रौतहट, ३१ असोज । आइसिसी टी–२० विश्वकप एसिया–प्यासिफिक छनोट प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा सामोआलाई पराजित गरी च्याम्पियन बन्न आज नेपाल ओमानको क्रिकेट मैदानमा पुरै दम देखाउने छन् ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा शुक्रवार अपरान्ह् ४.१५ बजे रोहित पौडेलको नेतृत्वमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीले सामोआ माथि जित निकाल्दै च्याम्पियन बन्ने अवसर पाएका हुन् ।
अपराजित रहेको नेपालले सुपर सिक्सको अन्तिम खेलमा सामोआको सामना गर्नेछ । नेपालले सुपर सिक्समा ८ अङ्क जोडेर शीर्ष स्थानमा कब्जा जमाएको छ भने आयोजक ओमान ६ अङ्कसहित दोस्रो स्थानमा छ । नेपाल र ओमानले यसअघि नै आगामी वर्ष भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।
गए राति बिहीबार जापानमाथि सहज जित हात पार्दै युएईले पनि विश्वकपको यात्रा तयर गरेको छ । यससँगै विश्वकपमा सहभागी हुने २० टोलीको टुङ्गो लागेको छ ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सामोआविरुद्धको खेलमा जित हासिल गर्दै उपाधिसहित स्वदेश फर्कने दृढता व्यक्त गरेका छन् । “हामी च्याम्पियन बनेर नेपाल फर्कनेछौँ,” बुधवार ओमानलाई ३८ रनले पराजित गरेपछि उनले भने, “टोलीका सबै खेलाडी अहिले उत्कृष्ट लयमा छन् ।”
रनरेटमा ओमानलाई पछि पार्दै प्रतियोगितामा युएईले ६ अङ्कसहित दोस्रो स्थान कायम गरेको छ । यद्यपि, ओमानले एक खेल कम खेलेको छ । कतार, जापान र सामोआले समान २ अङ्क जोडे पनि विश्वकप छनोट दौडबाट बाहिरिइसकेका छन् । समूह चरणबाटै मलेसिया, पपुवा न्युगिनी र कुवेत बाहिरिएका थिए ।
विश्वकप छनोटसँगै नेपाली टोलीका १४ खेलाडीले राष्ट्रिय खेलकुद विकास ऐनअनुसार जनही १९ लाख ५० हजार प्राप्त गर्नेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले साहब आलमलाई अतिरिक्त खेलाडीको रूपमा टोलीमा समावेश गरेको छ । यस्तै, मुख्य प्रशिक्षकले ६ लाख, सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियो वा चिकित्सकले ३ लाख २५ हजार र खेल सङ्घले ५ लाख पाउनेछन् । ऐनअनुसार ओलम्पिकमा स्वर्ण पदक वा विश्वकप फुटबल जितेमा खेलाडीले १ करोड ३० लाखसम्म पुरस्कार पाउने व्यवस्था छ ।