रौतहट, २८ असोज । जेन–जी पुस्ताको आन्दोलनको बलमा सुशिला कार्की नेतृत्वको नागरिक सरकार माथि भ्रष्टाचारीहरुलाई कारवाहीको दायरामा ल्याएर कानुनी कारवाही गर्न राष्ट्रिय एकता अभियानले दबाव बनाउदै प्रदर्शनमा उत्रिएका छन् ।
प्रधानमन्त्री कार्की नेतृत्वमा गठित नागरिक सरकारले कार्यभार सम्हालेको एक महिना पूरा भएको सन्दर्भमा राष्ट्रिय एकता अभियानले मंगलवार संघिय राजधानी काठमाडौंको माइतीघर मण्डलमा शक्तिशाली दबाब सभा आयोजना गरेर प्रदर्शन गरेका हुन् ।
भ्रष्टाचारीहरु विरुद्ध छानबिनमा देखिएको ढिलासुस्ती र निष्क्रियताप्रति कडा आपत्ति जनाउँदै अभियानले सरकारलाई तत्काल कदम चाल्न दबाब दिए । सभाको मूल नारा “भ्रष्टाचार विरुद्ध नागरिकको दबाब, पारदर्शिता र न्याय हाम्रो अधिकार” रहेको थियो, जसले नागरिक समाजको असन्तुष्टि र न्यायप्रतिको तिब्र चाहनालाई उजागर गरेको छ ।
सभामा उपस्थित जनसमुदायले विशेषगरी ठूला र चर्चित भ्रष्टाचारका काण्डहरूमाथि केन्द्रित भएर चर्का नाराबाजी गरेका थिए । उनीहरूले “पोखरा एयरपोर्टका भ्रष्टाचारीलाई कारवाही गर, विकासको हत्यारालाई उन्मुक्ति नदे”, “गिरिबंधु र भूटानी शरणार्थी फाइल ओपन गर, सत्य छिपाउने खेल बन्द गर” र “टेरामैक्स घोटालाबाजलाई कारवाही गर, जनता ठगेकालाई छोड्न पाइँदैन” जस्ता नाराहरू लगाए ।
यस्तै, “काँटोंमेंट घोटालाको हिसाब देऊ, जनताको पैसामा विलासी जीवन बन्द गर” र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारवाही गर भन्दै उच्च पदस्थ व्यक्तिहरूमाथि पनि कारबाहीको माग गरिएको थियो । “जनताको कर, नेताको खर – अब यो खेल बन्द गर” भन्ने नाराले भ्रष्टाचारले आम जनतामा पारेको नकारात्मक प्रभावलाई झल्काएको थियो ।
कार्यक्रम युवा नेता सुरेन्द्र स्वारको नेतृत्वमा सम्पन्न भएको थियो, जहाँ राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, अभियंता शम्भू देव, अधिवक्ता चन्द्र यदुवंशी, र अभियंता रामबाबु यादव लगायतका वक्ताहरूले सम्बोधन गरे । उनीहरूले नागरिक सरकारले जेनजी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे । वक्ताहरूले पोखरा विमानस्थल, भूटानी शरणार्थी काण्ड, टेरामैक्स उपकरण खरिद र काँटोंमेंट घोटाला जस्ता मुद्दाहरूलाई सरकारले प्राथमिकतामा राखेर निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए । उनीहरूले “उत्तरदायित्व माग्ने समय सुरु भइसक्यो, भ्रष्टाचार सहने युग सकियो” भन्दै सरकारलाई ढिलासुस्ती नगर्न चेतावनी दिए ।
शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको दबाबमुलक सभाको अन्त्यमा राष्ट्रिय एकता अभियानले आगामी दिनहरूमा पनि भ्रष्टाचार विरोधी अभियानलाई देशव्यापी रूपमा अझ सशक्त बनाउँदै अघि बढाउने घोषणा गरे । उक्त प्रदर्शनले नागरिक सरकारमाथि न्याय र पारदर्शिताका लागि निरन्तर दबाब सिर्जना गरेको छ र भ्रष्टाचारका ठूला काण्डहरूलाई शीघ्र किनारा लगाउन थप बल पु¥याएको छ । अभियानको यो कदमले नागरिक समाजको निगरानी अझ बढेको सन्देश दिए ।