका २४ बर्षीय सन्तोष राम, इशनाथ नगरपालिका–२ औरैयाका २५ बर्षीय राजन साह सोनार, दुर्गा भगवती गाउँपालिका–४ छतौनाका २४ बर्षीय अजय यादव रहेका हुन् ।
यसैगरी कारागार ब्रेक गरी भाग्नमा भारतीय कैदीहरु पनि रहेका छन् । पूर्वी चम्पारण घोडासहान बसबरियाका २२ बर्षीय मोनु जयसवाल, घोडासान महुआई–७ का ३२ बर्षीय राकेश कुमार , चिरैया थाना क्षेत्र दिपही–२ का १९ बर्षीय मुनिफ कुमार यादव और सीतामढी जिल्ला मेजरगंज थाना मरपाका २८ बर्षीय सुधिरकुमार महतो रहेको जनाइएको छ ।
एसएसबीको २० बटालियनलाई गौर जेल ब्रेक भएको सुचना पाउना साथ सीमा क्षेत्रमा कडाईका साथ निगरान राखिएकै समयमा उनीहरुलाई पक्राउ गर्न सफल भएको बताइएको छ । पक्राउ परेका मध्ये १२ जनालाई भारतीय प्रहरीलाई जिम्मा लगाउदै न्यायिक हिरासतमा सीतामढी चलान गरिएको सीतामढीका अधिकारीले जनाए ।
नेपालको अवस्था सामान्य भएपछि १२ जनालाई नेपाली सुरक्षा अधिकारीलाई सुपुर्द गर्ने र एक जनालाई भारतीय कष्टडीमा राखेर कारवाही अघि बढाउने बुझिएको छ ।
गत मंगलवार राति गौर जेलबाट २९१ जना कैदीबन्दीहरु मध्ये ५२ जना कैदीहरुलाई संयुक्त सुरक्षा फौजले नियन्त्रणमा लिईसकेको छ भने २७ जना कारागारमै बसेको गरी अहिले सम्म ७९ जना कैदीबन्दीहरु गौर कारागारमा रहेको बुझिएको छ । नेपाली सेना सहितका सुरक्षा फौजले फरार रहेका २१२ जना कैदी बन्दीको खोजी कार्य निरन्तर रुपमा जारी रहेको सुरक्षा श्रोतबाट बुझिएका छन् ।
भारतीय एसएसबीले १३ जना कैदीलाई नियन्त्रणमा लिएको सम्बन्धमा सुरक्षा निकायलाई आधिकारिक जानकारी प्राप्त नभएको बताइएको छ ।