फाइल तस्वीरः तराई टप
रौतहट, २० असोज । तीन दिन अघि भएको निरन्तर बर्षाको कारण लाल बकैया नदीमा आएको बाढीको कारण दक्षिण पश्चिम सीमावर्ती क्षेत्रमा रहेका बन्जरहा गाउँको अवस्था निकै कन्त विजोग रहेका छन् ।
बर्षा र बाढीको पानीबाट घेरिएका इशनाथ नगरपालिका–१ बन्जरहा गाउँका बासिन्दाहरु आफूलाई सुरक्षित राख्न विभिन्न जोहो गरिरहदा खहेरु राय यादवको ६० बर्षीया श्रीमती राजकुमारी देवी भर्यांगबाट लडेर बाढीको पानीमा डुबेर आईतवार राति ८ बजेको समयमा मृत्यु भएको स्थानीय बासिन्दा गृषनन्दन सिंहले जानकारी दिएका हुन् ।
यादव सहित घरका सवै सदस्यहरु सुरक्षित रहन छतमाथि चढे पछि श्रीमती राजकुमारी पनि माथि जान खोज्दा भर्यागबाट लडेर बाढीको पानी खसेको कसैलाई थाहै भएन । १० देखि १५ मिनेट वितेपछि उनको खोजी कार्य गर्दा राति ८ बजेको समयमा उनलाई खाल्डोबाट झिक्दा निकै ढिलो भईसकेको थियो । राजकुमारी सधैंको लागि यो संसारबाट विदा भइन् स्थानीय सिंहले पारिवारिक श्रोतलाई उद्धृत गर्दै बताए ।
बाढी र बर्षाको पानीको कुनै ठोस निकास नहुँदा बर्षेणी बन्जरहा गाउँ डुबानमा पर्दै आएको स्थानीयहरुको पिडा छ । सीमा क्षेत्रमा अवस्थित उक्त गाउँकै दक्षिण तर्फ भारतले बनाएको ठूलो बाँधको कारण बन्जरहा डुबानमा परी ठूलो जनधनको क्षति बेहोर्दै आएको बताइएको छ । उक्त स्थानमा रहेका प्रहरी आफै छतमाथि बसेर आफू र हातहतियारको सुरक्षा गरे तर मानविय सहायता पुर्याउन निकै चुनौती रहेका बन्जरहाको अवस्था निकै कन्तविजोग रहेका छन् ।
उक्त गाउँका दर्जनौं घरमा बाढी पसेर खाद्यान्नहरु नष्ट पारिसकेको हुँदा आज देखि खाद्यान्न संकट उत्पन्न भएको बताइएको छ । सदरमुकाम गौर देखि सम्पर्क विच्छेद रहेका बन्जरहा गाउँमा मानविय तथा खाद्यान्न सहायता पुग्नु नितान्त आवश्यक रहेका समाजसेवी एवं तरुण दलका केन्द्रीय सदस्य सिंहले आवश्यता महसुस गरे ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी राजु कार्कीले बर्षा र बाढीबाट अधिकाँश स्थानको सडक संजाल बन्द भएको हुँदा पर्याप्त रिपोर्टहरु प्राप्त हुन नसकेको बताए । बन्जरहा गाउँमा महिला डुबेको खवर आएको छ, रातिको समयमा अत्याधिक पानी रहेको हुँदा अहिले त्यस तर्फ प्रहरी मुभ भईसकेको जानकारी दिए ।