तराई टप डेष्क
मुसलधारे बर्षा पश्चात झाँझको बाढीको पानी रौतहट सदरमुकाम गौरमा प्रवेश गरी मंगलवार दुई दिन देखि जलमग्न रहेपनि दोष छिमेकी माथि थुपार्नमा मस्तौ छौं ।
दक्षिण सीमा क्षेत्र संगै टाँसिएर बनाइएको बाँध आजको त होइन ? त्यो बाँध तत्कालिन प्रधानमन्त्री इन्दीरा गाँधीको समय सन् १९७५ मा निर्माण भएका थिए । बाँध निर्माण हुनु अघि गौर डुवानमा पर्दैनथ्यो, बाढीबाट सीमापारी बैरगनियाका जनताहरु बेहाल हुन्थ्यो, जनताको पीडालाई हेरेर तत्कालिन भारतीय सरकारद्वारा बाँधको निर्माण गरिएका थिए ।
निर्माण भईरहेका वेला नेपाल सरकारले कुटनीतिक पहल गरेर रोक्न सकिन्थ्यो होला ? तर किन रोकिएन त्यस तर्फ पनि विचार गर्नुपर्यो, न की दोष थुपारेर आफनो दायित्वबाट पंछिने वा भाग्ने होइन् ।
२०५० सालमा आएको बाढी होस वा २०५८ साल तथा क्रमिक रुपमा बर्षै पिच्छे जिल्लामा आउने बाढीबाट अन्त्यमा सदरमुकाम गौर नै प्रभावित हुने गर्दै आएको सर्वविदितै छ । गौरबाट बाढीको पानी निकासका लागि किन ठोस वा बैकल्पिक उपाय सम्बन्धि पहल गरिएन ।
जहिले बाढी आउदा मात्रै अरुलाई गाली गर्ने बाहेक यहाँका जिम्मेवार निर्वाचित जनप्रतिनिधिहरु र विपक्षमा रहेका राजनीति कर्मीहरु केही गर्ने किन आँट गरेनन । विकासे बजेट आएमा लुछाचुडी गर्नेहरु बाढीबाट गौरका नागरिकलाई जोगाउन किन दिर्घकालिन उपायहरु अबलम्बन गरिन होला ? अहिले गम्भीर प्रश्न चिन्ह् उब्जीएका छन् ।
गौरबाट बाढीको पानी निकासका लागि निर्वाचित जनप्रतिनिधिहरु संगै प्रतिपक्ष, विभिन्न राजनीतिक दल, नागरिक समाज, वुद्धिजीवी सहित स्थानीय प्रहरी प्रशासनको संलग्नतामा वृहत बैठक बसेर ठोस निष्कर्षमा पुग्नु नितान्त आवश्यक छ, नत्र बाढीको समयमा मात्रै चर्चा परिचर्चा हुने अन्य समयमा कानमा तेल हालेर मस्त बस्ने जस्तो कुनै मतलब नराख्नेहरुका कारण नै आज गौर यो अवस्थामा आएको छ ।
दुई दिन देखि गौरबाट सुस्त गतिमा पानी निस्कनु, त्यसमा पनि जमिनले जति सोस्नुपर्ने हो त्यतीकै पानीको लेवल घटिरहेको हुँदा अझै केही दिन सम्म गौरमा पानीको अवस्था त्यस्तै रहेने देखिन्छ ।
गौरबाट बाढीको पानी सिघ्र निकासका लागि बकैया महादेवपटी नजिक कम्तीमा दुई वटा ठूला सुलिस गेट बनाउनु पर्छ, बरहवा तालको दुई तर्फी अग्लो बाँध बनाउनु पर्छ, गौर भन्सार क्षेत्रको छेउमा पनि अग्लो बाँध बनाएमा मात्रै गौरबासीलाई बाढीको जोखिमबाट जोगाउन सकिन्छ । यस तर्फ समुचित रुपमा राज्य र राज्यसत्ताधारीहरु बुझ्नु नितान्त आवश्यक रहेको छ ।
आर्को तर्फ सदरमुकाम संग जोडिने सडकहरुको लेवल अहिलेको भन्दा ५ फिट अग्लो बनाउनुपर्ने, हरेक एक सय मिटरमा पानी निकासको लागि कल्भर्ट निर्माण भएमा मात्रै यातायात देखि लिएर सर्वसाधारण जनताहरु बाढीको जोखिमबाट जोगिन सक्छ ।
यसको लागि जनहितलाई सर्वोपरी ठानेर सरकारद्वारा दिर्घकालिन योजनाहरु ल्याएर कार्यहरु धमाधम गर्नुपर्छ अन्यथा छिमेकीलाई गाली गरेरै समय खेर फालिने छ ।